संगम कुमार घर्ती
पृष्ठभूमि
विश्वमा छापाखानाको विकास र विस्तार हुँदै पत्रकारिताले एक खालको उचाई कायम गर्दासम्म पनि नेपालमा पत्रकारिताको सुरुवात हुन सकेन । मोतीराम भट्टले विक्रम संवत १९४२ मा गोर्खा भारत जीवन नाम पत्रिका प्रकाशित गरेको र पत्रकारिताको सुरु भएको भन्ने गरिन्छ । १९५५ नरराजहरुले प्रकाशित गरेको सुधासागर नेपालमै प्रकाशित पहिलो पत्रिका मान्ने गरिएको छ । विक्रम संवतको १९५८ वैशाख २४ गतेदेखि गोर्खापत्र साप्ताहिक प्रकाशित भएको इतिहास भेटिन्छ । मूलतः नेपालको पत्रकारिताको जहानियाँ राणा शासन विरुद्धको संघर्ष संगसंगै विकास हुन थालेको देखिन्छ ।
अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लागेको बेला प्रजातन्त्रको पक्षमा वकालत गर्नका लागि र नागरिक समक्ष राणाहरुको कुकृत्यको जानकारी गराउने माध्यम पत्रकारिता बनेको थियो । २००६ सालमा विराटनगरमा आकाशवाणी स्थापना गरी २००७ साल कात्तिक २८ गते तत्कालिन विद्रोही नेपाली काँग्रेसले नेपाल प्रजातन्त्र रेडियो सञ्चालन गरेर विद्रोहको पक्षमा माहोल निर्माण गर्ने काम गरेको भेटिन्छ । यसरी हेर्दा नेपालको पत्रकारिताको सुरुवातसंगै राजनीतिक संघर्षका चरणहरु अगाडी बढेको देखिन्छ । त्यसले गर्दा पनि पत्रकारिताको मुख्य विषय राजनीतिक विषयवस्तु भएको पाइन्छ । एक खालले भन्नुपर्दा नेपालको पत्रकारिताको विकासक्रम मिसन पत्रकारितासंगै भएको हो भन्न सकिन्छ ।
२०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर पञ्चायती व्यवस्था लागू गरेपछि स्वभाविक रुपमा वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका कुराहरु ओझेलमा परे । २०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि छापा खाना खुल्नेहरु बढ्न थाले पत्रकारिताको छापा विद्युतीय सञ्चार माध्यमहरु खुल्न थाले । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनसत्ता हातमा लिएपछि प्रेस स्वतन्त्रता फेरी कुण्ठित हुन पुग्यो । २०६२/०६३ को जनआन्दोलनको सफलता र जनयुद्धको अवतरणसंगै बनेको नेपालका अन्तरिम संविधानले प्रेस अभिव्यक्ति स्वतन्त्रलाई दह्रोसंग स्थापित ग¥यो । त्यसकारण पनि त्यसपछि सञ्चारमाध्यमहरु खुल्नेक्रम कैंयौ गुणाले बढ्यो ।
पत्रकारिताको सुरुवात २०६२/०६३ सम्म आईपुग्दा राजनीतिक परिवर्तनको समय भएका कारण सञ्चार सामग्रीको मुख्य विषयवस्तु पनि यीनै थिए । त्यसपछिको १० वर्ष संविधान निर्माणको सवालमा देश अल्झियो । संविधान जारी हुँदै गर्दा संघियता, धर्मनिरपेक्षेता, लगायत नयाँ कुरा समावेश हुँदा त्यो मुद्दालाई गहिरोसंग विश्लेषण गर्न कताकता चुकेको भान हुन्छ । राजनीतिक परिवर्तनको यही चक्करमा अधिकाँस सामाजिक मुद्दाहरु ओझेलमा परिरहे । पछि पारिएका समुदाय, क्षेत्र, लिङ्गको आवाज मुखरित हुन सकेन । अहिले सञ्चारमाध्यमको संख्या हेर्ने हो भने नेपालमा पत्रकारिताको चरम विकास भएको मान्न सकिन्छ । पत्रकारिताको विकाससंगसंगै पत्रकारहरुको हक अधिकारका लागि नेपाल पत्रकार संघको वि.सं. २०१२ चैत १६ गते जन्म भयो । सबै पत्रकारहरुको छाता संस्थाको रुपमा रहेका यो संघलाई वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । हाल महासंघमा १३ हजारभन्दा बढी सदस्य रहेका छन् ।
बागलुङको पत्रकारिता
बागलुङमा २००८ सालबाट पत्रकारिताको सुरुवात भएको इतिहास भेटिन्छ । २००८ सालमा धौलागिरिमै पहिलो पटक ओमप्रसाद गौचन, गोविन्दलाल श्रेष्ठ लगायतले हस्तलिखित पत्रिका ‘सहीबाटो’ प्रकाशित गरेर पत्रकारिताको सुरुवात गरेको पाईन्छ । पञ्चायतको मुखपत्रको रुपमा धौलागिरि-२०२१ गोविन्दलाल श्रेष्ठको सम्पादनमा प्रकाशित भएको पाईन्छ । ११ वर्षसम्म सञ्चालन भएको उक्त पत्रिकाको कृष्णप्रसाद दुःखी र स्वामी रमेशानन्द केशरीले पनि सम्पादन गरेको गरेको पाईन्छ । २०२७ सालमा बागलुङबाट गोरखापत्रका लागि समाचार पठाउन सुरु गरेका पत्रकार विदुर खड्काले २०२८ साल असारमा धौलागिरि नामक साप्ताहिक पत्रिकाको प्रकाशन प्रारम्भ गरे ।
यो पत्रिका २०५८ सालमा दैनिक बन्यो पछि न्यू मिडियाको रुपमा अनलाईन सञ्चारमाध्यमको सुरुवात भएपछि अनलाईनको रुपमा परिणत भयो । २०३६ सालमा पद्मनाथ शर्मा पौडेल प्रधान सम्पादक र हप्रिसाद श्रेष्ठ र पार्वती श्रेष्ठ प्रकाशक रहेको खबर कागज पत्रिका प्रकाशन भयो । समाचारको विषयलाई लिएर पञ्चायतले यो पत्रिका बन्द गरायो । पञ्चायतकालको समयमा बागलुङका पत्रकारहरु रमेशानन्द केशरी, विश्वनाथ रेग्मी, कृष्णरा शर्मा, राजेशचन्द्र राजभण्डारीले राजधानीबाट प्रकासित हुने विभिन्न पत्रपत्रिकामा समाचार पठाउने काम गरे । पञ्चायतकालको अन्तगसंगै बागलुङमा विभिन्न नामका पत्रपत्रिकाहरु प्रकाशित भए । कालिगण्डकी, श्री धौलागिरि, न्यू धौलागिरि, सूर्य साप्ताहिक, बागलुङ साप्ताहिक, सम्भावना, धौलागिरि आवाज, धौलागिरि स्टार, उषाकालिन, बागलुङ पत्र, नवदिव्य दृष्टि, ढोरपाटन लगायतका पत्रकात्रिका प्रकाशित भए ।
२०६० को दशकसम्म प्रकाशित भएका पत्रपत्रिकामध्ये ढोरपाटन दैनिक र धौलागिरि स्टार साप्ताहिक अहिले पनि प्रकाशन भैरहेको छ । अन्य पत्रपत्रिका बन्द भए । १० वर्षे जनयुद्धको समयमा युद्ध पत्रकारिताको अभ्यास पनि बागलुङमा भयो । महेन्द्र घर्ती संगम लगायतले तत्कालिन विद्रोही नेकपा माओवादीको कुराहरु जनता समक्ष ल्याउन ठूलो भूमिका खेले । बेनी आक्रमण भएपछि बागलुङका पत्रकारहरु हरिनायण गौतम, प्रकट कुमार शिशिर, राजबिन थापाले त्यहाँ पुगेर देशका विभिन्न सञ्चारमाध्यमका लागि रिपोर्टिङ गर्ने काम गरेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहीले कु गरेर राज्यसत्ता आफ्नो हातमा लिएपछि एफएम रेडियोहरुमा समाचार भन्न रोक लगाईयो ।
पत्रपत्रिकाहरुले पनि निकै मुस्कील झेले । तत्कालिन समयमा सञ्चालित धौलागिरि एफ एम र ढोरपाटन दैनिक लगायतका पत्रिकाको कार्यकक्षामा तत्कालिन शाही नेपाली सेनाले कब्जा गरे । (धौलागिरिको पत्रकारिता : पेज २३, २४, २५, २६, २७, २८, २९, ३०,३१ । धौलागिरिको पत्रकारिताः हस्तलिखितदेखि डिजिटलसम्म । दिल शिरीष ।)
बागलुङमा पत्रकारिताका सुरुवात भएको वि.सं. २००८ सालदेखि यता हालसम्म बागलुङ जिल्लालाई आधार मानेर २९ वटा पत्रपत्रिका सञ्चालनमा आएका छन् । (धौलागिरिको छ दशकीय पत्रकारिता : प्रेम छोटा ।) यीमध्ये हाल तीन वटा दैनिक पत्रिका र ६ वटा साप्ताहिक पत्रिका सञ्चालनमा रहेका छन् । दैनिक र साप्ताहिक पत्रिकाले सहप्रकाशसनको रुपमा आफ्नो अनलाई संस्करण सुरुवात गरेका छन् भने केही अन्य अनलाईनहरु पनि दर्ता भएर अहिले सञ्चालनमा आएका छन् । २०६१ सालमा धौलागिरि एफ एफमको स्थापना भएपछि अहिलेसम्म बागलुङ जिल्लामा १० वटा एफ एम रेडियो स्थापना भएका छन् । एउटा टेलिभिजन सञ्चालनमा छ । अहिलेको न्यू मिडियाको रुपमा स्थापित अनलाईन सञ्चारमाध्यम आधा दर्जन बढि स्वतन्त्र रुपमा सञ्चालनमा छन् । त्यसका अलावा विभिन्न पत्रपत्रिका, रेडियोको सहप्रकासनको रुपमा झण्डै एक दर्जन अनलाईनहरु सञ्चालनमा आएका छन् ।
बागलुङको पत्रकारिताको गोल्डेन ऐरा
वि.सं. २०६०-७० को दशकलाई बागलुङको पत्रकारिताको गोल्डेन ऐराको रुपमा लिन सकिन्छ । यो बीचमा बागलुङमा थुप्रै व्यवसायिक सञ्चारमाध्यमहरु स्थापित भए र व्यवसायिक पत्रकारिताको पनि विकास भयो । बागलुङमा पत्रकारिताको प्रारम्भ भएको झण्डै ५० वर्ष यहाँको पत्रकारिता राम्रोसंग हुर्कन बढ्न पाएन । त्यो बीचमा गरिएका धेरै जसो पत्रकारिता मिसन पत्रकारिता थियो भनेर भन्दा गलत हुँदैन । २०६० सालपछि पत्रकारिता पेशालाई व्यवसायिक बनाउने गरी सञ्चार माध्यम सञ्चालनमा आए र पत्रकारिता पेशाले पनि व्यवसायिक रुप धारण गर्ने कामको सुरुवात ग¥यो ।
२०६० सालमा ढोरपाटन दैनिक र २०६१ सालमा धौलागिरि एफ एफ सञ्चालनमा आएपछि बागलुङमा व्यवसायिक पत्रकारिताको सुरुवात भएको मान्ने गरिन्छ । त्यस अगाडिको करिब पाँच वर्षको अवधीमा विभिन्न समयमा प्रयास गरिए पनि जनयुद्ध र ज्ञानेन्द्र शाही घोषणाले अप्ठ्यारोमा पा¥यो । २०६२/०६३ को जनआन्दोलनको सफलतासंगै बागलुङमा सञ्चारमाध्यम सञ्चालन गर्ने होडबाजी चल्यो । यसले व्यवसायिक पत्रकारितालाई नै आफ्नो मूल पेशा बनाउने पत्रकाहरुको संख्या बढायो ।
यही समयमा स्थापित भएका तीन वटा दैनिक पत्रिका, १० वटा एफ एफ रेडियो र टेलिभिजन अहिले पनि सञ्चालनमा रहेका छन् । केही साप्ताहिक पत्रिका थपिएका छन् । नयाँ सञ्चारमाध्यमको रुपमा अनलाईन पत्रिकाहरु सञ्चालनमा आएका छन् । यही समयमा पत्रकारितामा आएका दिलीप पौडेल, प्रकटकुमार शिशिर, भाषा शर्मा, दिल शिरीष, मोहराज शर्मा अहिले राजधानीमा बसेर मूलधारको पत्रकारितालाई नेतृत्व गरिरहेका छन् । राम थापा राससको स्थायी भएका छन् । बागलुङको पत्रकारिता अहिले पनि यही समयमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका पत्रकारहरुको भरथेगमा धानिएको छ ।
वर्तमान अवस्था
बागलुङमा अहिले तीन वटा दैनिक पत्रिका, ढोरपाटन दैनिक, मुक्तिक्षेत्र दैनिक, धौलागिरि जागरण दैनिक, ६ वटा साप्ताहिक धौलागिरि स्टार, कालिका, अग्रसर, परिसूचन, जननिगरानी र गलकोटपत्र साप्ताहिक अहिले नियमित प्रकाशित छन् । बागलुङ बजारमा तीन वटा एफ एफ रेडियो धौलागिरि एफ एम, सयपत्री एफ बागलुङ एफ एम, बुर्तिबाङमा सामुदायिक रेडियो ढोरपाटन, सामुदायिक रेडियो परिवर्तन र बुर्तिबाङ एफ एफ, खर्बाङमा रेडियो सारथी, गलकोटमा गलकोट एफ एम, बरेङमा रेडियो बिहानी र कुश्मीसेरामा सुभेच्छा एफ एम रहेका छन् ।
धौलागिरि टेलिभिजन, स्वतन्त्र अनलाईनहरु नयाँ विश्व, बागलुङ खबर, हिडन खबर, बागलुङ पोष्ट, मूल कुरा, नेपाल सञ्चार, ढोरपाटन टाईम्स, मूल कुरा, इलाका खबर, बडिगाड अनलाईन लगायतका अनलाईन सञ्चालनमा छन् । सहप्रकाशनसको रुपमा ढोरपाटन न्यूज, आदर्शसञ्चार, धौलागिरि एफ एफ लगायत अनलाईन रहेका छन् । दर्ता नभई सञ्चालन भएका अनलाईन र युट्युब च्यानलहरुको संख्या त्यो भन्दा बढि छ । यी सञ्चार माध्यमहरुमा ६ दर्जनबढि पत्रकार सञ्चारकर्मी कार्यरत रहेका छन् । उनीहरुको रोजीरोटीको मुख्य कर्म सञ्चारकर्म नै हो ।
पत्रकार महासंघको सदस्यता प्राप्त पत्रकार बागलुङमा १६० जना छन् । नेपाली पत्रकारिताको जग नै मिसन पत्रकारिताबाट सुरु भएको हो र बागलुङमा पनि पत्रकारिताको विकास त्यसरी भएको पाईन्छ । २०६२/०६३ को जनआन्दोलनपछि भने पत्रकारिताले व्यवसायिक रुप धारण गर्ने प्रयास गरिरहेको छ । बागलुङमा पनि भर्खर व्यवसायिकतातर्फ पत्रकारिता बामे सर्नेक्रम सुरु भएको छ । यही समयमा कोभिड—१९ का कारण अरु क्षेत्र भन्दा धेरै प्रभावित बन्न पुग्यो सञ्चार क्षेत्र । व्यवसायिक यात्रामा अगाडि बढ्न कोसिस गरिरहेको बागलुङको पत्रकारिता कोरोनाका कारण थला पर्ने अवस्थामा पुग्यो ।
दुई वर्ष अगाडि बागलुङबाट दुई वटा सहकारीले झण्डै दुई अर्ब रुपैयाँ बढि रकम कुम्ल्याएर हिँडे । त्यसका कारणल पनि बजारमा मन्दीको अवस्था सिर्जना भयो । देशमा देखिएको आर्थिक मन्दी र दुई सहकारीले गरेको बचत अपचलनले बागलुङमा आर्थिक गतिविधि बेस्सरी प्रभावित हुन पुग्यो । बजारको सुस्तताले सञ्चार माध्यमको विज्ञापनमा ठूलो कटौती भयो । जसले गर्दा अहिले फेरी सञ्चारमाध्यमहरु धानिन निकै कठिन अवस्थामा रहेको छ । पछिल्लो ६/७ वर्षयता बागलुङको पत्रकारितामा नयाँ पत्रकारको आगमन निकै न्यून भएको छ भने विगतमा पत्रकारिता गर्दै आएका पत्रकाहरु पनि रोजरोटीका लागि पलायन हुनेक्रम बढ्दो छ ।
पत्रकारिता क्षेत्रलाई राज्यले चौथो अंगको रुपमा स्वीकार गरेको छ । तर सरकार र यसका निकायहरुले चौथो अंगको रुपमा व्यवहार भने गर्न सकिरहेका छैनन् । नयाँ पत्रकारको आगमन नहुने र पुराना पत्रकारका पलायनले भर्खर व्यवसायिक रुप धारण गर्दै गरेको बागलुङको पत्रकारिता फेरि एक पटक संकटमा पर्ने त होईन? भन्ने प्रश्नहरु उठ्न थालेका छन् । सूचना प्रविधिको विकासले गर्दा हिजोका दिनमा भन्दा आज पत्रकारिता कामका हिसाबले धेरै सजिलो भएको छ । प्रविधिसंगै पाठकले पढ्ने, स्रोताले सुन्ने र दर्शकले हेर्ने सामग्री निर्माणको आवश्यकता खड्किएको छ । राम्रो जनशक्तिलाई पर्याप्त जीवनयापन गर्न पुग्नेगरी तलब उपलब्ध गराउन नसक्ने यहाँका सञ्चारमाध्यमका लागि समस्या छ भने अर्कोतर्फ खोजे जस्तो जनशक्ति नपाउने अवस्था सिर्जना हुँदै जान थालेको छ ।
सन्दर्भ सामग्री : धौलागिरिको पत्रकारिताः नेपाल पत्रकार महासंघ बागलुङ/धौलागिरिको ६ दशकीय पत्रकारिता : प्रेम छोटा । विभिन्न अनलाईनमा प्रकाशित लेख ।