म सानो छँदा
खाना खाइसकेपछी
थाल चाटेर, थाल मै हेरेँ भने
आफैलाई देख्थेँ
धुलाम्य अनुहार
गालामा लट्पटिएको सिगान
लट्टा परेको खैरो कपाल
अनि त्यो खुसी
त्यो चन्चलता प्रष्ट देखिन्थे
तर अहिले ऐना पुछेर हेर्छु
हड्डी र मासु देख्छु
म आफुलाई कहिलै देख्दिन ।
बच्चामा
डन्डी बियो खुब खेलिन्थ्यो
अहिले म बियो भएको छु
परिस्थितिको डन्डीले
खुब हिर्काउँछ
उफ्रिन्छु, टिक लाग्छु,
खाल्डोमा पस्छु
मानौ मेरो नियति नै खस्नु हो
म चुपचाप खस्छु ।
घरको कालो कसौंडीमा
खुसी पाकिरहेको हुन्थ्यो
अनि पर ओडार मुनी
कुटिनी बुढीले खाना पकाउथिन्
हामी खाएर अघाउथ्यौँ
घरको मक्किएको बलोमा
आमाको पटुकी बाढेर
चचहुई-चचहुई गर्दै
फन्को लगाउथ्यौँ
जुनकीरी बालेर
भविष्य खोजिन्थ्योँ
कागजको डुंगामा चढेर
समुन्द्र पुगिन्थ्योँ ।
दसैँमा
अरुले नयाँ कपडा लगाउँदा
मैले आफ्नो आङ
धेरै पटक हेरेको छु
दिदीहरुलाई सानो भएको
लुगा पाउँदा पनि
मैले खुसी हुँदै फेरेको छु
जूम्रा र लिखाहरुले
टोकेर खुब सताउँथे
घाममा नुहाएर मारेको दिन
आनन्द को निद्रा लाग्थ्यो
अहिले रहर र सपनाहरुले
खुब सताउ छन्
ती दुबैलाई मारेको प्रत्येक दिन
म आफू पनि मरिरहेको हुन्छु ।
म
खुसीहरुसँग लुकामारी
अहिले पनि खेल्छु
मलाई छक्याएर
लुकेको छ खुसी
खोजेको हुँ
पुरानो फुर्लुङ र थुन्से भित्र
घरको आलमाली र खेतको
आलिहरुमा
बा ! का पसिना र
मेरा प्रमाणपत्रहरुमा
कतै नभेटेपछि मिसिएको हुँ
देश सराप्नेहरुको भिडमा
अनि पसेको हुँ मुग्लान ।
अहिले मलाई
समयमै सफलताको
हत्तासो समाउन नसक्दा
अभावको मार्ताेलले खुब हिर्काउछ
भित्रसम्म दुख्ने गरि
मैले मट्टीतेल थप्न
संघर्ष गरिरहेको छु
तेतिन्जेलसम्म
हुरी नचलोस है भगवान
मेरो घरको दियो निभ्ने गरि ।