कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिन

कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिन

  • भाद्र २८, २०८० बिहिवार
  • १४:००:१४ बजे
  • 10.3K
    SHARES
  • कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिन

    रोशन थापा मगर
    हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइँदैछ । बुवाहरूको चर्किएको घाउमा मलम लाउन पाए बुवाहरूलाई सदा सदा खुसी र सुखी पाउन पाए हरेक सन्तानको कर्म पनि पूरा हुन्थ्यो होला पक्कै ! बाहरूको मलिन अनुहारमा प्रकाशले छाउन पाए । आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । पगकजकुशे औँसी भाद्र कृष्ण औँसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्न आवश्यक पर्ने कुश उखेलिन्छ ।

    कुशे औंसी लाई बुवाको मुख हेर्ने औंसी भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको संझना गरियो, गुरु पूर्णिमामा गुरुको संझना गरियो भने आजको दिन पिताको सम्मान, संझना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा , कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।

    चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवा । शायद शब्दले ब्याख्या गर्न सकिन्न, तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला ! जे होस आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौँ ।

    “यी छोराछोरी बढ्लान, कमाई गर्लान, दूधभात देलान मलाई“ भनेर हरेक आमाबावुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन, सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान, माया गरेर राख्लान भन्ने आशा हुन्छ । एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी बन्ने उत्कट चाहना र आधा राम्रो बुवा(आमा बन्ने अभ्यासमैं बित्छ, कर्तब्यको यो जीवन स्वरुपमा बुवा-आमाको महत्व धेरै हुन्छ ।

    एउटा बच्चाले सफा र फोहोर जान्दैन, लगाएको लूगामै पनि दिशापिशाब गरिदिन्छ र ति सबै फोहोरहरुलाई सफा गर्दै बुवा-आमाले छोराछोरीहरुलाई नुहाइधुवाई पुनः सफा कपडा लगाइदिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुवाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदम्मै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । हाम्रो मातापिता प्रतिको जिम्मेवारी हामीले वहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन प्रगाढ बनाउँदछ ।

    कुशै औंशीका दिन पिताको भौतिक उपस्थिती हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन । आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश वर्ष दिनसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घरघरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पाप मुक्त भइन्छ भन्ने मान्यता छ ।

    हरेक धर्ममा आ–आफ्नै चलन छ तर चलन जेसुकै भएपनि बुवाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरुकेही पनि हैनौं, हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरु हाम्रा मातापिताबाट धेरै नै नजिक हुन्छ, ति सपना र सम्भावनाका प्रदायक, जीवन श्रृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुवाहरुलाई स्मृती ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार