मैले
तिमीलाई जिताउन
तिम्रो चुनाव चन्हमा
भोट मात्र गरेको होइन
मेरो विवेकमा स्वस्तिक छाप लागाएर
मत पेटिकाको बाक्सामा
मत पत्रसँगै मेरो मती खसालेकी हुँ
महिनौ भइसक्यो
तिमी हराएका छौं
तिमीसँगै मेरो मत र मती
दुवै हराएको छ ।
तिमी खुब फूर्तिका साथ भन्थ्यौ नी
म गरीब दुःखीको भगवान हुँ !
भन अहिले कुन मन्दिरमा छौं ?
गुफा, गुम्बा की कुन मस्जिदमा छौ ?
तिमी त गरीबको मात्र होइन
धनीहरूको पनि भगवान रहेछौ नी
कहाँ कहाँ खोजुन्न् तिमीलाई
जवाफविहीन छ, कानुनी निकाय
राजा विहिन छ तिम्रो दरबार
मालीविहीन छ तिम्रो बगैंचा
पैसाविहीन छ बचतकर्ताको खाता
तिमी एक्लै होईन
तिमीसँगै फरार भएको छ
अरबौंको बिटा
तिमीसँगै फरार भएका छन्
पीडित हरुको निद्रा, हासो र खुशी
तिमीसँगै गुमनाम भएको छ
जनताको गास, बास अनि जिवन भर बगाएको पसिना
साँच्चै मेयर साप
पैसा कहाँ सकियो ?
जनताले जम्मा गरेको पैसा
आफ्नो लोकप्रियताको लागि
खोली बागाउदा सकियो ? की,
कार्यकर्ताको मुखमा माड लगाउँदा सकियो ?
चुनावको बेला भोट किन्दा सकियो ? की,
दानवीर भएर सहयोग गर्दै हिँड्दा सकियो ?
के ले डुबायो तिमीलाई ? बोटलको पानीले डुबायो ? की,
नानीको जवानीले डुबायो ?
मैले यत्ती सोध्न पाउँछु कि नाई ?
मैले तिमीलाई कर तिरेर पालेको थिए
सोध्न पाउनु पर्छ
चुनावमा भोट हालेको थिए
मैले सोच्न पाउनु पर्छ
आज समाचार हेर त
तिम्रै कारण सिङ्गो ढोरपाटनले बदनामी सहेको छ
सहकारी प्रतिको विश्वास
घट्दै गएको छ
म लज्जित छु
मेरो नैतिकताले हालेको एक भोट
ठगी काण्डमा फरार भएको छ
तिमी अग्लिन खुब रुचाउने मान्छे
फेरि कस्ले लडायो यसरी
हेलिकप्टरमा आकाश आकाश उडने तिमीलाई
समयको बयलगााडाले
तानेर भुइँमा लडाएको हो ? की,
राजनीतिमा प्रतिशोध राख्नेहरूले
षड्यन्त्र गरेर लडाईका हुन ?
मैले बुझ्न सकेको छैन
मेरो एक भोटले तिमीलाई
लुट्न बल दिएको हो ? की,
तिमीले गरेको कर्मले फल दिएको हो ?
तिमीलाई थाहा छ
हिँड्दा चिप्लिएर लड्नु
सकिनु होइन
तिमी उठ्नु पर्छ
धेरै उम्लिए पोखिन्छ
अब तिमीले सिक्नु पर्छ
भयो लुकामारी नखेल
नेपालको कानुनसँग
अब नभिज बचतकर्ताहरुको
आँशुको बलेनिमा
आऊ फिर्ता गरिदेऊ न
जनताको भोक, निद्रा, र पसिना
लगाइदेऊ न
पीडितको घाउमा मलम