पाठेघर

पाठेघर

  • श्रावण १३, २०८१ आइतवार
  • ०८:२९:२८ बजे
  • 14.4K
    SHARES
  • पाठेघर

    हामी हुर्की सकेपछी
    फाटेको हो जाले डोको 
    मक्किएको हो हाम्रो कोक्रो 
    च्यात्तिएको हो 
    आमाको गुनिउ र चोलो 
    चाउरिएको हो 
    आमाका रसिला गाला
    अनि लाम्टिएको हो
    हामीलाई बचाउने
    जिम्मेवारी बोकेको
    आमाको एक जोडा स्तन !

    आमा रजस्वला भए लगत्तै 
    हरेक वर्ष गर्भवती बनेको रे
    वर्षाउते बच्चाको भार 
    थेग्न नसक्दा
    पाठेघरको जग
    आफ्नो जमिन छोडेर 
    कति तल झर्यो होला ?
    हाम्रा प्रत्येक लात्तीहरुले
    कति भत्काए होलान 
    पाठेघरको भित्ताहरु ? 
    कति बजारिए होलान् 
    दर्जनौं मुड्कीहरु 
    हातका नङ्राहरुले
    कति कोतारे होलान
    ति कलिला भित्री आवरण  ?

    त्यसैको परिणाम हुन सायद
    आज तिम्रो
    पेटीकोट भिज्नेगरी बग्छन 
    सेतो पानीका भलहरु
    तल्लो पेट बेस्सरी दुखेर 
    गोडा सम्म पुग्छन 
    पिप मिसिएका रक्तधाराहरु
    तिम्रो उमेर बढ्दै जाँदा 
    खस्दै गएको आङ
    अप्ठ्यारो गरि झुन्डिरहेको छ
    उपचार पाउने आशाको त्यान्द्रोमा 
    अनि तिम्रो 
    पाठेघरको मुखको क्यान्सरले
    कुरिरहेको छ  
    पाठेघरको मुख हेर्ने दिन !

    साच्चै !
    स्याहार पाएन भने
    मान्छे बस्न छोडेको घर जस्तै 
    पाठेघर पनि
    भत्किन्छ, पुरानो हुन्छ र चुहिन्छ
    फाट्छ, मकिन्छ र कुहिन्छ 
    यी सबै तिम्रा खसमले 
    चाल पाउछ्न् कि पाउदैनन् ?
    तिम्रो छोराछोरीहरुले
    आमा ?
    भत्किएको आगन पहिला बनाउने कि 
    खसेको तिम्रो आङ पहिला बनाउने ?
    साँघुरो घरको दु:ख बढी छ कि 
    तिम्रो पाठेघरको दुखाई बढी छ ?
    यस्तै प्रश्नहरु सोध्न 
    आउछन् कि आउदैनन् ?

    आमा !
    यदि पस्न मिल्थ्यो भने नि !
    हेर्ने थिए तिम्रो पाठेघर भित्र,
    मेरा पैतालाको दोबहरु
    टाली दिन्थे मैले भत्काएका
    पाठेघरका भित्ताहरु
    लिपी दिन्थे सेतो पानी रसाउने
    चारै कोछाहरु
    रङ्गाईदिन्थे फुलबुट्टे बुट्टाहरुले
    दशैँमा घर रङ्गाए जसरी
    सधैँ रोपिदिन्थे फुलहरु
    अनि रङ्गीचङ्गी बनाईदिन्थे
    तिहार आए जसरी ।


    लक्ष्मी अर्गेजा मगर

    उहाँले बागलुङ पोस्ट डटकमका लागि साहित्यमा कलम चलाउनुहुन्छ ।

    सम्बन्धित समाचार