विचार

नयाँ मोडमा उभिएको पत्रकारिता र राजनीति

नयाँ मोडमा उभिएको पत्रकारिता र राजनीति

  • आषाढ १२, २०८० मंगलवार
  • ०८:५०:०३ बजे
  • 5.0K
    SHARES
  • नयाँ मोडमा उभिएको पत्रकारिता र राजनीति

    मनबहादुर थापा (मनिष)
    पृष्ठभूमि 
    पछिल्लो पाँच वर्षमा मानवीय कारणले होस् वा प्राकृतिक कारण मानव जातिले निकै ठूलाठूला कष्टहरु भोग्नु पर्‍याे  । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले ठूलो र शक्तिशाली राष्ट्रलाई समेत घुडा टेकाईदियो । जसको कारण सिङ्गो विश्व नै आत्मसमर्पण गरेर आइसोलेशनमा बस्नु पर्‍याे  । यसको प्रभाव सवै जसो मुलकुमा पर्‍याे  । अझै भनौ नेपाल जस्तो मुलुक आर्थिक रुपले थिलोथियो नै हुनुपपर्‍याे  । तत्कालको परिस्थिति तार्नका लागि त विभिन्न शक्तिशाली दातृराष्ट्रले दान अनुदान, ऋण लगायतको सहयोग प्राप्त भयो तर लकडाउनको कारण थलिएको आर्थिक क्षेत्र र अहिले भैरहेको तरलता अभावले गर्दा अर्को ठूलो महामारी भैरहेको छ । अरबाैँको बहुवर्षीय ठूला योजनाहरुको ठेक्का र शिलान्यास भए तर निर्माण गर्ने र चलिरहेको योजनालाई सम्पन्न गर्ने स्रोतको विषयमा स्वयम सरकारलाई मेसो छैन । साधारण खर्च अन्र्तगत राष्ट्रसेवक कर्मचारीहरुले सयममा तलब नपाएको गुनासो सुनिन्छ । यता सरकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रम संसदमा प्रस्तुत गरिरहदा वर्तमान आर्थिक संकटबाट पार लाउने ठोस मार्गचित्र ल्याउन नसकेको अर्थविदको भनाइ छ । वर्तमान समममा नक्कली भुटानी शरणार्थी प्रकरणका कारणसमेत अन्तराष्ट्रिय जगतमा नेपालको शिर झुक्ने काम भएको छ । 

    यावत समस्या र अनियमितताको चाङको कारण आम नागरिकहरुमा सरकार र राजनीतिप्रति व्यापक असन्तुष्टि बढेको देखिन्छ । जसको कारण लामो समयदेखि देशको मूलधारको राजनीतिमा देखिएका ठूला पुराना पार्र्टीहरुलाई सच्चिने वा सक्किने विषयमा ठूलै थ्रेट सिर्जना भएको छ । ठूला भनिएका दलहरुले गठवन्धन गरेर निर्वाचनमा भाग लिँदा पनि वैकल्पिक शक्तिका रुपमा स्थापना भएका राष्ट्रिय स्वतन्त्र  पार्र्टीले नराम्ररी पराजित गराई दिईसकेपछि पुराना पार्टी र नेताहरुप्रति आम नागरिकहरुमा निराशा कति रहेछ भनेर प्रष्ट बुझ्न सकिन्छ । परिवर्तन रेडिकल्ली वा छुमन्टर गरे जसरी हुनपर्ने गरी नागरिकस्तरमा बहस भएको देखिन्छ । यसैको प्रभावले गर्दा सरकार, राज्य, राजनीति र यस क्षेत्रमा लाग्ने मानिसहरुलाई हेर्ने दृष्टिकोण फेरिएको छ । यावत प्रश्न उठ्नुमा सामाजिक सञ्जालको उदयसँगैको बढ्दो प्रयोगले पनि भूमिका खेलेको छ भन्ने लाग्दछ । पछिल्लो समय सञ्चारको मुख्य साधनहरु भन्दा बढि सामाजिक सञ्जालहरु प्रयोग हुने र त्यहि आधारबाट आफ्नो धारणा बनाउने विषयले आम पत्रकारिता र राजनीति प्रति फेरिएको धारणा र प्रभावबारे प्रस्तुत आलेख केन्द्रित रहेको छ । 


    राजनीतिप्रति नागरिकको बुझाई 
    देशमा भएको महत्वपूर्ण परिवर्तन यहाँका स्थापित पार्र्टीहरुको नेतृत्वमा भएको हो भन्ने विषयमा पक्कै पनि मतान्तर नहोला । राणाशासनको उत्तारार्धपछि स्थापना भएका वर्तमान ठूला तथा साना दलहरु सामाजिक/राजनैतिक परिवर्तनका लागि मात्र नभएर भौतिक विकासका लागि पक्कै पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अहिले जे भएको छ त्यो पक्कै पनि वर्तमान मौजुदा पार्र्टीहरुकै अगुवाई र नेतृत्वमा भएको हो । यति भन्दै गर्दा नागरिकस्तरमा पक्कै पनि अहिले भएको विकासको प्रगति, राजनैतिक/सामाजिक सुशासन यी सवै अपेक्षित परिवर्तन भएन भन्ने नै हो । यो सबै प्रश्न उठ्नु स्वभाविक नै हो र यस प्रश्नलाई स्वभाविक मानेर राज्य सञ्चालन गर्ने मौजुदा राजनैतिक दल  र नेतृत्वले आफुलाई परिस्कृत गर्नुपर्ने हो । तर त्यसको बदलामा राज्यशक्ति नै देशको नागरिकलाई अनागरिक बनाएर मानव तस्करी गर्ने गरि नीतिगत भ्रष्टचार गर्ने, विभिन्न आयोजनामा अरबौँ भ्रष्टचारमा स्वययम राजननैतिक नेतृत्व र कर्मचारीहरु मुछिएको घटनाहरुले राष्ट्रिय अन्तराष्ट्रिय जगत नै तरंगित बनाउछ । तर केहि बेरमा यी सबै काण्ड/घोटला पानीको फोकाजस्तै भएर हराउछ । यी त प्रतिनिधि घटनााहरु मात्र हुन् । यस्ता घटनाहरुको लिष्ट यत्रतत्र आइनै रहन्छ । देशको नेतृत्वमा रहेकाहरु हुन् या सामान्य नागरिक स्तरमा होस् मौका पाएपछि लामो हात गर्नेहरु सायदै होलान् । यसरी भिभिआइपी  देखि पियनसम्म सम्म प्रधानमन्त्री, मन्त्री देखि सडक कार्यकर्तासम्मको व्यवहार देख्दा मुलुकमा सुशासन र विकासको क्षेत्रले लय समाउला भनेर कहाँबाट आशा पलाउछ र । 

    अर्कोतर्फ राजनैतिक पार्र्टी र नेताहरु देख्दा आम नागरिकमा जुन खालको आशा र श्रद्धा जाग्दथ्यो अहिले त्यो हराएर गैरहेको छ । पार्र्टी सिद्धान्त र विचारबाट करिब करिब पार्र्टीहरु विचलन र स्खलित भएका छन् । नागरिकस्तरसम्म पार्र्टीलाई चलायनमान बनाउनका लागि विभिन्न कार्यक्रम लग्ने, पार्र्टीलाई विचार र कार्यक्रमले स्मार्ट बनाउने, आफ्ना भातृ शुभेच्छुक वा वर्गीय संगठनहरुलाई नियमित अधिवेशन गराउने, टिके र चाकडीबाट नभएर गतिविधि, क्षमता र प्रक्रियासम्वत संगठन र नेतृत्व चल्ने वातावरण गराउने हो भने पक्कै पनि मूलधारका राजनीति लयमा आउने थियो । केहि पार्र्टीहरु स्थापना भएयता दशकौ वर्षसम्म पनि नेतृत्व परिवर्तन हुनु नपर्ने, लोभी पापी नेताहरु पार्र्टी फेर्दै जाने र उनीहरुलाई नै राजनीतिक जोडघटाउ सम्झेर संरक्षण गरेर राख्नाले राजनीति फोहोरी भएको छ, आम नागरिकमा विश्वास गुम्दै गएको छ । 

    वैकल्पिक शक्तिको उदय र प्रभाव 
    मौजुदा ठूला भनिएको पार्र्टी र नेतृत्वप्रति निराशा र विश्वास गुम्दै गर्दा जवरजस्त नागरिकको रोजाई बैकल्पीक शक्ति भैरहेको छ । बैकल्पीक राजनीतिको चर्चा केहि पहिलादेखि भएता पनि स्थापना र चर्चा भने बावुराज भट्टराईको नयाँ शक्ति पार्र्टी, रविन्द्र मिश्र लगायतको विवेकशिल साझा पार्र्टी लगायतको स्थापनाले नयाँ तरङ्ग लियो । तर यी पार्र्टीहरु गएको मंसिर ४ मा भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्म पनि तिक्न सकेनन् । यता २०७९ असार ७ गते मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्र्टीले भने पार्र्टी स्थापना भएको करिव ६ महिनामै ठूला दल भनिएकालाई राम्रै थ्रेट गरेको छ ।  गएको मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ११ लाख ४ हजारभन्दा बढि मत प्राप्त गरेर चौथो ठूलो दल वन्यो । बैशाख १० गते भएको उपनिर्वाचनमा समेत फिल्मी शैलीमा ३ वटा निर्वाचन क्षेत्र मध्ये चितवन र तनहुँको निर्वाचनमा अन्य प्रतिस्पर्धी दलहरुको मत जोड्दा पनि नपुग्ने गरी राष्ट्रिय स्वतन्त्र पार्र्टीका उमेदवारहरु विजयी भए । हामीले सहजै अनुमान गर्न सक्छौ की यी सवै मतदाता अहिलेकै मूलधारका कांग्रेस, एमाले, माओवादी लगायत दलका कार्यकर्ता र मतदाताहरु नै अधिकांश थिए । यी पार्र्टीका सक्रिय र संगठित सदस्यहरु समेत खुलेरै स्वतन्त्र पार्र्टीको प्रचारमा लागे, जिताई पनि छाडे, यत्ति मात्रमा रोकिएको छैन सोहि पार्र्टीको सदस्यता लिने, मौजुदा पार्र्टीलाई थ्रेट गर्दै स्वतन्त्र पार्र्टीको सदस्यता लिएर सामाजिक सञ्जाल मार्फत निरन्तर क्याम्पीयन नै गर्ने क्रम निरन्तर चलिनै रहेको छ । तर यस पार्र्टीको स्पष्ट मार्गचित्र, कार्यक्रम दर्शन नहुँदा यसको भविष्य कति र कस्तो हुनेछ भन्ने शंकाको विषय रहेको छ । 

    सामाजिक सञ्जालले ओझेलमा पारेको पत्रकारिता 
    मूलधारका पार्र्टीलाई डाउन साईजिङ गर्दै वैकल्पिक शक्तिको रुपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्र्टीलाई स्थापित गर्नमा आमसञ्चारको भन्दा पनि सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रह्यो भन्ने लेखकको तर्क छ । विश्वकै इतिहासमा क्रुर शासनको अन्त्य गर्नको लागि होस् वा न्याय, सुशासन, खबरदारी र आवाजविहीनको आवाज वनेर देशको चौथो अंगको रुपमा स्थापित पत्रकारिता पेशामाथि अहिले सामाजिक सञ्जालको प्रयोगकर्ताले चुनौति थपिदिएका छन् । एक अध्ययन अनुसार विगत एक वर्षमा विश्वभर ७.६ प्रतिशतले इन्टरनेट प्रयोगकर्ता बढेर ४ अर्व ७२ करोड पुगेका छन् । जुन विश्व जनसंख्याको ६० प्रतिशत हो । यस्तै साथी, परिवार, सहकर्मी वा ग्राहकहरुसाग सम्पर्कमा रहन इन्टरनेटमा आधारित सामाजिक सञ्जाल साइटहरु प्रयोगमा आएका छन् । 

    फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, भाइवर, ह्बाट्कएप, स्न्याप च्याट लगायतका सामाजिक सञ्जालले व्यक्तिगत रुपमा नभएर हरेक क्षेत्रमा सम्पर्क सम्वन्ध र काम सम्पनन्न गर्नका लागि महवत्पूर्ण भुमिका निर्वाह गरेको छ । सामाजिक सञ्जालहरुमध्ये पनि सन् २००४ को फेव्रुअरीमा स्थापना भएर लोकप्रियता कमाएको फेसवुक ३१ डिसेम्वर २०२१ सम्म फेसबुक मासिक आधारमा २.९१ अरव मानिसहरुले यसको प्लेटफर्म प्रयोग गरेको देखिन्छ । जुन प्रयोगको दर हरेक दिन बढ्दो देखिन्छ । सामाजिक सञ्जालहरुले हाम्रो दैनिक जीवनलाई कसरी प्रभावित पारिरहेको छ भन्ने कुरा दर्साउन विश्वभर जून ३० गते वल्ड सोसल मिडिया डे मनाइन्छ । विश्वको कुनै पनि कुनामा बसेर परिचित तथा अपिरिचित व्यक्तिसंग यो प्लेटफर्म प्रयोग भएको पाइन्छ । एउटा बटम छोएकै भरमा पनि विश्वलाई आफ्नो सामू ल्याउन सकिन्छ । राजनीति, पेशा व्यवसाय, रोजगार, खोज अनुसन्धानको लागि समेत ठूलो सहयोगी बनेको छ सामाजिक सञ्जाल । कोभिडको समयमा अक्सिजन र अस्पतालका शैया खोज्नेहरुका लागि सामाजिक सञ्जालले आशाको किरण छरेको थियो । 

    कोभिडको संकटकालीन र स्वस्थ्य सामाग्री अभावको समयमा फेसबुक, ट्वीटर जस्ता सञ्जालहरुमा आफ्नो समस्या राखेर धेरै मानिसहरुले सामूहिक सहयोग जुटाइरहेका थिए । यस्तो लाग्थो सामाजिक सञ्जाल कुनै बन्द विश्व गाउँ हो । यसबाहेक संकटको घडीमा सरकार र सरोकारवाला निकायहरुमा देखिने अकर्मण्यता, अनियमितता, भ्रष्टाचार एव बेवास्तालाई सामाजिक सञ्जालमा चिरफार गरी दबाब सिर्जना गर्ने काम पनि भइरहेको छ । महत्वपूर्ण जानकारी तथा सूचनाहरु सामाजिक सञ्जालमै उपलव्ध हुँदा मानिसहरुलाईको सञ्चार गर्ने तथा कुनै कुराहरु बुझ्ने क्षमता र शैलीलाई एकदमै फरक बनाइदिएको छ । सामान्य नागरिकहरुको हातहातमा सजिलो गरि सञ्जालन गर्न सकिने र एकआपसमा सजिलै सूचना आदान प्रदान गर्न सजिलो भएको कारण पनि यसको प्रयोगकर्ताहरु धेरै भएका हुन् । आमसञ्चारमा पत्रकार बन्नका लागी विभिन्न योग्यता पु¥याउनुपर्ने र सोहि आधारमा एउटा परिधि र अनुशासनमा रहेर पत्रकारिता गनुपर्ने अवस्था रहन्छ । 

    पत्रकार आचारसंहिता पालना गर्नु पर्ने, मनलाग्दो बायस भएर प्रस्तुत हुन नमिल्ने, सामान्य मान्छेले सजिलै पत्रकारिता गर्न नसकिने र मन लाग्दो सबै कुरा समाचार नबन्ने भएकाले पनि अधिकांश नागरिक स्रोता वा दर्शक बन्नु पर्दथ्यो । सञ्चारको पहुँच नपुग्नेहरु बेखबर बन्नुको विकल्प हुने थिएन । तर अलिले सामजिक सञ्जालको उपलब्धताले मानिसले व्यक्तिगत कुराकानी बाहेक सार्वजानिक सरोकारको विषयमा समेत सहज रुपमा आफ्नो धारणा राख्ने र सामूहिक क्याम्पीयनसमेत सजिलै गर्न सक्ने भएका छन् । सामाजिक सञ्जाल मध्ये पनि फेसवुकको प्रयोगबाट महामारी, ठुलाठुला विपत्तीहरु, राजनीतिक तथा सामाजिक परिवर्तनलाई सहजता दिलाउनका लागि विश्वको विभिन्न कुनामा रहेको नागरिकहरु विच सञ्चार आदनप्रदान संगै समाधानमा सहकार्य गर्न सहज माध्यम बनेको छ । यसरी सामाजिक सञ्जालको प्रयोगले जति राम्रो गर्न सकेको छ त्यति नै विकृती र समस्या पनि पार्ने गरेको छ । सामाजिक सञ्जालमा आएका विषयलाई लिएर आफ्नो धारणा बनाउने र बास्तविकता परिक्षण गर्न कोहि पनि नलाग्नाले गलत घटनाहरु समेत घट्ने गरेका छन् । 

    सामाजिक सञ्जालले पारेको प्रभाव
    सामाजिक सञ्जालको प्रयोगले परिवर्तन र दैनिकीमा सहजता ल्याएको छ । यसले गरेको फाइदाहरु थुप्रै छन् । तर यस आलेखमा यसको प्रयोगले पछिल्लो समय राजनीति र पत्रकारितामा पारेको प्रभावमा मात्र सामान्य चर्चा गर्न खोजिएको छ । २०७९ असार ७ गते मात्र आधिकारिक रुपमा पार्र्टी स्थापना भएर विश्व राजनीतिमा समेत ध्यान खिचेको राष्ट्रिय स्वतन्त्र पार्र्टी सामाजिक सञ्जालको प्रभावको जगमा उभिएको हो भन्ने लाग्दछ । हुन त यस पार्र्टीका अध्यक्ष रवि लामिछाने पत्रकारिताबाट आएको र त्यहि पत्रकारिताबाट कमाएको चर्चाले राजनीतिमा आउन र पत्रकारिताकै समयमा कमाएको चर्चाले गृहमन्त्री सहित बनाइदियो । गृहमन्त्रालय सहित सरकारमा प्रवेश गरेका लामिछानेले नागरिताको कारण सरकार र सांसद पदबाट बाहिरीनुपर्यो तर सफाई पाएपछि फेरि उपनिर्वाचनमार्फत नै झन ठूलो मत सहित अनुमोदन भइदिए । उनी त सांसद भए नै तर उनको लोगोले अन्य धेरै उमेदवारहरु विजयी हुन पुगे । यसो हुनुको कारण सवैभन्दा बढि सामाजिक सञ्जाल प्रयोगकर्ता हुन् भन्ने लाग्दछ । 

    देश भित्र होस् वा देश बाहिरका नागरिकहरुले सामाजिक सञ्जालमा गरेको आक्रमक अभियानको अगाडि अन्य पार्र्टी र व्यक्तिको केहि नलागे जस्तै भयो । सामान्य उदाहरण गएको उपनिर्वाचनमा तनहुँ १ बाट नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका गोविन्द्र भटराई विकासे काम र व्यक्तित्वको कारणले कहिँ खोट लगाउने ठाँउ थिएन । अघिल्लो निर्वाचनको मतभारलाई हेर्ने हो भने पनि वर्तमान सत्ता गठनबन्धनको मतको अगाडि स्वतन्त्र पार्र्टीको गणना नै हुदैन । किनकी सो पार्र्टीको संरचना नै बनेको छैनभन्दा पनि हुन्छ । संरचना र संगठन नै नभैसकेको पार्र्टीको उमेदवार निर्वाचनकै संघारमा कांग्रेस नै छोडेर गएका राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेको स्वर्णिम वाग्ले थिए । तनहुँको निर्वाचन क्षेत्रमा सायद पहिलो चोटि निर्वाचनकै अभियानमा पुगेका स्वर्णिमको अगाडि पानी मान्छे भनेर चिनीने, नेविसंघ र स्ववियुको अध्यक्ष, पार्र्टीको केन्द्रिय सदस्य विकासवादी नेताको रुपमा चिनीने गोविन्द्रको केहि लागेन । यसबाट पनि विकास गरेर, काम गरेर, कार्यकर्ता र जनतासंग रिझिएर नेता हुने भाष्यलाई समेत परिवर्तन गरिदिएको छ । जेल नेल खाएको, सर्वस्व हरण नै हुने गरि सामाजिक र राजनीतिक क्षेत्रमा लाएका सवै नेताहरु अहिले बेकामे, भ्रष्टको ट्याग भोग्नुपरेको छ । 

    के साँच्चै अवस्था यस्तै हो त भन्ने विषयमा विश्लेषण गर्न जरुरी देखिएको छ । यस्तै पत्रकारिता क्षेत्रबाट नै आएका रवि लामिछानेले गृहमन्त्रीबाट बाहिरिनुपरेपछि मूलधारका मिडिया र पत्रकारमाथि गरेको चुनौति चानेचुने थिएन । पत्रकार सम्मेलनमा उनले गरेको प्रस्तुती र दिएको चुनौतिले केहि दिन त आमसञ्चारको क्षेत्रले ठूला ठूला अक्षरमा छापे तर त्यो केहि दिनमै पानीको फोका झै हरायो । रविकै पक्षमा सामाजिक सञ्जालले ठाउँ पायो । यस अर्थमा पनि देशका मूलधारका मिडिया सामाजिक सञ्जालमा नागरिकको टिप्पणीले छायाँमा पर्नुपर्यो । यो एउटा पछिल्लो घटना मात्र जोडिएको हो । यस्ता घटना नेपालमा मात्र नभएर विश्वभरी नै नयाँ ट्रेनको रुपमा विकास भएर गैरहेको अवस्था छ । सामाजिक सञ्जालमा आउने विषयले आम मानिसलाई भ्रम सिर्जना गर्ने गरेको पाइन्छ । यहि भ्रमका कारण नराम्रा घटनाहरु पनि हुने गरेका छन् । 

    निष्कर्ष 
    सामाजिक सञ्जालको जति राम्रो उपादेयता छ त्यतिकै अभिशाप पनि बन्दै गएको छ । जसका कारण माथि चर्चा गरेजस्तो राजनीति र पत्रकारिताको क्षेत्रमा मात्र नभएर हरेक जसो क्षेत्रमा चुनौति थपिदिएको छ । नेपालमा मात्र नभएर विश्वका विभिन्न देशले यसलाई सहि व्यवस्थापन गर्न विभिन्न कानुन ल्याएको छ । कुनै कुनै देशहरुले त यसलाई प्रतिबन्ध नै लगाएका छन् । सन् २०१० मे ३१ मा पाकिस्तानमा पैगम्बर मोहम्दको आपत्तिजनक कार्टुन तस्वीर बनाउने प्रतियोगिताले इस्लामी धार्मिक भावनामा ठोस पुगेकोले यस व्लगलाई प्रतिवन्ध लगाइएको थियो । फेसवुकलाई चीन, भियतनाम, इरान, साउदी अरेविया, ब∙लादेश, सिरिया, उज्वेकिस्तान लगायतका देशमा सेन्सरसिप लगाइएको छ । श्रीलंकामा मे २०१९ मा मुस्लिम विरोधी दंगा पछि फेसवुक र ह्बाट्सएप दुवैलाई रोकेको थियो । 

    यस्तै विभिन्न संघसंस्थाहरुमा आफ्ना कामदारहरु काममा मात्र ध्यान देऊन भनेर यस्ता नेटवर्कमा सेन्सरसिप लगाइएको थियो । नेपालमा समेत केपी शर्मा वलीको सरकारले ’सूचना प्रविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधयक २०७५‘ ल्याएको थियो । तर प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका दलले यस्तो कदम अधिनायकवादी र गलत भएको भनी विरोध गरेका थिए । जुन विधयकमा सरकारले नागरिकको फोन ट्यापीङ गर्न सक्ने, सामाजिक सञ्जालमा कसैले कसैलाई मान मर्दन हुने गरि प्रस्तुत गरेमा ५ वर्ष जेल र १५ लाख रुपैया सम्म जरिवाना तिर्नुपर्ने लगायतको व्यवस्था थियो । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा साढे २ करोडको आसपासमा इन्टरनेटको पहुँचमा रहेका छन् । 

    यसरी दैनिक रुपमा सामाजिक सञ्जाल तथा इन्टरनेटको अनावश्यक प्रयोगले आम नागरिकलाई गलत मार्गमा ढकेलिरहेको छ । बालबालिकाहरुलाई त झनै गलत प्रभाव पारेको देखिन्छ । अहिले जति पनि अपराधहरुको घटना सार्वजानिक भएका छन् त्यसमा सामाजिक सञ्जाल कै बढि प्रयोग भएको देखिन्छ । यसर्थ पनि सामाजिक सञ्जाल सहि ठाँउमा प्रयोग नहँुँदा चुनौति थपिएको छ । अनि अहिले सामाजिक सञ्जालको प्रयोगले राजनीतिमा जुनखाले पपुलिष्ट मोमेन्ट आएको छ । त्यो भनेको संकतको समाधान र परिवर्तननको आधार नभई असन्तुष्टिको प्रकतिकरण हो भन्ने लाग्दछ ।  तर पनि सरकार सञ्चालन गर्ने, नीति निर्माण गर्ने सवै खाले सरोकारवालाहरुले यसका आएका सकारात्मक पक्षलाई आत्मसाथ गर्दै सामाजिक सञ्जालको कारण थपिएको चुनौतिलाई व्यवस्थापन गर्न जरुरी देखिन्छ । अनि पत्रकारिता गर्नेहरुले समेत आफ्नो शाख जोगाउनका लागि परिस्कृत भएर लाग्नुपर्ने देखिन्छ । राजनीति र पत्रकारिता एक अर्काका परिपूरक जस्तै हो यसमा गुम्दै गएको साखलाई जोगाउन लागि समय परिस्थिति अनुसार मेहनत गर्नुपर्ने देखिन्छ । 


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार