गंगा थापा ‘भिक्षु’
प्रिय रक्सी !
तँ
साच्चिकै प्रिय छस् यार
दु:खमा, सुखमा
हाँसाेमा, आँसुमा
खुसीमा, पीडामा
उत्सवमा, वियोगमा
यी यावत पल, क्षेण र मौकाहरुमा
शरीरको सास् संग
तँ नै साथी भएर रहिदिन्छस्
सवै नहुँदा पनि तँ साथी भइदिन्छस् ।
प्रिय रक्सी !
पिर पर्यो, तँ नै साथी
खुसी मिल्यो, झनै साथी
एक्ज्याम सक्कियो, तेरै शरण
एक्ज्याम पास, खुसीमा तेरै चुस्की
एक्ज्याम फेल, तनावमा तेरै साथ
विदेशको भिजा लाग्यो, पार्टिमा तेरै खोलो
जागिर मिल्यो, तेरै अफर
चाडपर्वहरु, तेरै डुबानमा
घर छोड्यो, सम्झना मेट्न तेरै साथ
घर फर्क्यो, खुसी बाड्न तेरै साथ
अहो ! तैले यत्ती धेरै साथीको
साथ निभाउन सहजै सकिस् है ?
प्रिय रक्सी !
तँ, सडकको साथी
तँ, घर र महलको साथी
तँ, असफलताको साथी
तँ, सफलताको साथी
तँ, मिलनको साथी, खुसीको साथी
तँ, वियोगको साथी, आँसुको साथी
तँ, जीतको साथी
तँ, हारको साथी
तँ, बटुवा र मनुवाको साथी
तँ, पियन र हाकिमको साथी
तँ, जनता र नेताको साथी
तँ, बिरामी र डाक्टरको साथी
तँ, विद्यार्थी र शिक्षकको साथी
तँ सवै-सवैको साथी
सास् देखि आस् सम्मको साथी
साथदेखी घाटसम्मको साथी
खत्रा पनि छस् र गजबको पनि त छस्
तँ चार छ पाटे छस्
जसलाई जस्तो चाहिइयो, तँ त्यस्तै छस् ।
प्रिय रक्सी !
तँ
अथक र अनवरत छस्
तँ कसैलाई मन नपर्ने छैनस्
तँ सवैको होस्
तँ संग कसैको एकाधिकार छैन
तँ सर्वाधिकार सम्पन्न छस्
तैले साथ निभाउदा
कोहिँ सकिन्छ भने
ऊ त केवल
तँलाई नचिनेर, तँलाई सम्मान नदिएर मात्रै सकिन्छ
तँ आलु भन्दा मिल्ने साथी होस्
र त तँ प्रिय छस्
ए रक्सी !
प्रिय रक्सी !
प्रिय साथी !
प्रिय रक्सी !
(कवितामा रक्सीको विशेषता मात्रै उल्लेख गरिएको हो ,तर रक्सीलाई प्रमोट गरेको चाहिँ हैन है ।)