सामान्यतया स्वतन्त्र विद्यार्थी युनियन भन्नाले विद्यार्थीका हकहित र अवसरसँगै सम्बन्धित शैक्षिक मुद्दा र रचनात्मक क्रियाकलाप सन्चालन गर्ने विद्यार्थिहरुको उसकै आधिकारिक संस्थालाई बुझिन्छ । यो संगठन राजनैतिक भन्दा पनि विधार्थीका आवश्यकतालाई केन्द्रमा राखेर सृजना गरिएको हो । तर विद्यार्थी नेतृत्वले समयको गतिशिलतालाइ बुझ्न नसकेर उही पुरातन पद्धतिमै संगठन लैजान खोज्दा स्ववियुको भुमिका र आवश्यकतामा बारम्बार प्रश्न उठ्ने गरेको छ । विद्यार्थी सङ्गठनहरूको इतिहास दोस्रो विश्वयुद्धभन्दा पनि अघिदेखिको छ । दोस्रो विश्वयुद्धमा विद्यार्थी संगठनहरू सैनिकहरूलाई खाना, पानी र विश्वविद्यालयहरूमा सुरक्षा दिन स्वयंसेवकको रूपमा प्रयोग हुन्थे ।
तर युद्ध सकिएसँगै ती संगठनहरूलाई विद्यार्थीमैत्री क्रियाकलापहरूमा रूपान्तरण गर्न थालियो । आजपनी विश्वका अधिकाशं विश्वविद्यालयहरूमा स्ववियुको अभ्यास रहेको पाइन्छ । नेपालको विभिन्न युगान्तकारी परिवर्तनहरूमा पनि विद्यार्थी संगठनहरूको भुमिका उल्लेख्य देखिन्छ । इतिहासलाई केलाउदा नेपालमा विद्यार्थी सङगठनको सुरुवात १९९१ मा नेपाली छात्र संघको नामबाट भारतको बनारसमा भएको थियो । १९९७ सालमा तत्कालिन राणा शासकबाट आफूविरुद्ध लागेको अभियोगमा त्रिचन्द्र कलेजमा अध्ययनरत बिद्यार्थी गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइयो । यसअर्थमा गंगालाल श्रेष्ठ नेपालको पहिलो विद्यार्थी शहिद र समग्र विधार्थी आन्दोलनको प्रेरणाको श्रोत पनी हुनुहुन्छ । त्यसपछी चक्रिदै गएको विद्यार्थी आवेगले २००४ सालको आन्दोलनको स्वरूप लियो जसलाई “जयन्तु संस्कृतम” नामले पनि चिनिन्छ ।
राणा शासकहरू जनताले केही सिकुन जानुन भन्ने चाहादैँनथे त्यसैले देशभर सन्चालित अधिकांश पाठशालाहरूमा केवल कर्मकाण्ड मात्र पढाइन्थ्यो र बिधार्थी पनि केही जाती र सम्प्रदायका मात्र हुन्थे। उक्त आन्दोलन गरेवापत नेपाल सस्कृत छात्रवास बाट ४३ जना विद्यार्थी निष्कासित हुनुपरेको थियो । यसबाट पनि प्रष्ट हुन्छ नेपालमा राम्रो मागको लागिपनी विद्यार्थी पीडित हुनुपरेको इतिहास धेरै पुरानो नै हो । त्यसपछिका हरेक परिर्वतनसँगै विद्यार्थी संगठन र आन्दोलन जोडिएर आउछन् । २०१९ मा राजा महेन्द्रले दलहरूलाई प्रतिवन्ध लगाइसकेपछी आफ्नो विचार र दृष्टिकोण समाजमा लैजाने माध्यम नै विद्यार्थी संगठन थियो ।
२०३६ को जनमतसङ्ग्रह होस् या पहिलो र दोस्रो जन–आन्दोलन विद्यार्थी संगठनहरुको भुमिका प्रशंसायोग्य छ । तर ०६३/०६४ को युगान्तकारी परिवर्तन पछि भने विद्यार्थी संगठनको क्रेज र औचित्य निरन्तर गिर्दो छ । हाम्रा विद्यार्थी संगठनहरूले आफुलाई समयसँगै ढाल्न सकेका छैनन् । २०४६ साल र २०६३ सालमा आन्दोलन समयको माग थियो । शासकबाट आफ्ना अधिकार फिर्ता लिन नारा जुलुस गर्नैपर्ने थियो । अहिले समस्या समाधानको माध्यम त्यो बन्न सक्दैन र होइन पनि । अहिले हरेक विश्वविद्यालयमा १० भन्दा बढी संगठन छन् त्यसैभित्र पनि गुट उपगुट छन् । कहिले कसले बन्द गरेको छ कहिले कसको टाउको फुटाएको छ। दिनप्रतिदिन विद्यार्थी आन्दोलन बदनाम बन्दैछ ।
खासमा त विधार्थि संगठनहरू “आवाजविहीनको आवाज“ वन्नुपर्थ्यो, सुविधाबाट वन्चित समुदायको साहारा बन्नु पर्थ्यो तर यहाँ विद्यार्थी नेतृत्व सबै मुद्दा बारे बोल्छन विद्यार्थिका मुद्दामा मुख चुप्प गर्छन भन्ने आरोप छ। राजनितिक संस्कार सिक्ने माध्याम बन्नुपर्ने ठाउँमा विद्यार्थी संगठन गुण्डागर्दीको केन्द्र बन्दैछन जुन नितान्त निराशाजनक छ। अहिलेको देशको नेतृत्व गरिरहेका बहुसङख्यक नेता विद्यार्थी आन्दोलनबाट उदाएका हुन । विश्वविद्यालय व्यक्तित्व र नेतृत्व विकासको प्रयोगशाला पनी हो । राम्रोसँग कार्यसम्पादन गर्न सवने हो भने, स्वतन्त्र विद्यार्थी युनियन, केवल विद्यार्थीको मात्र होइन समग्र देशकै महत्वपूर्ण अंग बन्न सक्छ । स्ववियुको को भुमिकामा यसरि प्रश्न उठ्नुको महत्वपूर्ण कारण राजनैतिक गतिशिलता नहुनु पनी हो ।
५० वर्षअघि नेपाल विद्यार्थी संघको दोस्रो सभापति हुदै राजनितीमा हाम फालेका शेर बहादुर देउबा अझैपनी सक्रिय राजनितिमै छन्, लिलामणी पोख्रेल , युवराज ज्ञवालीहरू अझै शिर्षत स्थानमा पुग्ने समय कुर्दै छन् । शीर्ष नेतृत्व सदैव आफैमात्र पदमा बसीरहने लोभको सिधा असर समग्र क्षेत्रमा परेको देख्न सकिन्छ । त्यसैले कसैको राजनिती बचाइदिन, नेताको नातागोता आफन्तलाई भर्ति गर्न र बफादारहरूको झुण्ड बनाउन विद्यार्थी संगठन प्रयोग भएकाले अहिलेसम्म निर्वाचित भएतापनी स्वतन्त्र विद्यार्थी संगठनहरूले राम्रोसग काम गर्न सकेका छैनन। लगभग ८ वर्षको पर्खाइपछी २०७३ मा भएको स्ववियु चुनावमा यिनै लुछाचुढी र भागवण्डाले गर्दा त्रिभुवन विश्वविद्यालयका ६० मध्ये २१ क्याम्पसका विद्यार्थीले मात्र आफ्नो प्रतिनिधी चुन्न पाए। देशका बाँकी ११ मध्ये अधिकांश विश्वविद्यालयले स्ववियु निर्वाचन गराउनै चाहादैँनन।
यसले एक त विद्यार्थि लाई हानि गर्छ, जायज माग उठाउने संगठन नै हुदैनन् । अर्को भोलि देशको नेतृत्व गर्ने जनशक्ती उत्पादन हुदैँनन् । यसैबीच त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयका केहि कलेजहरूले स्ववियु निर्वाचनको मिती घोषणा गरिसकेका छन्। अबको केही समयपछी हुने निवार्चन विद्यार्थी नेतृत्वको लागी परिक्षाको घडी पनी हो। समग्रमा हामिले कस्ता व्यक्ती उठाउने, कस्ता व्यक्तिलाई जिताउने त्यसले नै आगामी विद्यार्थि आन्दोलनको कार्यदिशा निर्धारण गर्नेछ। अबपनी उमेदवार उठाउदा यतिपटक ढुङ्गा हानेको, यति दिन जेल बसेको, यती नेताको चाप्लुसी गरेको यस्तो मानकका आधारमा बनाइयो भने स्ववियु चुनाव हुनु वा नहुनुमा कुनै फरक हुने छैन ।
विद्यार्थी नेतृत्वले हरेक आवाजविहीनहरुको आवाज बन्ने प्रत्याभुती दिनुपर्छ। विश्वविद्यालयमा हुने गरेका विकृति विसङ्गतीलाई कानुनी तवरले समाधान गर्न स्ववियुको भूमिका रहनुपर्छ । देशको राजनैतिक विषयमा आवाज उठाउनु राम्रो हो। तर विद्यार्थी नेतृत्व केवल त्यसैतर्फ मात्र केद्रित हुनु राम्रो होइन। देश बनाउन सबैभन्दा पहिला शिक्षा क्षेत्र सुधार आवश्यक छ । नपढेकाहरू कतार साउदी र पढेकाहरू अस्ट्रेलिया, अमेरिका लाग्ने जुन विकराल अवस्था देशमा आएको छ त्यसलाई बेलैमा मनन गर्नुपर्छ । हाम्रा विश्वविद्यालय केवल सैद्धान्तिक ज्ञानका पाठशाला बनेका छन् तिनलाई चाँडोभन्दा चाँडो प्रयोगात्मक पद्धतिमा ढाल्नैपर्छ ।
देशको जिम्मेवार नागरिक र सबैभन्दा सक्रिय जनशक्ती विद्यार्थिहरूले विकृतीहरूको सफाइको सुरुवात आफ्नै कलेजहरूबाट गर्न सके, चुनिएका प्रतिनिधीले पनी कुनै नेताप्रति नभई विद्यार्थीप्रति उत्तरदाही भई काम गर्ने सके बल्ल विश्वविद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियनको सान्दर्भिकता सिद्ध हुने थियो।