बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका नेपाली काँग्रेसले एमालेबाट खोसेको छ । वैशाख ३० गते भएको निर्वाचनबाट अध्यक्षमा राजु थापा विजयी भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका उनी नेकपा एमालेका डिलबहादुर कार्कीलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । कार्कीलाई एक हजार तीन सय ६८ मतले पछि पारे । थापाले कुल ७ हजार ७ सय ५१ मत पाउँदा कार्कीले ६ हजार तीन सय ८३ मत पाए । गत स्थानीय निर्वाचनमा यहाँ नेकपा एमालेका अमरबहादुर थापा गाउँपालिका अध्यक्ष विजयी भएका थिए ।
स्थानीय निर्वाचन २०७४ मा काठेखोलामा नेकपा एमाले राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र मिलेर निर्वाचन लडेका थिए । नेपाली काँग्रेस एक्लै निर्वाचनमा होमिएको थियो । उक्त निर्वाचनमा नेकपा एमालेका अमरबहादुर थापाले एक हजार चार सय ७५ मतान्तरले नेपाली काँग्रेसका उम्मेदवार होमबहादुर हमाललाई पराजित गरेका थिए । त्यो निर्वाचनमा उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका अर्जुनबहादुर खत्री विजयी भएका थिए । यस पटक भने चुनावी साझेदारी संगसंगै निर्वाचनको नतिजा समेत उल्टिएको छ । गठबन्धनबाट नेपाली काँग्रेसले गाउँपालिका अध्यक्ष जित्दा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलकले गाउँपालिका उपाध्यक्ष जितेका छन् ।
उनले नेकपा एमालेकी कोपिला पुनलाई पछि पार्दै उपाध्यक्षको बागडोर सम्हाल्ने मौका पाएका हुन् । थापाले ६ हजार ७ सय १२ म ल्याउँदा पुनले ६ हजार ४ सय ४७ मत पाएका छन् । अघिल्लो पटक एमालेसंग मिलेर उपाध्यक्ष पाएको जनमोर्चाले यो पटक पाँच दलीय गठबन्धन गर्दा पनि काठेखोलामा उपाध्यक्ष पाएको हो । यस पटक काठेखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै जना काठेखाला—४ तंग्रामबाट परेका छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित राजु थापा २०५४ सालमा नेपाली काँग्रेसबाट साविक तंग्राम गाविसको गाविस अध्यक्ष समेत निर्वाचित भएका थिए ।
उपाध्यक्ष निर्वाचित तेजबहादुर थापा तिलक पनि तंग्रामकै हुन् । उनी गत स्थानीय निर्वाचनमा काठेखोला—४ तंग्रामको वडाध्यक्षमा काँग्रेस उम्मेदवार केशव थापासंग १४ मतले पराजित भएका थिए । अघिल्लो पटक एमालेसंग् मिलेर उपाध्यक्ष जितेको राजमोले अहिले गठबन्धनबाट उपाध्यक्ष जित्यो । देशमा द्वन्द्वले चर्को रुपमा लिएपछि उनी गाउँबाट विस्थापित हुँदै लामो समय विदेशमा पनि बसे । माओवादीले भौतिक कारबाही गर्नसक्ने सूचना पाएपछि उनी गाउँबाट विस्थापित भएका थिए । अहिले उनै माआवादी सहितको पाँच दलीय गठबन्धन हुँदा गाउँपालिका अध्यक्षमा विजयी हुने मौका पाए ।

झण्डै १८ वर्ष बेल्जियममा बसेका उनले स्थानीय निर्वाचन हुनुभन्दा चार पहिना अगाडि बेल्जियको व्यवसाय र सबै सेवा सुविधा त्यागेर नेपालमै बसेर राजनीति गर्ने योजनाका साथ नेपाल फर्किएका थिए । संयोग पनि मिल्यो उनी नपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बने र जिते पनि । विदेशमा हुँदै गर्दा पनि गाउँघरको सुख दुःखमा साथ दिएका कारण उनी गाउँठाउँमा लोकप्रिय नै थिए । दैवी प्रकोप आपत विपद्मा सहयोग जुटाउने देखि विभीन्न खेलकुद र अन्य कार्यक्रमशरु पनि उनले सहयोग गरिरहन्थे । जसले गर्दा पनि उनी सात समुन्द्र पारी हुँदा पनि गाउँबाट विच्छेद भएनन् ।
‘राजु थापा भौतिक रुपमा विदेशमा भए पनि काठेखोलाको सबै ठाउँका जनतासंग नजिक हुनुहुन्थ्यो,’ धौलागिरि क्याम्पस बागलुङका स्ववियु अध्यक्ष मनिष थापा भन्छन्,‘गाउँघरमा पर्ने हरेक समस्यामा उहाँले साथ दिनुभयो । खुसीमा होस् वा दुःखमा प्रदेशबाट भए पनि साथ दिएका कारण उहाँले लोकप्रिय मत पनि पाउनुभयो ।’ मुलुकमा शान्ति प्रक्रिया सुरु भएदेखि नै उनी नेपाल फर्केर राजनीतिक सामाजिक काम गर्न चाहेको निकटस्थहरुसंग बताउने गर्थे । ‘उहाँको ज्यान विदेश भए पनि मन पुरै यतै थियो,’ काठेखोला—४ तंग्रामका निवर्तमान वडाध्यक्ष केशव थापा भन्छन्,‘गत स्थानीय निर्वाचनपछि त यहाँका शुभचिन्तकहरुले पनि उहाँलाई नेपाल फर्किन दबाद दिईरहेका थिए । आउनुभयो, टिकट पाउनुभयो र चुनाव पनि जित्नुभयो ।’
राजु थापा आफै पनि बाध्यताले विदेशिनु परेको बताउने गर्छन् । ‘एउटा कालखण्डमा देशको समस्याले मलाई विदेश जान बाध्य बनायो,’ उनले भने,‘मेरो चाहाना यही बसेर सामाजिक काम गर्ने जनताको काम गर्ने थियो र अहिले त्यो झन बढेर गएको छ ।’ गाउँपालिका अध्यक्षमा निर्वाचित भैसकेपछि उनले जनप्रतिनिधि वापत आफुले पाउने सेवा सुविधा समेत विपन्न नागरिकको सुविधाका लागि सामाजिक क्षेत्रमा गर्ने घोषणा गरेका छन् । ‘मेरो आफ्नो परिवारको खर्च धान्नका लागि मैले केही लगानी गरेको छु, छोराहरु पनि सेटल भएका छन् उनीहरुको पनि राम्रो साथ छ,’उनले भने,‘मैले आफ्नो जीवन धान्नका लागि राज्यकोषबाट रकम लिन पर्दैन । त्यसैले त्यसलाई गरिब विपन्न वर्गको उत्थानका लागि के गर्न सकिन्छ सामाजिक काममा लगाउँछु ।’
निर्र्वाचनका दौरानमा विपक्षीले लामो समय विदेश बसेर भूगोल नबुझेको लगायतका विभीन्न अफबाह फैल्याएर रोक्ने प्रयास गरे पनि उनी लोकप्रिय मतका साथ निर्वाचनमा विजयी भएका छन् । उनले प्रत्येक वडाबाट उनको गठबन्धनका उम्मेदवार जितेको नजितेको वडामा पनि अधिकांसमा वडाध्यक्षका उम्मेदवारले भन्दा बढि मत पाएका छन् । नेकपा एमालेको राम्रो जनमत भएको र जित्ने आशा गरेको गाउँपालिका एमालेले गुमाएको छ । उम्मेदवार छनोटमा कमजोरी भएका कारण एमालेले निर्वाचन हारेको बताईन्छ ।
एमाले भित्र निवर्तमान गाउँपालिका अध्यक्ष अमरबहादुर थापालाई नै गाउँपालिका अध्यक्षमा दोहो¥याउनुपर्ने विचार रहे पनि नेतृत्वले त्यसको वास्तै नगरी डिलबहादुर कार्कीलाई उम्मेदवार बनाएको विषयमा एमाले भित्रै असन्तुष्टी देखिन्थ्यो । गत निर्वाचनमा निर्वाचित भएपछि स्थानीयसंग राम्रो सम्बन्ध बनाएका र काँग्रेसको पकड भएका पाला, तंग्राम र लेखानी, बिहुँ लगायतका क्षेत्रबाट समेत राम्रो मत तान्न सक्ने उम्मेदवार अमरबहादुर थापा हुने विश्लेषण गरिएकोमा एमालेले कार्कीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो । ठूलो मतदाता रहेको र त्यो पनि एमालेको पकड क्षेत्र काठेखोला—७ रेशका भएकाले डिलबहादुरलाई टिकट दिईएको चर्चा हुन्थ्यो ।
रेशका एमाले कार्यकर्ताले कुल खसेको मतको ८०÷८५ प्रतिशत मत एमालेको पक्षमा खस्ने ठाउँबाट उम्मेदवार दिनुपर्ने तर्क गर्ने गरेका थिए । कार्कीले टिकट लिएर आउँदैबाट जिल्लाका एमाले नेतृत्वले गुण तिर्न टिकट दिलाएको भन्ने सामाजिक सञ्जालमै चर्चा भएको थियो । आफ्नो वडाबाट राम्रो मत ल्याए पनि अन्य वडाबाट तुलनात्मक रुपमा कम मत पाएपछि कार्की उपविजेतमा सिसित भए । काठेखोलाका ८ वडामध्ये नेपाली काँग्रेसले ४ वटा वडा, एमालेले तीन वटा र राष्ट्रिय जनमोर्चाले एक वडामा जितेका छन् ।