साहित्य

आमा 

आमा 

सन्दर्भ : मातार्तिथ औँसी
  • बैशाख ७, २०८० बिहिवार
  • ०६:५९:२४ बजे
  • 5.5K
    SHARES
  • आमा 

    आमा !
    म सानो छँदा
    तिम्रो दूध चरर दुखेर
    कपडा चिसो हुँदै बाग्न थाल्यो भने
    मलाई भोक लागेको थाहा पाएर
    आत्तिदै आउँथेउ खुवाउन
    मेटाइदिन्थेउ मेरो भोक
    अनँगालथेउ मलाई बेस्सरी
    हिडाउँथेउ तातेताते गराउँदै
    देखाउँथेउ संसार जित्ने सपना


    आमा 
    आज हेर त
    तिम्रो ढल्दै गरेको उमेर
    काँधमा जिम्मेवारी देखेर
    बुढेसालले चाउरिएको गाला
    टाउकोमा ऋणको भारी देखेर
    मेरो पनि उसै गरी चरर दुःख छ मन
    आँखाको दिल हुँदै बग्छन्
    बाध्यताको आँशुहरु
    मैले चाहेर पनि
    तिम्रो बुढेसालको सहारा 
    बन्न सकेको छैन् 
    सुख र चैनको निद्रा दिएर
    तिमीले दुःख गर्नु पर्दैन
     भन्न सकेको छैन् 


    म महिनावारी हुँदा
    शरीर दुख्छ, आतिन्छु बेस्सरी
    रोइदिन्छु सबै सामु 
    तर आमा 
    तिमीलाई सुत्केरी बेथा लागेर
    पाठेघरको आठ घर खुल्दासम्म
    घाँस काटेर आफ्नो घर 
    आइपुगेको थिएनौ रे है ?
    तिम्रा रक्ताम्मे पैतालाको दोब
    भोकाएको थकित अनुहार
    पेट र पिठ्युँ को भारी
    प्रशवकालको सिमातित काष्ठसँग
    तिमी  कसरी लड्यौ एक्लै ?
    कसरी खटायौ दुःख ?
    भनिदेऊ न आमा 
    कसरी सह्यौ पहाडभन्दा
    डरलाग्दो कष्ट?

    घाँसको भारी बिसाएको
    केही घण्टामा म जन्मिएको रे
    आमा तिम्रो लागि नी
    भैंसीको गोठ प्रसति गृह
    स्याउला बिछ्याइएको भकारो
    अस्पतालको सैया 
    अनि गोठमा गाडिएको काठहरु
    तागत दिने औषधि रे नी है?
    बेस्सरी बेथाले च्याप्दा
    गोठको काठमा झुण्डिएर
    बल हालेर चिच्याउठेउ रे
    न साथमा डाक्टर
    न साथमा धामी
    मृत्युको भयले कति सतायो ? 
    रगतको खोली कति बगायौ 
    सुत्केरी आलो घाउ 
    कति चाहरायो ? 

    साँच्चै आमा
    तिमीले मेरै लागि 
    मारेकी छौ भोक
    हराएकी छौ निद्रा
    लिलामी गरेकी छौ खुसीहरू
    बिर्सेकी छाँै हास्न
    जति भने पनि सकिदैन
    तिम्रा बलिदानका कथाहरू
    लेख्दा शब्दमा समेट्न सकिन्न
    तिम्रा बारेमा कविताहरु
     

    खै ! आमा
    मैले सपना सारै ठूलो देखें की
    सपनाले म भुई मान्छेलाई देखेन
    मैले कतै बाटो बिराए की
    मेरो संघर्ष पुगेन
    न समय मैले भने अनुसार चल्छ
    न समय अनुसार म चल्न सक्छु 
    रहर त मलाई पनि छ नि 
    खुसीका तारा टिपेर 
    तिम्रो अँगालोमा राखिदिने
    अनि बुढेसालमा 
    तिम्रो टेक्ने लठ्ठी बनिदिने
    तर जति गरे पनि आमा 
    तिम्रा दुःखका दिनहरु  गएको छैन
    केही समय पर्ख है 
    म तिम्रो मुख हेर्न लाएक अझै भएको छैन....


    लक्ष्मी अर्गेजा मगर

    उहाँले बागलुङ पोस्ट डटकमका लागि साहित्यमा कलम चलाउनुहुन्छ ।

    सम्बन्धित समाचार