प्रिय दुष्ट मन (कविता)

प्रिय दुष्ट मन (कविता)

  • पौष १, २०८१ सोमवार
  • १०:०२:०४ बजे
  • 4.6K
    SHARES
  • प्रिय दुष्ट मन (कविता)

    केशव देवकोटा
    तिमी नजिकै छौ र पनि निकटता छैन,
    तिमी आफन्तै हो र पनि आफ्नो जस्तो लाग्दैन,
    तिमीसँग मन बोल्न पर्ने हो, बोल्न मान्दैन,
    तिमीसँग दिल खोल्न पर्ने हो, खुल्न मान्दैन,

    किनकी,
    मेरो सानो सफलताले तिमीलाई सताउँछ,
    मेरो सानो खुशीले तिमीलाई खुस्क्याउँछ,
    मेरो पसिना र मिहेनतले तिमीलाई जलाउँछ,
    मेरो करेलाको काइनाले तिमीलाई कोतर्छ,

    अत्यन्तै राम्रोसँग याद छ मलाई,
    मलाई चोटहरुले चहर्याउँदै गर्दा
    तिम्रा ओठका मुस्कानहरुको याद छ मलाई,
    मैले जीवनका वास्तविकता चिर्दै गर्दा
    तिमीले मन्चेका नाटकहरुको याद छ मलाई,
    मैले तिमीलाई बाटो खनाउँदै गर्दा
    तिमीले तेर्सायाएका काँडाहरुको याद छ मलाई,
    मैले सिसाको घर सझ्दै गर्दा
    तिमीले बर्साएका ढुङ्गाहरुको याद छ मलाई,
    मैले आधा पेट मात्र खाएर
    तिमीलाई खुवाएका गाँसहरुको याद छ मलाई,
    मैले आधा आङ मात्र ढाकेर
    तिमीलाई पहिर्याएका भोटाहरुको याद छ मलाई,
    मैले सत्यका कोपिलाहरु हुर्काउँदै गर्दा
    तिम्रा झुटका झटारोहरु याद छ मलाई,

    त्यसैले प्रिय दुश्मन,
    म खस्दै गर्दा तान्ने हातहरु मैले राम्ररी जानेको छु,
    म भाँचिदै गर्दा बज्ने तालीहरु एक–एक छानेको छु,
    म बिस्तारै उठ्दै छु, तिमीले मलाई धकेल्दै गर,
    म बिस्तारै निल्दै छु, तिमीले पेटको ओकेल्दै गर,
    तिमीले धकेल्छौ र पो म भारीसहित एकदिन उठुँला,
    तिमीले चिमट्छौ र पो म चिन्तन गर्न सकुँला,
    तिमीले सकेसम्म डढाउ र पो म खारिएको फलाम भएर निस्कुँला,
    प्रिय दुश्मन, तिमीले सकेसम्म सताउ र पो म पनि केही सिकुँला,
    र पो म पनि केही सिकुँला ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार