विचार

बद्लिदो दसैँ

बद्लिदो दसैँ

  • आश्विन २१, २०८१ सोमवार
  • १४:२२:११ बजे
  • 3.0K
    SHARES
  • बद्लिदो दसैँ

    वर्ष दिनमा आउने नेपालीहरुको महान पर्व  दसैँ पछिल्ला केही वर्ष यता नेपाली चाडपर्वहरुमा मौलिकता हराउँदै गएको छ । विकृति र विसंगतिले हाम्रा चाडपर्वहरुलाई प्रवाबित पारेको छ । हाम्रो समाजमा अहिले पनि यस्ता झन्डै  ९ दशक  दसैँंहरु भोगिसकेका नागरिकको  छन् । यसपटक हामीले ती पात्र खोजेका छौं जसले त्यतिबेलाको दसैँं र अहिलेको दसैँंलाई कसरी हेर्नू भएको छ ? यस मध्ये एक हुनुहुन्छ, फलेबास नगरपालिका ११, पागराङ, पर्वत निवासी ८५ वर्षिया पुन्य प्रसाद पान्डे अहिलेको दसैँंको परिवेश देख्दा अचम्म लागेको अनुभव ब्यक्त गर्नु हुन्छ।

    पहिले गाउँमा दसैँं आउँदा १ महिना अघिदेखि  घर सफाइमा जुटिन्थ्यो । रातो, कालो र सेतो माटो (कमेरो) लिन विहान सबेरै गाउँबाट घण्टौं टाढा जानू पर्दथ्यो । हप्ता दिनसम्म लगाएर घरमा लिपपोत गरिन्थ्यो । हिजोआज इनामेल, चुनाको प्रयोग गरिन्छ । ढलानका घरहरुमा विभिन्न रङको कारण मौलिकपन गुमेको छ । ढलान घरहरुले गर्दा लिपपोत गर्ने चलन हराइ सकेको छ  ।’

    उहाँका अनुसार त्यतिबेला ढिकीमा धान, चिउरा कुटिन्थ्यो ।  मकै, गहुँ पिस्नका लागि जाँतो र पानीघट्टहरु प्रयोग गरिन्थ्यो । घरघरमा ढिकी,जाँतो हुनु अनिवार्य थियो । हिजोआज यस्ता पुराना सामानहरु प्रयोग हुन छाडिएका  छन् । गाउँबाट ढिकी, जाँतो, पानीघट्टहरु क्रमश हराउदै गएका छन् । विस्थापित भएका परम्परागत सामग्रीहरुको ठाउँमा अहिले आधुनिक मेशिनहरु स्थापित भएका छन् । पुरानो प्रविधीको प्रयोग झण्जटिलो भएकाले मानिसहरु अहिले नयाँ प्रविधिमा रम्न थालेको पाइन्छ  ।

    “ढिकी जातोहरुमा धान कुट्न,  चिउरा कुट्न,चामल, गहुँ, मकैआदी पिस्नकोलागि भिड लाग्थ्यो । नयाँ लुगा लगाउन, मासु, चिउरा, घुमाउने रोटी खान दसैँं कुर्नु पर्दथ्यो । यस्ले गर्दानै दसैँको महत्त्व छुट्टै थियो ।  गाउँबाट कोही कोही विदेशी लाहुरे आउँदा , जागिरेहरु शहरवाट आउँदा गाउँमा निकै चर्चा चल्थ्यो । गाउँमा जुवातास खेल्नेहरुको जमात पनि यी पर्वमा निकै जम्थ्यो । दसैँं तिहारमा जाँतेपिङ्ग, लिङ्गेपिङ्ग, रोटेपिङ्ग टोलै पिच्छे हालिएका हुन्थे । केटाकेटीहरु विहानदेखि बेलुकासम्म पिङ्गहरुमा झुम्मिएका हुन्थे” उहाँले पुराना अनुभव सुनाउनु भयो ।

    उहाँका अनुसार हिजोआजका दसैँंमा परम्परा  झल्किंदैन, आधुनिककताको प्रभाव परिरहेको छ । आधुनिक मानिसहरु आफ्नै पाराले जीवन व्यतित गरिरहेका छन् । को कहाँ के गर्दछ, कहाँ  जान्छ, कहाँबाट आउँछ केही मतलव र मेसो हुन छाडिएको छ  । हिजोआज  सधैं दसैँं, सधैं तिहार,तिज हुने गरेको छ । अहिलेको अवस्था हेर्दा ती दिनहरु एकादेशका कथा बनेका छन् ।

    यस्तै गरि  भगवती पान्डेले आफू बुहारी हुँदाका दिनहरु कति कठोर थिए । चप्पल लगाएर ल्याएको पानी चल्दैनथ्यो । घरमा सासू ससुरा र गाउँमा मुखियाले भनेका कुराहरु काट्ने आँट कसैलाई पनि हुँदैनथ्यो । तर हिजोआज पुरै फेरिएको परिवेश छ । कसैले कसैलाई टेर्दैनन् । सबै आफ्नै संसारमा रमाएका छन् । देशविदेशमा भएका नाती नातिनाहरुले सधै फोन गर्छन् । आउन नपाइने भयो भन्छन् । साह्रै नरमाइलो लाग्छ । अहिले मान्छेले मान्छेलाई देख्दा पनि डराउनु पर्ने अवस्था आएको छ । 

    दसैँं मनाउनु हाम्रो संस्कृति जोगाउनु भएकोले सबैले होस पुराएर दसैँंको नाममा आएका विकृतिहरुको अन्त गर्नु पर्दछ । दसैँ लगाएतका पर्व मनाउने आफ्नो गच्छे अनुसार हो, अरुको देखेर त्यसको पछि लाग्नु हुँदैन भन्ने सल्लाह उहाँको छ । माथिका दुबै जनाको अनुभवबाट  बालकालको सबैभन्दा रमाइलो चाड दसैं रहेको पाइन्छ ।

    यो पत्तिकार पनि गाउँमा हुर्केको गाउँले व्यक्ति गाउँको दसैँँले मेरो पुरानो स्मृति ताजा गराउँछ। यदाकदा बुवाआमाले आफुलाई रमाइलो लाग्ने दसैं आउँदा यो चाड किन आउँछ ?  भन्दा झर्को मान्ने म सोच्थेँ यति रमाइलो चार्डपर्वलाई आमा किन गाली गर्नुहुन्छ। अहिले बुझ्दै छु गरिबी र अभावको कारण आमाको मुखबाट यी वाक्य निस्केका रहेछन्। त्यतिबेला दसैँं राम्रो लाउने मिठो खाने चाडको रुपमा बुझेको थिएँ। बुवाआमाले दसैँंमा नयाँ कपडा ल्याइदिनु हुन्थ्यो सायद वर्षभरि नयाँ कपडा किनिँदैनथ्यो।

    बालकालको दसैँं अत्यन्तै रमाइलो हुन्थ्यो। हामी कैयौं चोटी दसैँं आयो खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, भनेर खेलिरहन्थ्यौँ। टीकाको दिन गनेर औंला भाचिन्थ्यो। घटस्थापनादेखि शुरु हुने दसैँंमा देविको पुजा गर्ने दुर्गा सप्तसतिको पाठ गर्ने, बुवाले पुजा कोठाको कुनामा राखेर दुर्गा पुज्नु हुन्थ्यो। दुर्गा पुज्ने अर्थ थाहा थिएन त्यतिबेला। दुर्गा देवी हुन् भन्ने मात्र थाहा थियो। बिहान बेलुका बुबा आमाले पूजा गरेको सम्झना छ। बुबाले पाठ पूजा गर्दा के भन्नु हुन्थ्यो कुनै अर्थ बुझ्दैनथेँ। तर दसैँं आउँदा सार्है रमाइलो र मन आनन्दित हुन्थ्यो।

    घर नजिकको ठूलो गरामा लिङे पिङ राख्ने चलन थियो । यसलाई पिर्के पिङ पनि भनिन्थ्यो। गाउँमा दसैँंको अवसर पारेर बाटो मर्मत गरिन्थ्यो। गाउँका सबै व्यक्ति मिलेर मूल बाटो मर्मत गर्ने चलन थियो। दसैँंको अवसरमा कतै रोटे पिङ राख्ने चलन गाउँमा थियो। घरमा पिर्के पिङ राखियो भने शान हुने गरथ्यो। दसैँंमा भूइँ छोड्नुपर्छ भन्ने मान्यताले पिङ हाल्ने चलन थियो। पिङ हालेर प्रत्येक बेलुकी गाउँका तन्नेरी युवायुवतीहरु नाचगान गरेर रमाइलो गर्ने चलन थियो।पिङ बनाउँदाको कथा झनै  रमाइलो छ। पिङको लागि बाँस बोक्न, बाबियो खोजेर लठ्ओ बनाउन गाउँघरका सबै तन्नेरीदेखि सबै लाग्नुपथ्यो।
     
    पहिलेको भन्दा हिजोआजका चाडपर्वमा हुने रमाइलो फेरिएको छ। पहिले पहिले दसैँंका बेलामा गाउँका मान्छे जम्मा हुन निकै समस्या थियो तर दसैंमा धेरै मानिस जम्मा हुन्थे । अहिले यातायातको सुविधा भएता पनि पैसा कमाउनकै लागि देश भित्र र बाहिर रहेकाहरूलाई गाउँमा आउन निकै सकस पर्ने गरेको छ ।

    घरमा धान चामल नभए पनि किन्न गाह्रो  हुन्थ्यो किनेर खाने मानिसलाई गरिब भनी हेपिन्थ्यो र राती लुकेर किन्नु पर्दथ्यो । आजभोलि जस्ले धेरै किनेर खायो त्यसलाई धनी मानिन्छ । अहिले हरेक कुरामा सजिलो भएकोले अहिलेका चाडपर्वमा बढी रौनकता देखिने गरेको छ। तथापि पहिलेको पर्व मनाउने सैली र अहिलेकोमा निकै फरक रहेकोले मौलिकता गुम्दै गएको छ । त्यसैले हाम्रो मौलिक परम्परा जोगाउन हामी सबैले समयमा ध्यान दिन अति आवश्यक छ ।


    सराेजराज पन्त

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार