विचार

बुर्तिबाङमा अस्पताल बन्दा विरोध किन ?

बुर्तिबाङमा अस्पताल बन्दा विरोध किन ?

  • पौष १४, २०८१ आइतवार
  • १७:५५:४० बजे
  • 5.5K
    SHARES
  • बुर्तिबाङमा अस्पताल बन्दा विरोध किन ?

    केही दिनदेखि पुसको जाडोमा पश्चिम बागलुङको माहोल गर्माएको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रुपमा स्तरोन्नति गरियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत शुक्रबार तामझामका साथ उत्घाटन गरे । अस्पताल सञ्चालनमा आएसँगै पश्चिम बागलुङ साथै छिमेकी जिल्लाहरु म्यादी, रुकुम, प्युठान र गुल्मीका जनताका लागि स्वास्थ्यमा सहज पहुँच पुग्नेछ ।

    सामाजिक सञ्जालको मत सर्वेक्षण गर्ने हो भने, सर्वसाधारण जनता अस्पताल उत्घाटनको विषयमा खुसी हुनुप र्नेमा अधिकाशंले विरोध जनाएको देखिन्छ । आलोचनाको मुख्य विषय थियो ढोरपाटन नगरपालिकाले दिएको सर्वजनिक बिदा । अर्को थियो मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उत्घाटन समारोहमा लगाएको ५० किलोको माला । कुरा कथाबाट सुरु गरौं, नौ महिने फौजी तालिम दौडानका बेला दिनको अन्तमा रोलकोल परेड हुन्छ । त्यसमा हाकिम, गुरुजीहरुको लेक्चर सुन्नु पर्ने हुन्छ । दिनभर तालिमको थकानले गर्दा तालिममा सहभागीहरु त्यहीँ निदाँउनेसम्म गर्छन् । हाकिमहरु ठुलोदेखि सानोले पालैपालो लेक्चर दिन्छन् ।

    तालिममा सहभागीहरु पालो आएमा खाना खान या अन्य गतिबिधिमा आफ्नो बाटो लाग्छन् । क्रम अनुसार लेक्चर चल्दै गर्दा अन्तिममा लेक्चर दिने गुरुजीको पालो आईपुग्दासम्म सुनिदिने कोहीँ नभए गुरुजीले खाली कुर्सी या रुख विरुवालाई पनि लेक्चर दिनु पर्ने हुन्छ । त्यो फौजको नियम नै हो । पालना गर्नै पर्छ । त्यसैले फौजीहरु एकहोरो र बफादार हुन्छन् । भैँसी रुखमा चढ्छ भनेसी चढ्छ चढ्छ । हाम्रो समाजमा फौजीलाई भेडा भन्ने गरेको पनि सुनिन्छ । कुनै समय नेपाली राजनीतिमा लौहपुरुष उपमाले चिनिने स्व.गणेसमान सिंह चुनावमा पराजित भएपछि रिसले तिमी जनताहरु भेडा हौं भनि सार्वजनिक रुपमा भनेका थिए ।

    जुन कुरा आजका दिनसम्म आईपुग्दा पनि सहर्ष स्वीकार्दै आएको छ नेपाली समाजले । फौजमा जस्तो खाली कुर्सि या रुख विरुवाहरुलाई लेक्चर दिए जसरी भाषण दिन पनि त भएन नि नेता भएपछि, त्यो पनि माननीय, गण्डकी प्रदेशका मन्त्री, मुख्यमन्त्रीहरुले कि के हो ? नेता, मन्त्री, मुख्यमन्त्रीको भाषण सुनी दिनलाई जनमत त चाहियो । त्यसको लागि कुन चाहिँले खुरापाति दिमाग चलायो । पालिकामा सार्वजनिक बिदा गरेपछि मान्छे भेला भइहाल्छन् । त्यो कुन खुरापातिको आइडियाले मान्छे त जम्मा भए तर सिंगो पालिकाका जनप्रतिनिधिहरुले पुग्नसम्मलाई खानु गाली खाए त्यो पनि जनताबाटै ।

    जनप्रतिनिधिहरु, पत्रकार, बुद्धिजिबी, सम्बन्धित व्यक्तिहरु, राजनीतिक दलका नेता कार्यकर्ता जम्मा भई कार्यक्रम समापन गरेको भए केनै जान्थो र ? तर नेताहरुलाई देखाउन आवश्यक हुलको लागि गाउँमा युवा छैनन् । भएका जति प्रदेश, शहर, बजारमा छन् । उनीहरु गाउँ झुल्किने भनेकै चुनावका बेला मासुभातको पिरले हो । त्यो भिडमा म पनि पर्छु । डाडाङडुडुङ गर्दै पिटापिट गर्ने, छाति फुलाएर नेताको अघिपछि हिड्ने ठिटाहरु नभएपछि गाउँमा बचेका भनेकै शिक्षक, कर्मचारी, बुढापाका र विद्यार्थी हुन् । बुढाबुढी बुर्तिबाङ झर्न सक्दैनन् । शिक्षक, विद्यार्थी, कर्मचारी जम्मा भई भिडभाड गरि नेताहरुको लागि जुन आबश्यक भिड हो जम्मा भई दिए ।

    तिनीहरु नभए अबिर माला लगाइ दिने मान्छे कसरी पुग्नु ? हुनत ति शिक्षक अनि कर्मचारी कतै न कतै संगठनमा लागेकै हुन्छन् । कार्यकर्तानै हुन् । नेताले भनेको मान्नै पर्ने नत्र जागिरको टुङ्गो छैन् । सांसद, मन्त्रीदेखि मुख्यमन्त्री खुसीले गदगद हुदैँ पालैपालो घण्टौ भाषण ठोके । कार्यकर्ता, ए कार्यकर्ता त थिएनन् क्यारे । कार्यकता नभएर कर्मचारी, शिक्षक, विद्यार्थीहरुले पुसको जाडोमा बुर्तिबाङको बसपार्कमा बसेर तरररर तालीले माहोल तताई दिए ।

    ढोरपाटन नगरपालिकाका कर्मचारी हुनुपर्छ म गलत नभए ति पालिका कर्मचारीहरुले ढल्किढल्कि नाचेर स्वागत गरेका थिए । मुख्यमन्त्री, मन्त्री, संसदसामु लुकेको प्रतिभा प्रस्तुत गर्न पाए । अस्पताल उत्घाटन हुदैँ गर्दा झाँक्रीहरुको पौराणिक विधीपूर्वक नाचको रौनक बेजोड थियो । “तिमी डाक्टरहरु भन्दा हामी पुराना डाक्टर हौँ, तिम्रो डाक्टरी ओखतिको काम छैन, यहाँबाट भागि जाओ ।” भन्न खोजेका हुन कि ? “हामी पनि छौँ है मिलेर काम गर्नु पर्छ । या तिमी डाक्टरहरुले बुर्तिबाङ आई हाम्रो पेशा संङ्कटमा पारि दिने भयौं । जागिर खोसिदिन थाल्यौ ।” भनि साँङ्केतिक विरोध जनाउनलाई बुर्तिबाङ झरेका हुन कि ? बुर्तिबाङ बसपार्कमा उफ्रिउफ्री नाचेको झाँक्रीसहितको दृष्य हेर्न लायक थियो  ।

    नगरपालिकाले सार्वजनिक बिदा गरेकोमा विरोध गर्नेमा ति नेताहरुलाई भोट दिई माथि पठाउनेहरु नै थिए । अधिकाशं देश बाहिर गएकाहरु । देश र गाउँ घरको औधी माया हुन्छ देशमा भएकालाई भन्दा प्रदेश भएकाहरुलाई । जापान, कोरिया, अरब, अष्ट्रेलिया, अमेरिका सुविधा सम्पन्न चिल्लो बाटोमा हिडे पनि सपनामा त यहाँकै धुले कच्चि बाटो देख्छन् होला । अस्ट्रेलियाको समुन्द्री तटको बालुवामा खेले पनि कहिलेकाहीँ सपनामा बाल्यकालमा पौडिएको रहमा डुब्दा हुन् । कोरियाको बाटोबाटै काजु र बियरसँगै ‘चिकन लेग’ लुछे पनि कहिलेकाँही बाल्यकालको साथीसँग मकै र कोदोको जाँड टन्न आखाँ चिम गरेर तान्दै गरेको सपना देख्दै मुख मिठाउदाँ हुन् । 

    पिजा र वर्गरमा रमाए पनि कहिलेकाहीँ गुन्द्रुक, ढिडो र सेलरोटीको तलतल लाग्दो हो । उनीहरुको तन प्रदेशमा भए पनि मन गाउँघरमै हुन्छ । आफ्नो जन्मभूमि पनि छिट्टै विकसित होस भनि कल्पिन्छन् होला । सन्तानले बिरानो मुलुकमा आफुले जस्तो दुख गर्न नपरोस भनि मेहनत गरि रहन्छन् । त्यसैले त  देश, समाजमा भएका गतिबिधिमा चासो राख्ने गर्छन, टिकाटिप्पणी गर्छन्, समर्थन गर्छन, विरोध जनाउछन् । कतिले त चुनाव ताका घोषणा पत्रमा कोरिएका नाराहरु आफ्नो मोबाईलमा स्किनसर्ट गरि राखे होलान् । बेलाबेला हेर्दा पनि हुन । नेता सम्झदा हुन् । चुनाव बेला नेताले गरेको प्रतिबद्धता सम्झन्छन् होला । हुन पनि नेताहरुले अनौठा सपना देखाई दिएका हुन्छन् जनतालाई ।

    सपना देखाउन माहिर नै हुन्छन् । उनीहरुले नेताप्रति अपेक्ष बढी राखेका हुन्छन्, भरोसा गरेका हुन्छन्, माया पनि गरेका हुन्छन् । अपेक्षा पुरा नभएमा विछिप्त हुनु स्वभाविकै हो । पेङ्गुइन जातको चराले प्रेमिकाको मृत्यु भएका सहनै नसकेर आत्महत्या गर्छ । भरोसा धेरै गरेका नेताहरुले उल्टो बाटो हिँडी दिएपछि पेङ्गुइनले जसरी मर्नै पनि त सक्दैनन् । उनीहरुले क्रियाको प्रतिक्रिया दिएका मात्रै हुन् । हर्कत गर्नेको प्रकट मिल्छ भनेझै नेताहरुको हर्कतप्रति असन्तुष्टी प्रकट गरेका मात्र हुन् । 

    केही स्थानीय नेताहरु उनीहरुको प्रतिकारमा उत्रिएको पनि देखियो । जसले हुल जम्मा गर्ने जिम्म पाएको हुनुपर्छ या कि नेताको नजिकको मान्छे होलान् तिनीहरु । सायद आगामी चुनावमा ति नेताले टिका नै पो लगाई दिने आशामा बसेका मनुवा होलान् । कतै कार्यकर्ता बिथोलि दिने हुन् कि ति लाहुरे लाहुरेनीहरुले भन्ने पिर छ तिनीहरुलाई । पिर मान्नु पर्दैन । ति प्रदेशीहरुले आगामी दिनमा राम्रो काम गरेमा भोट तिमीहरुलाई नै हाल्ने छन । उनीहरु नआए पनि परिवारको सदस्यलाइ भोट हाल्न लगाउने छन् । रबि दाईले जस्तै फ्याट्टै नयाँ पार्टी खोलेर घण्टीले जसरी नलखेट्लान् । तर यसै भन्न सक्ने अवस्था भने छैन् ।  

    मालाको कुरा
    माला र नेताको सम्बन्ध नङ र मासुको जस्तै छ भन्दा फरक नपर्ला । घाटीमा माला र केही दर्जन कार्यकर्ता अघिपछि नलागेको नेता के नेता हाम्रो देशमा ? माला मोह अचाक्ली छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउबा लगाएतका नेताहरुले क्युइन्लसम्मको मालाले स्वागत गरेको समाचार देख्न र सुन्न पाईन्छ बेलाबेलामा । बुर्तिबाङमा आधा क्युन्टल त हो । तर त्यो नयाँ रेकर्ड हो पश्चिम बागलुङमा । छिट्टै नै त्यो रेकर्ड तोड्न लागि पर्ने छन् स्थानीय नेता कार्यकर्ता ।

    सम्भवत रेकर्ड छिट्टै तोडिने छ । बुर्तिबाङमा मन्त्री, सांसददेखि स्थानीय नेताहरुले खादा माला लगाई रहँदा गत निर्वाचनमा चुनावी गठबन्धन गरि हल गोरु जसरी हिडेका पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल भने उनका चुनावी सहपाठीहरुसँगै झाक्रीसँग उफ्रिएको देखिएन् । शिक्षक, कर्मचारी, विद्यार्थीहरुको माझ कतै देखिएनन् । पचास किलो मालाको हकदार उनी पनि हुन् । केही योगदान उनको पनि थियो अस्पताल बन्नमा । तर कहीँ कतै देखिएनन् ।

    केही दिन पहिला उनले  गाउँ गाउँमा डुलेको माला लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । एउटा पोस्ट मेरै गाउँको श्री नवज्योति आधारभूत विद्यालयको पनि थियो । सायद उनले बुर्तिबाङमा हुने अस्पताल उत्घाटन कार्यक्रममा उनको घाटीमा पचास किलोको माला नपर्ने छनक पहिल्यै देखेका थिए होलान् । उनी उक्त कार्यक्रममा सहभागीनै भएनन् या अन्य कारणबस हुन सक्छ । नत्र उनी पनि मालाप्रेमी नै हुन् । केही अर्को कुनै राजनैतिक कारक तत्व हो भने माला लगाउन नपाएकोमा उनको दोष भने होइन । त्यसमा दोष सबै ओली, प्रचण्ड र देउबा बाजेहरुको हो । यो गठबन्धन नामक संस्थाले उनलाई बञ्चित बनाएको हुन पनि सक्छ ।

    पचास किलोको माला लगाउने सौभाग्य गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए । लाग्छ, पचास किलोको मालाको माग हाम्रा मुख्यमन्त्रीले गरेका थिएनन् होला । तलका केटाहरुले करै गरेकाले बाध्य भई लगाएका होलान् । माला ग्रहण गर्दै गर्दा मुसुक्क त मुस्कुराएका थिए, तर मन खुसी भने थिएन होला । मनमनै सोचे होलान ठूलो भारी बोकायो यि केटाहरुले । टेन्सनमा पार्ने भयो । उत्घाटन गरेर मात्रै के गर्नु सञ्चालन गर्ने पो कसरी होला ? डाक्टर बस्ने होलान कि नबस्ने होलान ? भन्ने कुराले पिरोल्ने छ केही समयपछि ।

    आर्थिक भार थेग्न कसरत गनु पर्ने हुन्छ ।  हाम्रा नेताहरुले वर्षौ मेहनत गरेर अस्पतालसम्म बनाएका हुन् । कसरत लामै छ । मुख्यमन्त्रीलाई खुसी पार्न चलाखी गरेका हुन् । चलाख छन् हम्रा माननीयहरु पनि । पचास किलोको मालासँगै ठूलै जिम्मेवारको भारी पनि बोकाएर पठाएका छन्, जनताहरुले मुख्यमन्त्रीलाई ।

    तालमेल राम्रै मिलेकाले कार्यक्रम राम्रै भयो । भव्य उत्घाटन पनि भयो । जिल्लावासी स्वास्थ्य मन्त्री कृष्ण पाठक पनि पुगेर भाषण ठोके । भलै सर्मथन र विरोध भइरहन्छ । अस्पताल उत्घाटन भएको उपलब्धी मान्नु पर्छ हामीले । नेता र राजनीति नमिलेमा दुख पाउने भनेकै जनताले हो । छिमेकी जिल्ला गुल्मीको कुरा गरौं, बुर्तिबाङ बुटवल सडकमा पर्ने उर्लिखोला नामक खोला छ । त्यसले वर्षादको समयमा खुबै दुख दिन्छ । वर्षौ पहिले नेपाली काङ्ग्रेसका नेता माननीय चन्द्र भण्डारी हुँदा शिलन्यास गरे तर उनको कार्यकालमा बन्न सकेन ।

    पछि चुनावमा नेकपा एमालेका प्रदिप ज्ञवालीले जितेपछि त्यो काम ओझेलमा पर्यो । दुई वर्ष अघि फेरी चन्द्र भण्डारीले जिते । केही महिना पहिला उक्त पुलको शिलन्यास गरे । अबको तिन वर्षमा पुल नबने फेरी वर्षौै बन्नेवाला छैन । त्यो राजनीतिमा हुने सामान्य प्रतिनिधि उदाहरण हो । रानीतिकरणको मारमा पर्ने भनेकै सर्वसाधारण जनता हो । विकास निर्माण कार्यमा राजनीतिकरण गरिनु दुखद कुरा हो ।

    अन्तमा जुन तामझमको साथ भएको कार्यक्रममा नेताले भाषण गरे जस्तो तत्कालै सेवा सुविधा पाउन नसकिएला । त्यति ठूलो आशा राख्नु पनि हुँदैन । सर्वसाधारण जनताले जुन अपेक्षा गरे जस्तो हुन केही समय पक्कै लाग्नेछ । बुर्तिबाङमा प्रदेशिक अस्पताल बनेसँगै गुणस्तरीय सेवा सुविधा प्राप्त गर्न सकियोस् ।   

      

  • सम्बन्धित विषय:

  • # बुर्तिबाङ अस्पताल

  • जीवन भण्डारी

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार