सिसाखानी र समग्र गाउँपालिकाको विकासमा ध्यान दिन्छौं—गण्डकी थापा अधिकारी

सिसाखानी र समग्र गाउँपालिकाको विकासमा ध्यान दिन्छौं—गण्डकी थापा अधिकारी

  • बैशाख २०, २०७९ मंगलवार
  • १८:४७:०१ बजे
  • 8.5K
    SHARES
  • सिसाखानी र समग्र गाउँपालिकाको विकासमा ध्यान दिन्छौं—गण्डकी थापा अधिकारी

    बागलुङ : पाँच दलीय गठबन्धनको चुनावी सभा जिल्लाको बडिगाड गाउँपालिका—३ सिसाखानीमा सम्पन्न भएको छ । चुनावी आम सभामा बोल्दै गठबन्धनबाट बडिगाड गाउँपालिका अध्यक्ष उम्मेदवार गण्डकी थापा अधिकारीले सिसाखानी र समग्र बडिगाड गाउँपालिकाको समुचित विकासका लागि आफुहरुलाई मतदान गर्न आग्रह गरिन् ।

    ‘गाउँपालिका भित्रको स्रोत साधनको उचित प्रयोग गरी गाउँपालिका भित्रका सबै क्षेत्रहरुको विकास गर्ने हामीले स्पष्ट खाका तयार पारेका छौं,’ उनले भनिन्,‘पर्याप्त सम्भावनाहरु हुँदाहुँदै पनि सिसाखानीको सही तरिकाले विकास हुने सकेको छैन ।’ उनले सिसाखानीमा रहेको खानेपानीको चरम समस्या समाधान गर्नका लागि आफुले पहल गर्ने समेत बताईन् । ‘म हिजो गाउँपालिका अध्यक्षमा नहुँदै गर्दा पनि सामाजिक क्षेत्र र विकासका क्षेत्रमा आफ्नो भूमिका खेलिरहेको व्यक्ति हुँ,’ उनले भनिन्,‘यहाँको सबैभन्दा ठूलो र चरम समस्या खानेपानीको रहेको मैले बुझेको छु । त्यसको समाधानका लागि गाउँपालिका देखि प्रदेश र केन्द्रसम्म पलह गर्नेछु । विभीन्न साझेदार संस्थाहरुसंगको सहकार्यमा पनि यो समस्या समाधान गर्न सकिन्छ ।’

    sisakhani 1.jpg

    उनले आम जनताको भावना मर्म अनुसार काम गर्ने प्रतिवद्धता जनाईन् । ‘हामी निर्वाचित भएपछि विगतमा जस्तो कसैलाई काखा र कसैलाई पाखा हुँदैन, सम्रग जनताको भावनाको कदर हुनेगरी काम गर्छौं,’ उनले भनिन् । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष उम्मेदवार भीमसेन वनले बडिगाडको शिक्षा स्वास्थ्य, भौतिक पूर्वाधार विकास निर्माणको क्षेत्रमा यथेस्ट अध्ययन गरेर कार्यक्रम ल्याउने बताए । ‘हिजोका दिनमा बडिगाड गाउँपालिकामा स्थानीय सरकारले सरकारको अनुभूति दिने गरी काम गर्न सकेन,’ वनले भने,‘हामी निर्वाचित भएपछि कुन क्षेत्रमा के काम गर्नुपर्नेछ भन्ने पहिले अध्ययन गरेर आवश्यकताको आधारमा कार्यक्रम सञ्चालन गर्नेछौं । विगतमा जस्तो कार्यकर्ता पोस्ने गरी योजना र कार्यक्रम ल्याउने काम हामीबाट हुँदैन ।’

    कार्यक्रममा बडिगाड गाउँपालिका—३ सिसाखानीका वडाध्यक्षका उम्मेदवार लोकेन्द्र बहादुर घर्तीले सिसाखानीको शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधारको विकासमा आफुले ध्यान दिने बताए । ‘चरम गरिबी हाम्रो यहाँको मुख्य समस्या हो,’ उनले भने,‘युवा र महिला दिदी बहिनीहरुका लागि सीपमूलक तालिम प्रदान गरेर स्वरोजगार मूलक उद्यममा लाग्न हामीले पहल गर्नेछौं ।’ कुनै कुनै पनि डर धम्की र प्रलोभनमा नपरी निर्धक्कसंग रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।

    ‘सुनिन्छ यहाँ यस्तो दिईन्छ, उस्तो दिन्छु भन्ने प्रलोभन पनि बाँड्न सुरु भएको छ, पाँच वर्षसम्म नदेखिएको खानेपानीको समस्या पनि निर्वाचन आउने बेलामा देखिएको छ,’ उनले भने,‘यो बेला निर्धक्क भएर हामीलाई मतदान गर्नुहोस् । हामी यहाँको समस्या एक एक गर्दैै समाधान गर्दै जानेछौं ।’ उनले वडा तहबाट सकिने काम वडाबाट, पालिकाबाट हुने काम पालिकाबाट र माथिल्लो निकायबाट हुने कामहरुमा प्रदेश र संघीय सरकारसंग पहल गरेर सम्पन्न गर्ने बताए । ‘तपाईहरुले हामीलाई मतदान गरेर विजयी गराउनुभयो भने सबैको साझा बनेर काम गछौंं,’ उनले भने,‘विगतमा झै तपाईहरुले मलाई भोट दिनुभयो दिनुभएन भन्ने हिसाब गरेर हामी बस्दैनौं ।’

    कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य कृष्णबहादुर घिमिरले तत्कालिन प्रधानमन्त्री केपी ओलीले देशलाई बर्बादीतर्फ धकेलेका कारण पाँच दलीय गठबन्धन निर्माण गरेर उपलब्धीहरु जोगाउने काम भएको बताए । ‘देशलाई समृद्धिको सपना बाँडेर केपी ओलीले भएका उपलब्धीहरुलाई पनि भड्खालोमा हालेर संसद विघटन गर्ने र देशलाई अप्ठ्यारोमा पार्ने काम गरेका कारण पाँच दलीय गठबन्धन बनेको हो । प्रतिगनमका मतियाहरुलाई तलबाटै परास्त गर्नुपर्छ भनेर स्थानीय तहबाटै गठबन्धनको आधारमा निर्वाचनमा होमिएको छौं । जनताको साथ जरुरी छ ।’

    sisakhani.jpg

    कार्यक्रममा जिल्ला सदस्य अर्जुन खरेल, नेपाली काँग्रेसका पूर्व महाधिवेसन प्रतिनिधि यामेन्द्र घर्ती, नेपाली काँग्रेस बडिगाड गाउँपालिका उपाध्यक्ष अर्जुन पाईजा लगायतले बडिगाड गाउँपालिका एमालेले निर्वाचन जितेपछि वेथिती मौलाएकाले काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । नेपाली काँग्रेस बडिगाड गाउँपालिका—३ सिसाखानीका सभापति दिलबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नेपाली काँग्रेस गण्डकी प्रदेश महाधिवेसन प्रतिनिधि नरबहादुर प्रतेल र सञ्चालन सचिव धनबहादुर थापाले गरेका थिए ।

    बडिगाड गाउँपालिकामा गठबन्धनको तर्फबाट गण्डकी थाप अधिकारी अध्यक्ष र भीमसेन वन उपाध्यक्ष, बडिगाड—३ सिसाखानीमा वडाध्यक्षमा लोकेन्द्रबहादुर घर्ती, सदस्यमा पृथबहादुर थापा, मानसिंह विक, महिला सदस्यमा कुमारी श्रीस र दलित महिला सदस्यमा दिविसा विक रुख चिन्ह लिएर उम्मेदवार बनेका छन् । गाउँपालिका अध्यक्ष उपाध्यक्षका उम्मेदवार सहितको टोलीले घरदैलो समेत गरेको छ । 

    सम्बन्धित समाचार