मुस्कान पुन
हेर त,
विभेदका कर्कश आवाजहरु
सुन्दा सुन्दा तिम्रा ती कलिला कानहरु
विकृत भएकाछन्
र चुपचाप चुपचाप मौन बसिरहदा
तिम्रा ती ओठहरु अचेल झन् झन् डरले
काम्न थालेकाछन्
त्यसैले तिमी बोल्न सिक अब
शरीरको मोल तोकेर छातीमा पौडिन खोज्ने,
पितृसत्तात्मक मानसिकता बोकेर कुमारीत्व उजाड्न खोज्ने
त्यस्ता नपुंसकहरुका विरुद्ध
तिमी बोल्न सिक अब
तिमी होइनौ रामायणको सीता
न त हौ तिमी महाभारतको द्रौपदी
जसलाई सजाइयोस् पैतालामा
र अल्झाइयोस् नारी धर्मको झुठो भ्रममा
तिमी त एक्काइसौं शताब्दीको
चेतनशील नारी हौ
जसले शिक्षाको मुटु छामेका छौ
जसले समानतालाई राम्रोसँग चिनेका छौ,
समाजका कुना कुनाका भ्रमहरु चिर्दै
तिमी बोल्न सिक अब
नरोउन् तिम्रा निहत्था सपनाहरू अब
लगाइदेऊ सपनाहरुको फाँट
र उमार्न थाल अब समानताका बोटहरु
फुलाउन थाल अब स्वतन्त्रताका फूलहरु
तिमी नारी हुनुभन्दा
र म पुरुष हुनुभन्दा पहिले
हामी मानव हौँ
मलाला युसुफजईलाई हेर
आङसाङ सुकीलाई हेर
र हेर आफूलाई र जलमग्न बनाइदेऊ
क्रान्तिको ललकारले तिम्रो विभेदी समाज
र म यही भन्छु फेरि,
तिमी बोल्न सिक अब
नारी,तिमी बोल्न सिक अब
तिम्रा हातमा ती सुन्दर देखिने चुराहरु
मलाई हतकडी झैँ लाग्छन्
तिमीलाई आराम दिलाउछु भन्ने छाउगोठ
म कुनै झ्यालखाना झैँ देख्छु
र देख्छु मुर्दाहरु सुताउने मसान घाट झैँ
शिक्षित समाजको बिल्ला भिरेर
न्याय चपाइरहेको
इज्जतको चोली च्यातिरहेको
कट्टर यथास्थितिवादीहरुका विरुद्ध
तिमी बोल्न सिक अब