सन्दर्भ : भानु जयन्ती

समाजशास्त्रीय दृष्टिले भानुभक्तलाई नियाल्दा

समाजशास्त्रीय दृष्टिले भानुभक्तलाई नियाल्दा

  • आषाढ २९, २०७९ बुधवार
  • ०९:०६:२७ बजे
  • 4.8K
    SHARES
  • समाजशास्त्रीय दृष्टिले भानुभक्तलाई नियाल्दा

    यो संसारमा मानिस जन्मने र मर्ने प्रक्रिया निरन्तर चलिरहन्छ । मृत्युपछि धेरैजसो बिर्सिइन्छन् । तर यहाँ यस्ता थोरै मानिस छन्, जो मरेर पनि अमर छन् । समाज र राष्ट्रका लागि पु¥याएको उत्कृष्ट योगदानकै कारण उनीहरुलाई पुस्तौं पु्स्ताले सम्झिरहन्छन् । तीमध्ये एक हुन् आदिकवि भानुभक्त आचार्य जो उच्चवर्गको ब्राह्मण परिवारमा विसं १८७१ साल असार २९ मा जन्मिए ।  आचार्यले जीवनको वास्तविकतालाई उजागर गर्दै भाषा, साहित्यको सृजनामा महत्वपूर्ण योगदान पु¥याए । त्यसैको परिणामस्वरुप आजसम्म हामी भानुभक्त आचार्य चिन्दछौँ । उनका अमर कृतिहरु हाम्रा स्मरणमा आइरहेका छन् ।

    जीवनको पूर्वाद्धदेखि नै संघर्षमय जीवनबारे बोध गरिसकेका भानुले हजुरबुबा श्रीकृष्ण आचार्यबाट घरमै शिक्षा लिएका थिए । त्यसपछि उनी बागलुङ पुगी पण्डित बद्रिनाथ पन्तको आश्रममा बसेर अध्ययन गरेको पाइन्छ । उनका बुबा धनन्जय आचार्य सरकारी अधिकारी थिए र जनरल अमरसिंह थापाको पालामा पाल्पाको गभर्नर थिए । घरमा बुबा नियमित नबसे पनि हजुरबुबा श्रीकृष्ण आचार्यले दिएको शिक्षा र घाँसीबाट पाएको प्रेरणाले आफ्नो छोटो जीवनमा उनी आदिकवि बन्ने सौभाग्य प्राप्त गरे । घाँसीले समाजलाई केही दिन सकूँ भनेर एउटा कुवा निर्माण गर्न दिनहुँ घाँस काटिरहेको संकल्पबाट प्रेरित भएर अमूल्य साहित्य सिर्जना गरे र नेपाल र नेपालीको मन–मुटुमा बस्न सफल बने ।

    त्यो समयमा साहित्यका प्रत्येक अंश र श्लोक संस्कृत भाषामा लेखिन्थे र आम मानिसहरू लेखपढ गर्न नजान्ने भएकाले संस्कृत भाषा बुझ्न सक्दैनथे । त्यसो त केवल शिक्षा ब्राह्मण वर्गमा मात्र सीमित थियो ।  त्यो समाजलाई परिवर्तन गर्न उनले नेपाली भाषामा कविताहरु लेख्न थाले। उनी भगवान रामका भक्त थिए । रामायणमा उनै रामको गाथा भएकाले उनी रामायण सामान्य व्यक्तिले पनि पढेको र बुझेको देख्न चाहन्थे । सोहीकारण उनले संस्कृत भाषाको रामायणलाई नेपालीमा अनुवाद गरे । 

    उनलाई आदिकवि भनिन्छ यद्यपि पहिलो नेपाली कवि वीरशाली पन्त हुन् भनेर चर्चा पनि भएको पाइन्छ ।  भानुभक्त आचार्यले नेपाली भाषालाई साहित्य र रचना लेखनमा प्रयोग गर्न सकिने भाषा बनाए। उनमा कविताको माध्यमबाट भित्री सार बुझ्ने गरी व्यक्त गर्ने क्षमता रहेको स्पष्ट हुन्छ । उनी जीवित हुँदा आफ्नो कामको कुनै लाभ प्राप्त गरेनन् । तर मृत्युपछि उनी प्रसिद्ध भए । यसमा मोतीराम भट्टको योगदान रहेको छ । मोतीराम भट्टले आचार्यका पाण्डुलिपीहरू फेला पारे र प्रकाशित गराए । त्यसपछि भानुभतmको थप चर्चा हुन थाल्यो । 

    दुर्गाकवच, चण्डी, लघुकौमुदी, वेद, रुद्रीसहित ज्योतिष विधा तथा वेदान्त दर्शनको अध्ययन गरेकाले छोटो जीवनकालमा पनि भानुभक्त आर्चायले प्रश्नोत्तर, बधुशिक्षा, भक्तमाला, रामगीता, बिन्तिपत्र, कान्तिपुर, बालाजी वर्णन, गिरीधारीको झेललगायतका ४० भन्दा बढी फुटकर कविताहरु रचना गर्न सफल भए । यसैगरी संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरी त्यसका शब्द र भाव सबै नेपालीले बुझ्ने सरल भाषा र शैलीमा प्रस्तुत गरे । 

    कोही जन परस्त्रीमा रत हुनन् कोही त हिंसा महाँ ।
    देहलाई त आत्मा जानि रहनन् नास्तिक पशु झैं, तहाँ ।।
    ब्राह्मण भैकन वेद बेचिरहनन् कोही पढुन् तर पनि ।
    धन ठूलो छ पनि भन्या सहज धन आर्जन गरौंला भनी ।।
    काममा चाकर झैँ भएर रहनन् स्त्रीलाई द्मौतासरी ।
    मान्नन् पितृ र मातृलाई बुझी खुब शत्रु सरीका गरी ।। 

    उनका यी स्मरणीय कवितामा उन्लेख गरिएका बिषयले अहिलेको नेपाली समाज र संस्कृतिको यथार्थ चित्रण गर्न सफल रहेका छन् । अहिलेको नेपाली समाजमा बाबु, आमालाई बेवास्ता गर्ने परस्त्री, परपुरुषमा लत बसाल्ने वा लालायीत हुने र ब्राम्हमण भएर पनि वेदको महिमा नबुझ्ने, धनका लागि जस्तोसुकै कुकर्म गर्न पनि पछि नपर्ने प्रवृत्तिको गहन रुपमा चित्रणमात्र गरेनन्, भविष्यवाणी गर्नसमेत सफल भएका छन् ।

    यसैगरी ‘जिउदैँ म¥र्याको भनि नाम कसको, उद्यम बिना बित्दछ काल जसको’ भनि काम नगरी बस्ने अल्छी मानिसलाई जाँगरिलो, जोसिलो, कर्मशील बन्न उनका कविताले सदैव प्रेरित गर्दछन् । उनले घाँसीबाट प्रेरणा पाएको सन्दर्भमा कविता सृजना गर्दै यस्तो भाव पोखेका छन :
    ‘घाँसी दरिद्री घरको तर बुद्धि कस्तो 
     मो भानुभक्त धनि भैकन आज यस्तो ।’

    आफ्नो जीवनमा उनले घाँसीबाट कवि बन्न प्रेरणा पाए । घाँसीले समाजलाई केही दिन सकँु भनेर एउटा इनार निर्माण गर्न दिनहँु घाँस काटिरहेका थिए । उनी घाँसीको त्यही संकल्पबाट प्रभावित भएर नेपालका आदिकवि बन्ने बाटो पहिलाएका थिए भनिन्छ ।  घाँसी, जो आफैँ दुःख–पीडामा छ, उसको कुवा खनेर सबैलाई पानी खुवाउने तीव्र इच्छा हुनु तर आफूमा यति पनि विवेक, बुद्धि नआउनु धिक्कार छ भनेर आत्मालोचना गरेको पाइन्छ । यसबाट अहिले हामीले आत्ममूल्यांकन गर्न, सबै पेशा व्यवसायलाई समान दृष्टिले हेर्न र सम्मान गर्न, विकासमा सहभागी हुनुपर्छ भन्ने लगायतका धैरै कुरा सिक्न जरुरी छ ।

    ‘रोज् रोज् दर्शन पाउँछु चरणको 
    ताप् छैन मन्मा कछू । 
    रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयनमा मछु
    लाम्खुटेहरु उपिँया उडुस् इ संगी छन् 
    इन्कै लहडमा बसी
    लाम्खुटेहरु गाउँछन् र इ उपियाँ नाच्छन् 
    म हेर्छु बसी’

    तत्कालीन समयमा राणा शासनको कारणले भोग्नु परेका दुःख, पीडा, कष्टसँगै सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक पक्षहरुको सचित्र उजागर गरेका छन् । उनले जेलको अवस्थाप्रति व्यङ्ग गर्दै रातभर उपियाँ र लामखुटे साथीको रुपमा रहेकाले उनैसँग बसेर समय बिताएको विषयलाई उल्लेख गरेका छन् ।यसबाट पनि दुःखमा समेत साहित्य र सिर्जना संगी बन्न सक्छ भन्ने भाव प्रस्तुत गरेका छन् । यसैगरी भोलि–भोलि भनेर दुःख, कष्ट दिने र पीडा बोध गराउने प्रवृत्तिको विरोध गर्दै समयमै न्याय दिन र  साहित्यको माध्यमबाट दबाब दिन उनले ‘भोलि भोलि हुदैँमा, सब घर बिति गो बक्सियोस् आज झोली ।’ भनेर कविता सिर्जना गरेका थिए । यसबाट समयमा निर्णय लिनुपर्छ, ढिलासुस्ती गर्नु हुँदैन भन्ने सन्देश दिएका छन् ।

    जीवनमा भोगेका अनेकौं प्रसंगलाई उल्लेख गर्ने कम्रमा किसानका दुःख, कष्ट र वास्तविकतालाई पनि उनले सिर्जनामार्फत् व्यक्त गरेका छन ः
    ‘जागिर छैन, धनी म छैन घरको केवल कुदालो खनी
    खान्थ्याँ दुःख गरेर चाकरी गर्याँ मान् पाउँला कि भनी ।’यसमा उनले आफ्नो पारिवारिक यथार्थता, आर्थिक अवस्था, जीविकोपार्जनका जटिलताहरुलाई सुक्ष्म रुपमा उजागर गरेका छन् । यद्यपि नारीवादी दृष्टिकोणले विश्लेषण गर्दा उनलाई नारी विरोधी कविता रचना गर्ने, नारीलाई अलिक हेयको दृष्टिले हेर्ने, ममताको ख्याल नगर्ने कविको रुपमा पनि लिने गरेको पाइन्छ जसमाः 

    ‘गजाधर सोतीकी घरबुढी अलच्छिनकी रहिछन् ।
    नरक् जानलाई सबसित बिदाबादी भइछन् । ’
    ‘हास्नुछैन कदापि नारीहरुले वैश्यै हुन्या हास्ँतछन् ।
    वैश्या लौ नहुउन् तथापि घरका काम्ता सभै नास्तछन् ।’

    यी कवितामा तत्कालीन समयमा नारीलाई फरक दृष्टिकोणले हेर्ने, नारी चरित्रको अपव्याख्या गरेको, विवादित विषय उठाएको, धार्मिक आस्थाका आधारमा नारीलाई दमन गर्नेजस्ता तथ्यलाई उजागर गर्नुले नारीविरोधी कविको रुपमा चर्चित छन् ।
    ‘मरेर क्यै लानु छैन गरौँ काम कीर्ति राख्नलाई
    हतपत नआओस् काल धोको पुर्याई छाड्नलाई ।’

    यसरी जीवनको छोटो अवधिमा आफूले भोगेका, देखेका र बुझेका विषयवस्तुलाई टपक्क टिपेर साहित्य, सिर्जना गर्न सफल भानुभक्त आचार्यले हतपत काल नआओस् भने पनि अल्पायुमै वि.सं १९२५ मा उनको मृत्यु भएको थियो । हामी आज आफ्ना लागिमात्र ज्युँन सिकेका छौँ । समाजका लागि केही नगरी अरुले गरेको कामको टिकाटिप्पणी  गरेर समय बर्बाद गरिरहेका छौं । अरुलाई दोषी देख्ने प्रवृत्ति हामीमा छ । आज जननी माताको काखमा बसी पसिना बगाउनुभन्दा विदेशिन विवश हुनु परेको छ । आफूलाई बाहेक अरुलाई नचिन्ने आजका युवाको प्रवृत्तिका कारण मोबाइल, ल्यापटप, टिभी आदिमा व्यस्त भई समाज र संसार त्यसैलाई ठान्नु परेको छ । यो परिवेशमा भानुभक्त आर्चायको जीवनका बुझाइ, भोगाइ र हेराइलाई आत्मसात् गर्न सकेमा नेपाली समाजको श्रीवृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।

     संसार अथाह छ, यसलाई बुझ्न मैदानमा उत्रन जरुरी छ । उनले मानव समाजलाई पु¥याएको निःस्वार्थ सेवालाई अंगीकार गरी भाषा, साहित्य र सामाजिक परिवर्तनका क्षेत्रमा क्रियाशील हुन सकेमा सम्पूर्ण बुद्धिजीवी, युवा जमात, पेशाकर्मी, नागरिक समाज, राजनीतिज्ञ, कर्मठ सबै नेपालीले सकारात्मक सोच बनाएर अगाडि बढ्न सक्छौं। अनिमात्र समाज र देशको मुहार फेर्न सकिन्छ ।


    सराेजराज पन्त

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार