विश्वव्यापीकरण र उजाडिएका गाउँबस्तीहरु

विश्वव्यापीकरण र उजाडिएका गाउँबस्तीहरु

  • आषाढ १७, २०८० आइतवार
  • २०:४३:१३ बजे
  • 7.5K
    SHARES
  • विश्वव्यापीकरण र उजाडिएका गाउँबस्तीहरु
    प्रतिभा आचार्य
    सुन्दर, शान्त, स्वच्छ वातावरण, घरहरु टाढा, मनहरु नजिक भएर वसेका गाउँवस्तीहरु आजभोलि मानिसहरुका रोजाइमा कम पर्दैछन् । छोटो समयमा कम रोजाइमा परेका अथवा वसिरहेका वस्तीहरु पनि खाली हुँदै गइरहेका छन् । यहि अवस्थाबाट गुज्रिएको एउटा गतिलो उदाहरण हो बागलुङ जिल्लाका पश्चिम भेगका गाउँवस्तीहरु । निसीखोला, बडिगाड, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका गाउँवस्तीहरु अहिले आएर रित्तिदै गइरहेका छन् । एकीकृत वस्ती विकास सम्बन्धी कार्यविधि २०७७ ले जोखिममा परेका समुदाय, आर्थिक रुपमले विपन्न, लोपोन्मुख समुदाय, बाढी पहिरो पीडित, भुकम्प पीडित, सुकुम्बासी पहिचान गरी वस्ती स्थानान्तरण गरी एकीकृत वस्ती विकास गरिने छ भनिएको छ, तर कार्यविधि अनुसारका वस्तीहरुको व्यवस्था नहुदा नहुँदै पनि पश्चिम बागलुङका गाउँवस्तीहरु आजभोलि खाली हुँदै गएका छन्। 
     
    आजभोलि बाध्यता र सहरमा बस्ने रहर धेरै मानिसमा जागेको छ । छोरामान्छेहरु कमाउनका लागि विदेश जानुपर्ने वाध्यता छ । विदेशमा घरका मान्छेहरुले धेरै थोरै पैसा कमाउदावित्तिकै परिवारका सदस्यलाई सहरको मोह जागेको भेटिन्छ । गाउँवस्तीमा रहेका उर्वर भूमिलाई वेवास्था गरी, बाझो बनाई शहरतर्फ आकर्षित हुनाले नेपालको कृर्षि उत्पादन त यसै कम भएको छ, त्यसमाथि मिलेर वसेको सामाजिक वस्तीहरु पनि विथोलिएको छ । समाजमा हुर्किएको सामाजिक, सास्कृतिक पक्षहरु, संस्कारहरु पनि विस्तारै लोप हुने अवस्थामा पुग्दै छन् (उप्रेती, २०७८ पृ.६२) । परिवारका एक दुई सदस्यहरुको विदेशको कमाइमा रमाउँन वा आवस्यकता पूरा गर्न सहरममा झरेका मानिसहरु कै कारण आजभोलि गाउँहरु सून्य हुँदैछन् । गाउँका सामाजिक, सास्कृतिक धरोहरहरु मेटिदै छन् वैदिक, सास्कृतिक मूल्य मान्यताहरुलाई आधुनिकताले थिचेको छ । गाउँवस्तीहरु खाली भएका कारण राज्यको एकीकृत वस्ती योजना पनि होइन् । गाउँमा कुनै जोखिम भएर पनि होइन खाली सहरको मोह, सुख सुविधा, शिक्षा र विलासिताको मोहका कारणले यस्तो हुन गएको कुरा ढोरपाटन नगर पालिका वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र पुनले बताउनुहुन्छ । 
     
    आर्थिक अभाव पन्छाउन, परिवारका एकभन्दा वढि व्यक्तिहरु लामो समय सम्म विदेशमा रहने, छोटो समयका स्वदेश फर्किएर पुन विदेशमै बिताउदै आएका छन्् । त्यस्तो परिवार र वालवालिकाहरुको आवश्यकता र ईच्छाहरु पुरा गर्न केहि सहज अवस्था श्रृजना हुन्छ । घरेलू कामदाहरु माथि वेला वेलामा लागेको प्रतिवन्धका कारण घर फर्कन नपाउने, घरपरिवारसंग भेट्न नपाउदा,अन्तराष्टिय श्रम आप्रवाशनमा कामदारले प्राप्त गर्ने ज्ञान,सीपको लाभवाट वञ्चित भएका छन् । अर्कातिर आमा र वालवच्चा वीचको दुरी वढ्दै जाँदा सम्बन्धहरु निस्क्रीय हुँदा सम्वन्धहरु शिथिल र निश्क्रिय वन्दै गएका छन् । महिला मानव अधिकार हनन् भएका छन् । परिवार कमजोर वन्दै गए । त्यसको मुल्य मान्यता पनि परिवर्तन हुँदै गएको छ  (पन्त, २०७९) ।
     
    विदेशमा गएका परिवार सहर पस्नुको कारण रहर होइन वाध्यता हो भन्ने भनाइ पनि सुन्न पाइन्छ । बालबच्चाको शिक्षा, स्वास्थ्य, घरमा श्रम गर्ने युवाहरु सबै कमाउन र अध्ययनका लागि सहर पसेका, गाउँमा बृद्ध वृद्धा र केटाकेटीमात्रै हुने अवस्था भएको र  मर्दा पर्दासमेत सहयोग नपाइने भए पछि गाउँ वस्न नसकिने भयो अनि दुखम सुखम यो एउटा सानो कोठामा वस्न बाध्य भएको गुनासो निसीखोला ६ भलकोट स्थायी घर भई बुर्तिबाङमा वस्दै आउनु भएकी धन कुमारी घर्तीले बताउनु भयो । गाउँघरमा कतिपय बृद्ध बृद्धा कठिन अवस्थामा जीवन यापन गरिरहेका छन् । छोरो विदेश पसेपछि बुहारी नाती नातिना लगेर बोडिङ पढाउने नाममा सहर पस्ने र बुढा बुढीहरु मात्रै गाउँघरमा वस्नुपर्ने अवस्था सिर्जना भएको छ  । बुढेसकालका साहारा होलान भनेका छोरा छोरीहरु नै सहर पस्न थाले । केही गर्न नसक्ने अवस्थामा पुगेका बृद्धा बा आमालाई छोरा छोरी र बुहारीले सहरतिर लैजान चाहादैनन् भने अर्कोतिर आफ्नो घरमा हालिमुहाली गरी मालिक बनेर बसेका बा आमा भाडाको एउटा कोठामा खुम्चिएर, साँघुरिएर बस्न रुचाउँदैनन् । यसले जेनेरेसन ग्याप देखाएको र हाम्रो समाज कतातिर गएको छ भन्ने अनुमान गर्न नसकिने अवस्था सिर्जना भएको छ । 
     
    पछिल्लो पिढी यावत जिवेते, सुखम जिवेते, ऋणम् कृत्वा घृतम् पिवते (चाणक्य नीति) अथवा जसरी पनि ऋण काढेर भए पनि सुखमा जिउने सोच बढेको पाइन्छ, तर यो परिस्थितिले पछिगएर हाम्रो समाजमा ठूलो समस्यादेखा नपर्ला भन्न सकिन्न । बजारको महङ्गी र फजुल खर्चका कारण विदेशमा कमाएको पैसाले खासै उपलब्धि दिएको पाइदैन । उमेर वड्दै जान्छ, रोगव्याथाले च्याप्न थाल्छ, विदेशको नोकरी छुट्न सक्छ, कमाइ सकिन थाल्छ, सहरको बसाइ र काम गर्ने वानी विग्रिएको हुन्छ अनि सहरमा वसेर खर्च पु¥याउन नसकिने, गाउँमा गएर केही गर्न नसकिने स्थिति धेरैको हुने सम्भावना देखिन्छ । अर्कोतर्र्फ विदेशमा कमाएको पैसाका कारण सहर पसेका श्रीमतीहरुको गलत हर्कतका कारण थुप्रै परिवार वेघरवार, सन्ततीको विचल्ली, समाजमा नराम्रो असर र थुप्रै मानिसहरु मानसिक रोगी हुने अवस्थामा पुगेका उदाहरण भेटिएका पाइन्छन् (राई र अन्य, २०७०, पृ. ४६) । यो स्थिति सिर्जना हुनुमा देशको राजनीतिक अस्थिरता, नेपालको सामुदायिक विद्यालयमा शिक्षाको अस्तव्यस्तता, स्वास्थ्य उपचारको अभाव, आदि हुन सक्छन् । 
     
    आजभोलि नेपालका गाउँवस्तीमा  पहिलेको तुलनामा विकासै नभएको भने होइन । घण्टौँ हिडेर ल्याउनु पर्ने पानी अहिले घर घरमा ल्याइएको छ । बिजुली बत्ती, टेलिफोन टावर, नेट, इमेल, कच्ची भए पनि बाटोघाटो आदि उपलब्ध भएकै छ । यति हुँदा हुँदै पनि गाउँ वस्ती र उर्वर भूमिलाई त्यागेर सहर लाग्नु पक्कै पनि सामाजिक, सास्कृतिक, प्रकृतिक ढगले राम्रो होइन । सबै आवश्यकीय वस्तुहरुको उपलब्धता भएको ठाउँ नै हुदँैन । गाउँमा पाइने अर्गानिक खानेकुरा, स्वच्छ हावापानी, स्वास्थ्य र प्राकृतिक जीवन शैली, आइआफन्त, छरछिमेकी, दाजुभाइ, इष्टमित्रको सरसहयोग, आत्मीयता सहरमा खोजेर पाउन मुस्किल छ । सहरमा भौतिक सुविधा त केही होलान तर प्रदुषण, एक्लोपन, साघुरिएको बसाइँ, स्वार्थी दुनिया, असहिष्णु व्यवहार, पैसामुखी जीवन, सेवा भावको अभाव मानिसले भोगेका छन् । यस्तो परिस्थितिको सामाना भने मानिसहरुले एक दुईवटा समस्याका कारण नै अन्य समस्या भोग्न बाध्य छ । गतिलो स्वास्थ्य उपचार, गतिलो शिक्षा, रोजगारीका अवसर गाउँमा नहुदा मानिस सहरतिर भागिरहेको छ । यी कुरामा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गहिरो ढंगले नसोच्ने हो भने भोलिका दिनमा झन गाउँ नै खाली हुने स्थिति नहोला भन्न सकिन्न (गौतम, २०५८, पृ. १७) । 
     
    पश्चिम बागलुङका गाउँवस्तीहरु रित्तिनुका थुप्रै कारणहरु छन् । आफ्ना सन्ततीको भविष्यलाई प्रमुख मानेर शिक्षा, स्वास्थ्यका लागि मानिसहरु गाउँ छोडिरहेका छन् भन्ने तर्क गर्नेहरु पनि भेटिन्छन् । गाउँवस्तीमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्था नहुनु, स्वास्थ्य उपचारका लागि खाली सहरका अस्पतालमा धाइरहनु पर्ने समस्याले सहरमै वस्न वाध्य हुनु,वैदेशिक रोजगारीका कारण आम्नानी राम्रो गर्नु र भएको पैसा सहरका घर घडेरीमा लगानी गर्नु र वसाइ सर्नु जस्ता समस्याले मानिसहरु गाउँ छोडिरहेका छन् । कृषिमा लगानी गरेअनुसारको प्रतिफल नपाउनु, प्रविधिको प्रयोग गर्न नसक्नु, श्रम गर्ने मानिसको खाचो हुनु वसेर खाने अनि सहरबाटै किन्नु पर्ने भएपछि सहरमै वसेर खाने भन्ने सोचको विकास भएको कारण पनि गाउँ छोडेर सहर पस्नेको लर्को लागिरहेका छ । अर्कोतर्फ पढेलेखेका, विद्धान, सीप जानेकाहरु पनि गाउँ छोडिरहेका छन् ।रोजगारीका अवसरहरु गाउँमा नहुनु र सहरमा केही सम्भावनाका हुनुले वसाइ सराई गर्न वाध्य भएका मानिसहरु पनि छन् ।  गाउँघरमा आधुनिक विकासका पूर्वधारहरुको निर्माण हुन सकिरहेको छैन् । आधुनिक र सम्पन्न जीवन शैली जीउनको लागि मानिसहरु सहरमा सरिरहेका छन् । गाउँमा बढी श्रम गर्नु पर्ने फोहोरी भइने सोचका कारण मानिसहरुमा सहरको रहर जागिरहेको पाइन्छ ।  सहरमा वसाई सरेका छिमेकीहरु , अन्य मानिसहरु सुकिला मुकिला भइ हिडेको देखासिकीले पनि मानिसहरु सहरमा बसाइ सर्न थालेका छन् । 
     
    गाउँवस्तीहरु खाली छन् । बनेका घरहरु भत्किन थालेका छन् । ठूल ठूला खेतबारीहरु बाझो पल्टेका छन् । रोटेपिङ, चर्खेपिङ खेल्ने, रोधी, दोहोरी वस्ने, गाउँमा कुनै पाहुना आए रातीसम्म सबैजम्मा भएर गफ गर्ने ती गाउँहरु आजभोलि सुनसान र डरलाग्दा बनेका छन् ।  ती रमाइला हिजोका गाउँवस्तीहरु रित्तिन नदिनका लागि थुप्रै उपायहरु अपनाउन सकिन्छ ।शिक्षा र स्वास्थ्यका लागि सहर पस्ने अवस्थालाई रोक्नको लागि गाउँमा नै शिक्षा र स्वास्थ्यको उचित व्यवस्था मिलाइनु पर्छ ।राज्यले गाउँवस्तीमा विभिन्न उद्योग धन्दा खोलेर राजगारीका सम्भावनाहरुलाई खुल्ला गर्नुपर्छ ( एकीकृत वस्ती विकाससम्बन्धि कार्यविधि, २०७७) । युवाशक्तिलाई विदेश पलायनबाट रोक्ने विभिन्न किसिममा उपायहरु ल्याउनु पर्छ । गाउँवस्तीमा कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने, नयाँ नयाँ किसिमका खेती बालीका सम्भावनाको लागि राज्यले वजेट, विऊ, योजना, उत्पादित वस्तुको बजारीकरण आदिको व्यवस्थापन गरिदिनु पर्छ । गाउँवस्तीमै वस्नसक्ने एकीकृत वस्ती विकासको योजना बनाइ कार्यान्वयन गरिनु पर्छ । गाउँवस्तीमा बाटो, नेट, विद्यालय, खानेपानी अन्य आवश्यकीय वस्तु र सेवाहरुको व्यवस्थापन गरिनु पर्छ । 
     
    गाउँवस्तीमा धेरै सम्भावनाहरु भएतापनि राज्यले गाउँको विकासमा ध्यान नदिदा अनेकौ समस्याहरु निम्तिएका छन्् । रोजगारी, आर्थिक अवस्था, शैक्षिक अवस्था, भौतिक अवस्था आदिका कारणले गाउँवस्ती रित्तिदै छन् । यो अवस्था सिर्जना हुन नदिन राज्यले बेलैमा ध्यान दिनु पर्छ । 
     
    सन्दर्भसामग्री सूची 
    उप्रेती, कैलास, ओझा, नेत्रकुमार (२०७८). समाजशास्त्रको परिचय. देउराली प्रकाशन प्रा.लि. ।
    गौतम, टिकाराम(२०५८). सामाजिक अनुसन्धान पद्धति,  विद्यार्थी पुस्तक भण्डार । 
    ढोरपाटन नगरपालिका (२०७९). घरधुरी सर्वेक्षण प्रतिवेदन. ढोरापाटन नगर पालिका. बुर्तिबाङ, बागलुङ । 
    नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभाग (२०७८). राष्ट्रिय जनगणना, नेपाल सरकार ।
    नेपाल सरकार, (२०६६). लैङ्गििक समानता तथा सामाजिक परिवेशीकरण नीति. संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय. नेपाल सरकार ।
    नेपाल सरकार, एकीकृत वस्ती विकास सम्बन्धी कार्यविधि (२०७७). नेपाल सरकार । 
    पन्त, सरोजराज (२०७९).युवा पलायन र बढ्दो रेमिटान्स मोह, धौलागिरी जागरण दैनिक, आदर्श सन्चार ।
    राइ, राजकुमार र तिमिल्सिना, माधवप्रसाद (२०७०). सामाजिक परिवर्तन र विकास अध्ययन, एकेडेमिक बुक सेन्टर । 
     
     


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार