विचार

च्या खानु भो ? 

च्या खानु भो ? 

  • मंसिर २२, २०८१ शनिवार
  • १४:०३:५७ बजे
  • 4.8K
    SHARES
  • च्या खानु भो ? 

    बिहानै उठ्दा साथ सबैभन्दा पहिले आँखा नखोल्दै मोबाइल खोल्नु पर्छ हामीलाई । मोबाइल खोल्यो प्रियसी, हितैसी होस् या अन्य मित्रहरुसँग वार्तालापको पहिलो कुरा नै च्या खानु भो ? बाट सुरु हुन्छ । उताबाट पनि त्यस्तै प्रश्न या उत्तर आउछ । एसएमएस होस् या फोनमा होस् ।  चिया खानलाई पसलमा दुध किन्न गयो उताबाट पसलेले प्रश्न गरिहाल्छ ,“चिया खानु भो ”? जाडो यामको सर्वव्यापी प्रश्न । हुन त नेपाली व्याकरणलाई मान्ने हो भने, चिया खाने होइन पिउने हो, तर आजको दिनसम्म मैले चिया पिउछु भन्न जानेको छैन । मेरा मित्रहरुले पनि चिया खान्छन्, पिउँदैनन् । चिया खाने कि पिउने कहिल्यै बहस गरेनन् । ब्र्यथको बहस के गर्नु भनेर होला ?

    जाडो याममा शहर बजारमा सबैभन्दा बढी प्रयोग गरिने वाक्य हुनुपर्छ ‘चिया’ । चियामा हुने थियानिन तत्वले स्वाद दिन्छ । त्यस्तै क्याफिन नामक रसायनले थकान कम गराउँछ र जागर दिन्छ । नियमित रुपले चियाका सेवन गरेमा हृदयघात, मधुमेह, मष्तिस्कघाट जस्ता प्रणघातक रोग निको हुने विभिन्न अनुसन्धानले देखाएको छ । चियाको इतिकास हेर्दा पाँच हजार वर्ष पहिले चिनका एक बादशाहाले रोगबाट बच्न पानी उमालेर पिउने बानी बसाल्न चियाको सेवन गर्ने गरेको र बिस्तारै जापान हुदैँ विश्वभरी फैलिएको हो । अहिले संसारभर साझा पेय बनेको चियाको इतिहास नेपालमा भने त्यति लामो छैन । अग्रेजहरुले डेढ सय वर्ष अगाडी पुर्वू नेपालको पहाडी जिल्लामा चिया खेती सुरु गरेका हुन् । सर्व साधारण जनताको चुलोमा पुगेको भने वि.सं. २००७ पछि हो । प्रजातन्त्रपछि मात्रै सामुहिक रुपमा चियापान गर्न थालिएको हो । अहिले पनि दशैँ या तिहारको बेला राजनैतिक दलहरुले चियापान कार्यक्रमहरु आयोजना गर्ने गर्दछन् । हिजो आज हरेकको घरमा सहजै पाइन्छ चिया । २००७ पहिला पूर्वी नेपालको पहाडी जिल्लामा उत्पादन हुने चिया अग्रेजहरुले विदेश निर्यात गर्थे । कुनै समय युरोपको सिमित देशहरुमा मात्रै चियाको पहुचँ हन्थ्यो । नेपालमा भने सिमित राणाहरुको परिवारसम्म पुग्थ्यो ।

    अहिले नेपालमा चिया खेती बिस्तार भै उत्पादन वृद्धि भए पनि उत्पादन हुने ९५% चिया युरोप, अमेरिका, जापान, िसगापुर निर्यात हुने गर्छ । हाम्रो घर, पसलमा पाउने ‘सि’ गे्रडको चिया हो । धेरै नेपालीको घरमा पाक्ने  ‘सितिसि’, ‘अर्थोडक्स’ पत्तिबाट बनेको चिया हो । चिनमा चियालाई ‘च्छा ’ भारतमा ‘चाय’ फ्रान्समा ‘थे’ र बेलायतीहरु ‘टिय’ पछि य हताएर टि भन्न थालेका हुन् । नेपालमा चिया भन्ने गरिन्छ । चियाको बोटको कुरा गर्नु पर्दा लहरै मिलाएर रोपिएको हुन्छ । आर्कषक तवरले कलमी गरिएको हुन्छ । उचमई कम्मर मुनि सम्म हुन्छ  । बगान घुम्न आएका तरुनीहरु लहरै मिलेर घण्टौ छमछम नाचिरहेका हुन्छन् ।  ठिटीहरुलाई चियाको बोटले नछेकोस, कम्मर मर्काइ मर्काई नाचुन्, फोटो खिच्नलाई कम्मर माथिको भाग देखियोस् भनि छाटकाट गरि बाम पुड्के बनाइएको हुनुपर्छ  । नत्र सलक्कै आठ दश फिट किम्बुझै माथि जादो हो । चिया बगानमा राम्री तरुनीहरुले डोकोमा कलिला मुनाहरु टिप्दै पूर्वेली भाकामा नाच्दै, डुल्दै गरेको देखका थिए होलान अनि त स्वर्गीय कवि भूपी शेरचनले 
       
     अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा
    बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा ।। 
    गीत रचे होलान् । आजका दिनसम्म बाचेका भए समूहमा टिकटक बनाउदै गरेका तरुणी,सेल्फी हान्दै गरेका जोडी, मुना मदन बन्न हिडेका जोडीहरु अनि चिया बगानको झाडीमा प्रेमिल रसमा बिलिन जोडिहरुलाई देखेर कस्ता कविता रच्दा हुन कवि भूपी ले ? 

    चिया अनि पोखरा
    केही वर्ष पहिले पोखराका, भट्टी, क्याफे, रेष्टुरेन्टहरुमा दुध चिया, लेमन, कि कालो चिया पाक्थ्यो । अहिले विशुद्ध चियाको लागि मात्रै धेरै क्याफेहरु खुलेका छन् गल्ली गल्लीमा । चियाका अनेक नामहरु थपिएका छन् । हामी नेपालीले अंग्रेजी भाषलाई अलिक प्यार गर्छौ । त्यसैले अंग्रेजहरुले भन्ने गरेको टि भन्न थालेका छौँ । चिया भन्दा टि भन्न  सहज मान्छौँ । गल्लीका चिया जक्सनहरुले नाम परिमार्जन गरी मसला टि, ग्रिन टि, जिन्जर टि, मड्का टि, आइस टि, लेमन टि, मिन्ट टि, घोटेको टि, कटिङ टि, भुटेको टि जस्ता नाममा फरक फरक स्वाद पस्केर ग्राहक तानिरहेका छन् । भोलीका दिनमा पोलेको टि,उसेनिएको टि, रोष्ट गरिएको टि नाममा बजारमा चिया नआउला भन्न् सकिन्न । चियाको पारखीहरुले नाममा के राखेको छ भन्दै खोजीखोजी खाई दिन्छन् । 

    चियाको मुल्य ठाँउ अनुसार फरक छ । लेक साइटमा दुई सयदेखि चार सयसम्म पर्छ । त्यही चिया नयाँ खोलिएका पसलमा पच्चिस । चिया खानलाई ठेलमठेल ग्राहक हुने गर्छन पच्चिस वाला पसलमा । अचेल लेक साइड वरपर थर्मसमा  चिया बेच्नेहरुले पनि राम्रै आम्दानी गरेका हुन्छन् । यसरी हेर्दा पोखरामा खुलेका चिया पसल गरिबहरुको लागि मिटिङ स्थल बनेको छन् भन्दा फरक नपर्ला । पच्चिस तीस रुपैयाँको चिया खायो साथीहरु जम्मा भई दुई घण्टा फाल्तु गफ गरेर बस्यो । बाईफाई सबैकोमा छ मोबाइल चलाएर बस्यो । सानो तिनो बैठक नै सकिन्छ । 

    गृहनगर अनि च्या
    अब आफ्नै गृहनगर ढोरपाटन तिर फर्कौ । त्यहाँको चिया ‘कल्चर’ बारे पनि चर्चा गरौं । गृहनगर गएपछि मैले चिया भन्न जान्दिन बिर्सिहाल्छु । भने पनि च्या भन्ने गर्छु । सबैले च्या भन्ने गर्छन् । त्यसैले म पनि च्या नै भन्छु । चिनियाँहरुले चियालाई ‘छ्या’ भन्ने गर्छन् । चिनका छिमेकी तिब्बतीहरु ‘च्या’ भन्ने गर्छन् । ढोरपाटनमा ििगत ६४ वर्षदेखि तिब्बती शरणर्थीहरु बसोबास गर्दै आएका छन् । तिब्बतीहरुको प्रभावमा परेर मेरा छरछिमेकी, आफन्तहरुले ‘च्या’ भनेका होलान् भन्ने मेरो ठम्याई छ । बैशमा जलन्दर(भारत) गएका कोही बुढापाकाहरुले ‘चाय’ पनि भन्ने गर्छन् । 

    शहर बजारमा चियाको अनेक नाम भए जस्तै जस्तै ढोरपाटनमा ‘भोटे चिया’भन्ने गरिन्छ । ढोरपाटनमा तिब्बतीहरुलाई भोटे भन्ने गरिन्छ । त्यसैले भोटे चिया भनिएको होला । भोटे चियामा चिनी राखिएको हुदैँन । बनाउने तरिका फरक हुने गर्छ । पत्ति ईटा आकारमा खादिएर जमाएर राखिएको हुन्छ । बजारमा पाईने प्याकेटको धुलो जस्तो हुदैँन । बनाउने बेला टुक्रा पारेर नुन पानीसहित डेक्ची या कित्लीमा उमालिन्छ । धुँवाले डढेर हरेनो परेको डेक्ची या कित्ली प्राय चुल्होमा राखिएको हुन्छ । राम्रोसँग रंग आउने गरी उम्लिएको पानी दुई फिट अग्लो बासको ढुङ्ग्रो आकारको भाडाँमा हालिन्छ । त्यसमा दुध, घिउ हाली लठ्ठीले मजाले घोलेपछि भोटे चिया तयार हुन्छ । थपि थपि खाइन्छ । पाहुनालाई एक पटकले हुँदैन कम्तिमा अर्को पटक थप्नुपर्ने चलन छ ।

    तिब्बतीहरुले ब्यापक रुपमा प्रयोग गर्ने च्या बुकी जाने गोठालाहरुले औलमा बिस्तार गरे होलान् । मेरा छिमेकीहरु च्या त भन्न जानेका छन् तर खानलाई जान्दैनन् । ए पिउने पो हो त हैन ? पिउन पनि जान्दैनन् । जाडोको समयमा बिहान हुँदै गर्दा निद्रा झनै प्यारो लाग्छ । बिस्तारा छोड्नै मन नलाग्ने । छक्काल (अबेरे)भयो उठ अल्छी भन्दै बाउ कराइरहेका हुन्छन् । छ बजेर केही समय लर्किसकेको समयलाई छक्काल भनिन्छ हाम्रो तिर । तर मैले बिस्तारा छोड्ने बेलासम्म सात काल भैसकेको हुन्छ । त्यतिन्जेलसम्म बाउले लगभग आधा लितर ‘स्याँ’ खान भ्याईसकेका हुन्छन् । बजारमा आइस टि को अर्को रुप हाम्रोमा पाईने स्याँ हो  । आइस टिमा चिया पत्ति हाली पानी उमालेर बाफ बनाई उक्त बाफलाई चिस्याएर चिसो बनाएर खाइन्छ ।

    स्याँ बनाउदाँ पनि आइस टि जस्तै उमालेर बाफ बनाइन्छ तर यसमा मर्चा हालिएको हुन्छ ।  बनाउने प्रक्रिया लामो हुन्छ । मकै, गहुँ, जौ, कोदो लगायतको अन्नलाई पकाइन्छ । त्यसमा मर्चा (जंगली जडिबुटी) मिसाई केही दिन हावा छिर्न नहुने भाँडोमा राखिन्छ । केही दिनपछि आवश्यकता अनुसार ठुलो तामाको भाँडामा राखी पकाई आईस टि जस्तै गिरी तयार गरिन्छ । त्यसैलाई स्याँ भन्ने गर्छन, सांकेतिक भाषामा गाउ तिर । ठाँउ अनुसार यसको सांकेतिक नाम फरक हुने गर्छ । कतै बिजुली पानी, तीन पाने, चिसो च्या भन्ने गरिन्छ । जाडो समयमा बढी चल्ने नाम झ्याँई खट्टे हो । ति सबै स्याँ पारखीहरुको स्थानीय ब्राण्डेड नाम हो ।  

    ससुराली गई घैटो फुलिनसम्म स्याँ खाई माघको जाडोमा खोलामा गई पौडी खेलेर झण्डै परमधाम गएका काका र अर्का स्याँ खाएपछि काण्ड मच्याएर स्याँ खानै छोडेका काका बाहेक गाउँमा च्या खाने मान्छे भेट्याउनै मुस्किल छ । च्या खाएपछि पेट दुख्ने मेरा कैयन साथीहरु छन् । तिनीहरुलाइ च्या रुच्दैन । स्याँ पाए पाँच मानाको ताप्के एक्लै रित्याइ दिन्छन् ।  

    घरमा पाहुँना आएमा पसलमा चिनी चिया पत्ति लिन जादैनन् हाम्रा छिमेकीहरु । बरु केटाकेटीलाई नजिकैको भट्टी या छिमेकीकोमा स्याँ पैचो लिन पठाउँछन् । फेरी ति पाहुँना बस्न आएकालाई पनि त चियाले पेट दुख्छ । हाम्रोमा देवतालाइ स्याँ नै चढाइन्छ “अतिथी देभो भव” मन्त्रलाई आत्मसाथ गरेका हुन् कि मेरा आफन्तहरु म पुरै रनभुलामा हुन्छु । स्याँ पाहुनाहरुलाई स्वागत गरिने शुद्ध चिज हो । ज्वाइँको लागि त झनै अमृत जल । अमृत जल नखाने के ज्वाइँ । पृतिलाई चढाईने जल नै स्याँ हो । चाडवाड होस् या कुनै शुभ कार्यमा हाम्रा पितृहरुलाई कतै स्याँ चढाउन बिर्सिएछ भने बहाना बनाएर कुनै स्याँ लवरले धामी रुप धारण गरिहाल्छ । त्यसलाई केही गिलास भए पनि चढाई हाल्नु पर्छ । त्यसपछि धामी शान्त । 

    विवाह, ब्रतबन्ध, किरिया जस्ता कार्यमा स्याँ नखाने कुनै मनुवा फेला परिहालेछ भने मानौ त्यो सामाजिक बहिस्कारमा परे सरह हुन्छ । गाउँ ठाउमाँ आयोजना गरिने मेला महोत्सव ति स्याँ पारखीहरुको लागि लगाइएको हो कि जस्तो लाग्छ । आँखा रातो बनाई पाइन्टनै फुस्किएको चाल नपाउन्जेल खाएर हल्लिएका हुन्छन् । अनि आफुलाई मेलाको सबैभन्दा स्मार्ट व्यक्ति मै हुँ भने जसरी काधमा ज्याकेट फालेर हिड्छन् लक्का जवानहरु  ।

    च्या एक गुणवान तरल पदार्थ हो । यो खाएर काल्नामुनी लडेको, खुट्टानै भाचेको मान्छे आजको दिनसम्म देखेको छैन । त्यसैले च्या खाने बानी बसालौँ । आफन्तको घरमा जाँदै गर्दा च्या खाम भनि चिया लिई आएको कहिले देख्न पाइएला ? भेटमा, फोनमा, एसएमएसमा, बिहान बिहान च्या खानु भो ? भनि मेरा आफन्तले कहिले सोध्लान् ?  
           


    जीवन भण्डारी

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार