आमाको मुख हेर्ने दिन र स्मृतिमा आमा

आमाको मुख हेर्ने दिन र स्मृतिमा आमा

  • बैशाख १७, २०७९ शनिवार
  • ०७:१४:३५ बजे
  • 5.6K
    SHARES
  • आमाको मुख हेर्ने दिन र स्मृतिमा आमा

    आमाको साडीको फूर्को समाउदैँ यताउता गर्ने सानो उमेरमा आमाको ममताबाट सधैका लागि टाढा हुनु कसैलाई नपरोस । ती दिनमा आमाको साथ नपाएको व्यक्ति आज पर्यन्त आमाकैै स्मरणमा तड्पी रहेको छ । स्मरणमा घोतलिरहेको छ । आमाको अल्पायूमा भएको निधनले तड्पिरहेको छ ।  जन्म, कर्म र मृत्युको कुनै निश्चित सीमा र भुगोल हुदैन ।  यस संसारमा मानिसहरु जन्मनु र मर्नु वास्तविक नियम हो । यो संघर्षको नियम जीवन यात्रामा निरन्त्तर चलिरहन्छ ।  संघर्ष मानव जीवनको गर्भदेखि सुरु भई चितासम्म निरत्तर चलिरहन्छ ।  उनीहरु एक र दुई पुस्ता पछि सदाका लागि बिर्सिएर गएका छन यद्यपि यहाँ यस्ता थोरै मानिसहरु छन जो मरेर पनि अमर छन् । उनीहरु महान तथा अमर हुनुमा उनीहरूले समाज र राष्ट्रमा पु¥याएको उत्कृष्ट योगदान नै हो । जीवनरुपि यात्राका अनेकौ उकाली–ओराली, दुख–सुख, सहज–असहज परिस्थितिबाट गुज्रिरहन्छ । संसारमा अहिलेसम्म असख्य मानिस जन्मे, संघर्षको यात्रामा लागि रहे र पुनः पञ्चतत्वमा विलीन भए । उनीहरु मध्ये कतिपयले आफ्नो नाम इतिहासको पानामा स्वर्ण अक्षरले सुसुचित गर्न सफल रहे भने कतिपय त इतिहासले सधै धिक्कार्ने हुन पुगे ।

    हाम्रो समाजमा जीवित रहुन्जेल बेवास्ता गर्ने र मृत्युपछि अनेकौं थरी नाम, विशेषण जोडेर प्रशंसा गर्ने प्रवृत्ति विद्यमान छ । यद्यपि कैयौ व्यतिmहरु एक थोपा रगत बाँकी रहुन्जेल समाज र जनताको सेवामा समर्पित हुँने र दिलो ज्यान दिनका लागि तयार भई रहन्छन् । यसरी धर्तीमा पाइला राखेपछि निरन्त्तर संघर्ष गरिरहने सबैकी दुखकी साथी निःस्वार्थ काम गर्न तीव्र सङ्कल्प बोकेर काठमाडौमा डिल्लीबजारमा जन्मेर,शहरमा हुर्के पनि पर्वत लिमिठानामा विवाह गरेकी अनुराधा पाण्डेको वि. सं. १९९६ साल असोज ६ गते आमा पुर्ण कुमारी पाण्डे बुवा तेजराज पाण्डेको कोखबाट यस धर्तीमा प्रवेश भएको हो ।  जीवनको पूर्वाद्र्वदेखि नै लगनशील, कर्तव्यनिष्ठ भई, संघर्षमय जीवन जिउन विवश अनुराधालाई बागलुङ ल्याएर आफन्तको सहयोगमा पर्वत लिमिठानामा विवाह गरिदिएको पाइन्छ । उहाँका बुबा तेजराज पाण्डे सरकारी कर्मचारी हुनुहुन्थ्यो र राजा महेन्द्रको शासनकालमा उहाँले पु¥याएको योगदानको उच्च मुल्याङ्घन स्वरूप बागलुङ निरहेमा २५ रोपनी जग्गा बक्सिस पाएको पाइन्छ । वि.सं. २०१३ सालमा १६ बर्षको उमेरमा अनुराधा पाण्डेको पर्वत जिल्लाको लिमिठानामा हितराज पन्तसँग उहाँको विवाह भयो । विवाहमा राजा महेन्द्रबाट दाइजो बापत रु ५०० प्राप्त भएको थियो । उहाँको बाल्य अवस्था काठमाडौँमा बितेपनि उहाँको भाग्य परीक्षा भने गाउँ घरमै भयो । 

    माइतीमा लामो समयसम्म बस्न नपाएपनि उहाँको बाल्यकाल सुख सयलमा बतेको स्मरण गर्दै विवाहपछि अनबरत संघर्ष गर्नु परेको उहाँको कथन रहन्थ्यो । उहाँका अनुसार पिता तेजराज पाण्डे सरकारी सेवामा रहेकोले जागिरको शिलशिलामा काठमाडौँमा रहदाँँ खानपान लत्ता कपडामा कुनैपनि समस्या नभएको तर छोरीको कर्म १६ वर्ष नपुग्दै आफन्तको दबाबमा विवाह गर्न परेको त्यहँँीपनि गाउँमा जुन कुरा सौच्नै नसकिने थियो । त्यो समय छोरीलाई शिक्षा दिने चलन नरहेको र साधारण शिक्षामात्रै प्राप्त गरेको र सानै उमेरमा विवाह गर्न परेकोले विवाहपछिका क्षणहरु संघर्षमा बितेको थियो । अनुराधा पन्त एक समाजसेवी स्यंमसेविका हुनुहुन्थ्यो । विवाह पछिका केही दिनमा भएको एउटा अविस्मरणीय क्षणको पीडा सुनाउदै उहाँले भन्नु हुन्थ्यो, हामी काठमाडाैँमा बस्दा तिलको अचार खाने गर्दथ्यौे, जुन मिठो हुन्थ्यो । मेरी (सासु आमा) बज्यैले भान्सामा त्यस्तो तिलको अचार पकाएको मैले देखे लाग्थ्यो यहाँ पनि तिलको अचार खान पाइने रहेछ भन्दै खुशी भए ।

    मेरी (सासु आमा) बज्यैले भान्साबाट थालभरि त्यहीँ अचारमात्र पस्कनु भयो । त्यो देखेर आश्चर्य भई मनमनै अचार पनि त्यति धेरै अहो ! कसरी खाने अनि अचार मात्रै खाने ! एक छिनपछि सानो स्वरमा सोधे तिलको अचार थालभरि छ मेरो बोली खस्न नपाउदै सबैजना हाँसी रहे । तर म त्यो कुरामा अबुझ थिए । त्यसबेला म हास्य पात्र बनि अरुलाई हसाई रहेकी थिए  । त्यसबेला म लाजले मुर्छित भई तिलको अचारप्रति हेरिरहेकी थिए । जब मलाई सबैजनाले हेर्न छाडे । भान्सामा बज्यै मेरा अगाडि हुनुन्थ्यो । मैले यति धेरै तिलको अचार किन दिनु भयो आश्यर्य मान्दै खान सुरु गरे त्यसमा नुन, खुर्सानी, अमिलो लगायत कुनैपनि मसला राखिएको थिएन र स्वादपनि थिएन । किन यस्तो हो भन्ने कुरा मनमा खेलिरहेको थियो तर फेरि बज्यैलाई सोध्ने आट म मा थिएन किनकि त्यसबेला बुहारीलाई घर परिवारले हेर्न दृष्टिकोण कठोर थियो । तरपनि डराई डराई प्रश्न गरे यो तिलको अचारमा किन नुन, खुर्सानी, अमिलो लगायत कुनैपनि मसला राखिएको छैन् ।

    त्यसपछि सासु बज्यै झरकिदैँ भन्नु भयो ‘ कहिलै खाएकोले पो खान जान्दछ, बाहुनले च्याऊ खाको न, मुख उक्काको’, यो त कोदाको ढिडो हो, कुनै तिलको अचार होइन । त्यसछि मेरो मनमा सुन्यता छायो एक्कासी आँखा रसाएर आए बेदनाको आँशु बग्न थाल्यो । अ िजीवनको मार्गदेखि नै अनौठो लाग्न थाल्यो । मेरो कस्तो जीवन कोदाको ढिडो र तिलको अचार छुटाउन कठिन भयो  यस्तै कुरा मनमा धरै बेर सोची रहे अनि फेरी आफैलाई सम्हाले पनि । ‘खान्न भनेको खान पर्ने, जान्न भनेको ठाउँमा जानु पर्ने’ यो छोरीको जीवनमा सार्थक हुने रहेछ । विवाह पुर्व माइतिमा तिलको अचार खाने गरेकी आमाले विवाहपछि कोदाको ढिडोको मार्मिक अनुभवबाट नयाँपुस्ताले  पनि दुख सुखको यात्रावारे सिक्नु पर्ने देखिन्छ । आफु दुखमा रहेपनि अर्काको दुख देख्न नसक्ने बानीको कारणले छरछिमेकीले पनि उहाँलाई निरन्तर सहयोग गरेको पाइन्छ । यसरी जीवनमा विवाह पछि संघर्षको पोखरीमा डुब्नु भएकी अनुराधा आज हामी सामु हुनु हुन्न उहाँले हामीलाई एक्लो पारी (टुहुरो पारी) सदा सदाका लागि टाडिनु भयो । आज त्यो क्षणको स्मरण गर्न सकदैनौँ, यदि गरेमा बेहोसको नभई धैर्य नै हुदैन ।

    चाहे जे भए पनि हाम्रो गाँउकी आमा बनेर रहनु भएकी अनुराधा हसिलो चेहेरा गोलो अनुहार अलिक दुब्लो शरीर भएको हुनु हुन्थ्यो । उहाँको बोली मधुर थियो । कहिबाट कसैले बोलाएर ‘हई वा’ भन्ने सुमधुर आवाज  गुिन्जन्थ्यो जुन सुकै नाताले उहाँलाई संबोधन गरेर बोलाए पनि । गाँउमा कुनै समस्या वा अप्ठारो पर्दा, कोही व्यक्तिलाई कुनै कुराको जटिलता हुँदा, महिलाको प्रशव पिडामा उहाँ अगाडी सर्नु हुन्थ्यो ।  भान्सामा कपडा फेरेर खाना बनाउने चलन अनुसार भान्सा छाडेपछि फेरि खान हुदैनथ्यो तर उहाँले खान लागेको बेला कुनै समस्या प¥यो लौन के गरौ भनेपछि खानै छोडेर समाधानका लागि जानुहुन्थ्यो । लिमिठाना, ठानामौला, खानीगाउँ, देविस्थान,कुर्घा लगायतका स्थानमा महिलाहरुको प्रशव पिडा र शाल नालको समस्या र कुपोषणको समस्यामा भएका वालवाकिाहरुको उपचारमा रक्षा कबजको रुपमा उहाँले निरत्तर साथ दिइरहनु हुन्थ्यो ।

    युनिसेफ र सेभ द चिल्डेनबाट मातृ शिशु सुरक्षा सम्बन्धि तालिम लिएर तत्कालिन स्वास्थ्य अभाव रहेको समयमा सेवा दिनु ठुलो गुन हो । उहाँ दर्जनौ कालबालिकाकी दुधे आमा बन्नु भयो ।  इश्वरले पनि राम्रालाई छिटो लैजादा रहेछन भन्दै ब्याकुल स्वरमा छिमेकी आमाहरु उहाँको स्मरणमा आँखाबाट आँसु झार्नुु हुन्छ । उहाँको निस्वार्थ सेवाको कारण घरमा पुजा,पाठ, श्राद्ध र अन्य समयमा दुध, तरकारी, फलफुल सबैले ल्याउने, आफुले पनि घरमा भएका तरकारी, फलफुल सबैले बाँडेर खाने चलन उहाँको थियो । घर वरिपरी धान रोप्दा सबै छिमेकी, आफन्तजन आएर रमाइलो गदैँ सहयोग, अर्मपर्म गरी खेतीपाती गर्ने चलन थियो । ५९ बर्षको छोटो जीवन मात्रै यस संसारमा खेल्न पाउनु भएकी पन्तका सेवाकै कारण दजनौ प्रमाणपत्रहरु रहेका छन् । आफुले धेरै पढन नपाएपनि छोराछोरीलाई शिक्षा क्षेत्रमा लगाउन र पढाउनु पर्दछ भन्ने सक्रिय सोच उहाँमा रहेकोले छोराछोरीलाई मेरालागि होइन आफनै लागि हो पढ र सदा सर्घष गरेमा सफलता हासिल गर्न सकिन्छ भन्ने सोच आमाका थियो ।

    समाज प्रतिको सकरात्मक सोच र चिन्तनले गर्दा जीवनभर सरसहयोग, लेनदेन र आपसी सहकार्यमा उहाँलाई सबैले स्मरण गरिरहन्छन् । उहाँको मृत्यु भएको आज २३ वर्ष पुगेको छ र पनि गाउँ समाजमा उहाँलाई सबैले स्मरण गर्नु हुन्छ । उहाँले आफ्नो जीवनकालमा धेरैजना महिलालाई प्रशव पीडाको छटपटि र मृत्युको मुखबाट बचाउनुभयो । कैयौं सुकेनास पिडित बालबालिकाहरु बचाउनको लागि हरपल प्रयास गर्नुहुन्थ्यो । तालिममा पनि निरन्तर क्रियाशील भनेर सिक्ने र सिकेको कुरा तुरुन्त व्यवहारमा उतार्ने बानीले गर्दा उहाँलाई सबैले मन पराउने गरेको पाइन्छ । यसरी समाजमा देखिने समस्याहरुलाई तुरुन्त समाधान गरि सहयोग गर्नमा उहाँ निन्तर लागिरहनु हुन्थ्यो । आज पनि यस समाजले उहाँलाई सम्झी रहेको छ र निरन्तर सम्झिरहने छ । गाउँमा उहाँका आफन्त, आमा, दिदी, बहिनीहरुलाई उहाँको बारेमा सोध्दा आँखा न रसाउने मान्छे कोही हुनुु हुन्न ।

    यसबाट पनि उहाँलाई चिन्ने सबैले स्मरण गर्नुभएको छ ।  दिदीबहिनीको नजरमा पनि उहाँलाई स्मरण गर्दा दिदी सबै प्यारी, मिलनसार, आफुले नखाएर पनि अरुलाई खुवाउन सधै तत्पर रहन, आफ्नो मनका दुख अरुलाई न पोख्ने अथवा भन्न नरुचाउने , आफन्तहरुले दुख थाहा पाए चिन्ता बढ्छ भन्ने सोचाइ राखेर माइतीलाई दुःखका कुराहरु नदेखाउने बानी उहाँको रहेको बताउनुहुन्छ । अचानक कुनै रोग नभएकी आमा वि.सं. २०५५– ०४– २३ गते राती देखि सामान्य रुपमा शरीर फुल्ने थालेपछि उहाँलाई तत्काल पोखरा गण्डकी अस्पतालमा पु¥याइएको थियो । केही दिनको उपचारले उहाँलाई केही फरक पारेन र त्यहाँबाट काठमाडाँै रिफर भयो । काठमाडाँको नेश्नल किडनी अस्पतालको उपचारबाट केही सन्तोषको सास फेरिदैँ थियो तर त्यो लामो समय टिकेन र मिति २०५५–५–२८ गते अष्टमी तिथिका दिन उहाँले हामी र हाम्रो समाजलाई सदा सदाका लागि टुहुरो पारेर जानुभयो । 

    आज आमाका अमृतवाणी स्मरण भैरहन्छ जसमा अर्काको आशमा जीवन जीउनु राम्रो होइन यद्यपि हामी आज आफ्ना लागि मात्र जिउँन सिकेका छौँ अरुका लागि जिउन बिसर्देँ गएका छौँ । आफ्नो व्यक्तिगत स्वार्थलाई सिरोपर गरी अरुले गरेको कामको टिकाटिप्पणी गर्न र राम्रो काम गर्ने मानिसको खुटटा तान्न लालाहित छौँ । उहाँले समाजलाई पु¥याएको निःस्वार्थ सेवालाई अंगिकार गरी जननी माताको सम्मान गर्न,  गाउँ र शहरबीचको ब्यवहारगत असमानता हटाउन, दुख र सुखको वास्तबिक लेखाजोखा गरी जीवनलाई सार्थक बनाउनु आजको आवश्यकता हो । (आमाको मुख हेर्ने दिन सम्पुर्ण आमाहरुमा सर्मपित)


    सराेजराज पन्त

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार