खुमबहादुर अदै : जो ३३ वर्ष स्कुल पढाएर रित्तो हात घर फर्किए

खुमबहादुर अदै : जो ३३ वर्ष स्कुल पढाएर रित्तो हात घर फर्किए

  • आषाढ १७, २०८२ मंगलवार
  • ०६:१२:३३ बजे
  • 24.1K
    SHARES
  • खुमबहादुर अदै : जो ३३ वर्ष स्कुल पढाएर रित्तो हात घर फर्किए

    साँच्चै ३३ वर्ष शिक्षण सेवा गरि रित्तोहात घर फर्किदा मन कस्तो भयो होला है ? त्यतिका लामो समय कुनै अरब मुलुक या मलेसिया गएर कुल्ली गरेको भए शहरको कुनै कुनामा नभए पनि तराईमा केही रोपनी जग्गा र सानो पक्की घर हुँदो हो । गाउँमा अरब जाने चलन चलेसँगै दौतरी लर्को लागेर सोलेडाँडा काट्दा उनको मनले स्कुले केटाकेटी छोड्न मानेन । सरकारी सेवाको कुनै सामान्य पियन हुदाँ हुन त ? मासिक केहीँ रकम पेन्सन पाउदाँ हुन् । तर शिक्षक सहपाठी र विद्यालयहरु माझ भारी मन बनाई बिदाइको हात हल्लाउदाँको दिन उनीसँग सम्पत्तिको नाममा एक जोर सर्ट, पाईन्ट र एउटा कलम मात्र थियो । जुन दिनदेखि उनी विद्यमलयमा हाजिर भएनन् । चक र डस्तरलाई सदाको लागि बिदा गरे । उनी हुन खुम बहादुर अदै ।

    आजभन्दा ६७ वर्ष पहिले वि.सं.२०१५ सालमा साबिक अधिकारीचौर–५ हालको ढोरपाटन नगरपालिका–६ मराङ गाँउमा बुवा जगत अदै र आमा दिलमती अदैको कोखमा उनको जन्म भएको थियो । गाँउमा पाठशाला थिएन त्यसैले गाउँमा पढेलेखेका कोही थिएनन् । छिमेकी गाउँ बोबाङका आफन्त पर्ने घम बहादुर भण्डारी र पानीपोखराका सुबेदार बल बहादुर भण्डारी पढेलेखेका थिए । उनीहरुले पढाउने काम गर्थे । बुवा जगत बहादुर अदै, घम बहादुर र सुबेदार बल बहादुरको समाजमा इज्जत, प्रतिष्ठा र उनीहरुको व्यक्तित्व देखेर प्रभावित थिए । छोरालाई पनि पढाउनु पर्छ, तिनीहरु जस्तै बनोस् भन्ने लागेको थियो । अनि ९ वर्षको उमेरमा गाडीखोलामा रहेको विद्या विकास प्रा.वि.मा भर्ना गरि दिए । स्कूल वि. सं. २०१९ सालमा खुुलेको थियो । व्यवस्थित थिएन ।  काठको खाबो अनि खरले छाएको टहरामा उनले क,ख,ग सिके । 

    चप्पल कस्तो हुन्छ उनले देख्न पाएनन् । उनी खालिखुट्टै स्कुल जान्थे । खारी, भोटो लगाउँथे । कापी कलम थिएन । पाटी र खरी घरबाटै बोकेर जान्थे । खरी हराउने डरले प्वाल पारेर डोरीले घाटीमा झुण्डाइएको हुन्थ्यो । खरी ढुङ्गा उनका बाउ र बाजेहरु बर्खामा बुकी जादाँ राजवन, स्याचुङ ढुक बाट दुधमा पकाएर लिएका हुन्थे । त्यसैले पाटीमा लेख्थे । मास्टरहरु प्युठान, गुल्मी तिरका थिए । ती मास्टरहरुलाई गाउलेले चन्दा उठाएर राखेका हुन्थे । आटो, पिठो, आलु, गुन्द्रुक, दाउरा जम्मा गरिदिनु पथ्र्यो । गाडिखोलाका जीत बहादुर भण्डारी भारतीय सेनामा रहदाँ पढेका थिए ।  पेन्सन निस्किएपछि स्कुल पढाएको उनलाई याद छ । 
    उनी भन्छन, “हिजो आज जस्तो लुगाफाटा कहाँबाट पाउनु त्यो जमनामा । खारी, भोटो लगाई पछाडी भाङ्ग्राको गारा भिरेर पढाउन आउँथे मास्टरहरु । मास्टरलाई सबैले सम्मान गर्थे । विद्यार्थीहरु हामी सिधा नजर लगाउन सकिदैनथ्यो मास्टरसँग । ”

    केही समय कखरा बाह्रखरी जानेपछि उनी दुई कक्षामा भर्ना भए । १३ वर्षको उमेरमा पाँच कक्षा पास गरे । त्योभन्दा माथि गाडिखोला स्कुलमा पढाई हुदैनथ्यो । टाढा जानुपथ्र्याे । तर घरको दुःखले गर्दा उनले पढाईलाई निरन्तरता दिन पाएनन् । बुबासँगै भैँसी गाई लगेर वर्षादमा बुकी र हिउँदमा डाले घाँस काट्न थाले । तिन वर्ष भैसीँ गोठाला गरि बिताए । उनमा पढाइको भोक मरेको थिएन् । पाईन्ट र सर्ट लगाउने अचाक्ली रहर थियो । एक पटक बुर्तिबाङ गएको बेला उनीसँगै उमेर मिल्ने केटाहरु जागे लगाएर स्कुल गएको देखेपछि पढ्न जान रहर लाग्यो । घर गएपछि उनले आमासँग पढ्न जान मन लागेको कुरा गरे । आमाले बाउसँग कुरा गरिन । बाउले सहमति जनाएपछि बुर्तिबाङ पढ्न जाने भए उनी । त्यतिबेला नयाँ सैक्षिक सत्र पुसमा हुन्थ्यो तर उनी फागुनमा स्कुल गएका थिए । स्कुलले भर्ना लिने नलिनेमा अनिश्चित थियो त्यसमाथि उनले पढाई छोडेको तीन वर्ष भएको थियो । नयाँ शिक्षा लागु भएसँगै कोर्ष परिवर्तन भएको थियो । सात कक्षाको कोर्ष भने पुरानै थियो । उनी पुरानो कोर्ष पढेकाले शिक्षकले उनलाई सात कक्षामा भर्ना गरिदिए । छात्राबासमा बसेर मेहनत साथ पढे । आँटो ,पिठो, घिउ ,तरकारी घरबाटै लैजानुपथ्र्यो । दाउरा भने बुर्तिबाङ वरपर खोज्थे ।      
     
    उनी सात कक्षाबाट आठमा चौथो नम्बरमा पास भए । आठ पास गर्दा पनि चौथो नम्बरमै पास भए । उनी हाँस्दै भन्छन, “पाइन्ट लगाउने रहरले पढेको कट्टु लगाएरै आठ पास गरियो । विद्यार्थी कसैले पाईन्ट लगाउदैनथे । मास्टरहरुले भने पाईन्ट लगाउथे । लेरे जागे लगाएरै पढियो ।” 

    आठ कक्षा पास गरिसकेपछि लाहुरे बन्ने चक्करमा उनी गोरखपुर पुगे । त्यतिबेला उनको गाउँका पाच जना भारतीय सेनामा जागिरे थिए । गाउँका एक जना लाहुरेकोपछि लागेर गोरखपुर गए । उनको बाउले रु. ११०० मा भैसी बेचे । त्यहीँ पैसा लिएर गए । आफन्त लाहुरेले कुनाराघाटमा एक चिनेको नेपालीको होटेलमा राखिदिए । उनी त्यहीँ बसे । होटेलको केटाकेटी हेरचार गर्थे । भान्सामा सहयोग गर्थे । सहयोग गरेपछि होटेलमा खाना बस्नको पैसा लागेन् । भारतीय सेनामा भर्ति खुल्यो । पहिलो पटक दौडिन नसकेर फालिए । उनी भन्छन् , “त्यतिबेला महिनै पिच्छे भर्ति खुल्थ्यो ।” उनी दोस्रो र तेस्रो पटक मेडिकलमा फालिए ।  

    त्यसपछि उनी भर्तिको आशा मारी फर्किए । केही दिन तराइमा बसे । त्यतिबेला उनका दुई घर परिवार आफन्तहरु तराइमा बसाईसराइ गरि गएका थिए । प्रशस्त धान फल्ने, भात खान पाईने भएकाले तराई उनलाई तराई मन पर्न थालिसकेको थियो । घर आई बाउलाई तराइको बारेमा सबिस्तार लगाए । उनको बाउ तराई हेर्न जान राजि भए । दुई दिन हिँडेर तम्घास पुगे । त्यहाँबाट गाडी चढेर तराई पुगे । तराईको उखरमाउलो गर्मीमा उनको बाउ छिन भर बस्न सकेनन् । उनी भन्छन, “ बाउले कहिल्यै खारी, भोटो र हर्देउला ननिकालेको बानी तराईको गर्मीले गर्दा दिनभरी खोलामा जादै चोबलिन पो लागे । बस्नै सकेनन । ”, यो गर्मी ठाउँमा म मरेपछि आएस् छोरा भन्न थालेपछि चार दिनपछि घर फर्किए । 

    केही वर्ष भैँसीगाईसँग बुकी गए ।  मेला पर्वको रमाइलोमा बरालिए । क ख सिकेको विद्या विकासमा शिक्षकको आवश्यकता परेपछि वि.स. २०३९ सालदेखि उनले पढाउन थाले । तलब दरबन्दीको ३८६ रुपैँया थियो । उनको नेतृत्वमा तिहारमा देउसी भैलो खेलेर, चन्दा सङ्कलन गरेर केही रकम जम्मा गरि खरको छाना विस्थापन गरि ढुङ्गा छाए । पर्खाल लगाउने, ढुङ्गा बोक्ने काम झारा (श्रमदान) बाट भयो । दश कक्षा पास गरेकाले मात्रै पढाउन पाउने नियम बनेपछि उनी फसादमा परे जागिर छोड्न बाध्य भए । जसरी पनि दश पास गर्ने अठोट लिई ३२ वर्षको उमेरमा उत्तरगंगा मा.वि बुर्तिबाङमा भर्ना भए । त्यतिन्जेल उनी ४ जना छोराछोरीका बाउ भैसकेका थिए । उनलाई स्कुल जान सुरुमा त असहज लागेको थियो । 

    उनी भन्छन, “ सबै स साना केटाकेटी । बा भनि जिस्काउथे । एक जना विद्यालय राजेश श्रेष्ठ थिए । उनीसँग घनिस्ठता बढ्यो । उनले बाउ भनि बोलाउथ्यो ,मैले छोरा भन्थे । उसको मिल्ने एक जना साथी कृष्णकान्त आचार्य थिए । उनी अलिक सानो थिए । बाजे भनि जिस्क्याउथे । मैले नाती भन्थे । उनी अहिले निसीभुजी जनता क्याम्पस प्रमुख भएका छन् ।”

    पढाईमा बानी नभएकाले उनले धेरै कुरा बिर्सिसकेका थिए । त्यसमाथि पढाईमा मन नजाने । अंग्रेजी र गणित गाह्रो विषय लाग्थ्यो । हाँस्दै भन्छन्, “ ति छोरा र नाति केटाहरुका तगडा साथीहरुलाई चाउचाउ र मिठाई दिएर नजिक बनाउन थाले । दोस्ती बढेपछि गणितको हिसाब सिकाइदिन्थे । कहिलेकाहीँ म बस्ने डेरामै आउथे । पढाईमा सुधार हुन थाल्यो । कक्षा ९ बाट १० मा जादा ८६ जनामध्यमा म १२ नम्बरमा पो पास भए । ” 

    कक्षा १० पढ्ने बेलामा त उनी ५ जना बालबच्चाहरुको बाउ भैसकेका थिए । उनले वि.सं. २०४८ सालमा नियमित एस.एल.सी पास गरे । मंसिरबाट पहिला पढाएको स्कुल विद्या विकास मा पढाउन थाले । वि.स. २०४८ सालमै उनले शिक्षक सेवा आयोगको लिखित परीक्षाा दिए । पास भए । पञ्चायतको अन्त्यसँगै देशमा बहुदल लागु भएको थियो । राजनैतिक उथलपुथल थियो । नेपाली काङ्ग्रेसको सरकार थियो । उनी कम्युनिष्ट विचार धाराबाट प्रभावित थिए  । बामपन्थी विचारधारा बोकेकै कारण उनी अन्तरवार्तामा फालिए । अन्तरवार्तामा फालिनेमा उनीमात्रै एक्ला थिएनन् । वामपन्थी विचारधारा भएका जति सबै फालिएका थिए । फेरी वि.स.२०५२ मा परीक्षाा दिए । लिखितमा पास भए । अन्तरवार्ता दिए । नतिजा दश वर्षपछि आयो । उनी अनुत्र्तिण भए । 

    देशमा माओवादी द्वन्द्व सुरु भयो । आयोगले स्थायीको लागि परीक्षाा खुलाएन । प्रतिस्पर्धा गर्नबाट वञ्चित भए । पञ्चायतकाल देखे भोगेका उनले माओवादी जनयुद्ध नजिकैबाट नियाले । राज्य पक्ष र माओवादी दुबै पक्षको चेपुवामा परे ग्रामीण भेगका शिक्षकहरु । ति कष्टकर दिनहरु सम्झिदा उनलाई भक्कानो फुट्छ । 

    उनी भन्छन्, “माओवादीहरु आउथे खान दिनुपथ्र्यो । मिठो मसिनो जे दियो खान्थे । हामीलाई सहयोग गर्नुपर्छ भन्थे । गरेकै छौ किन नगर्नु भन्थ्यौ ।  भरुवा बन्दुक बोकेका हुन्थे । कक्षा कोठामा आई हामीले पढाउन लागेको बेला हामीलाई बाहिर निकालेर उनीहरुले पढाउथे । ” माओवादी गतिबिधी बढेसँगै तलब लिन र स्कुलको कामकाजको लागि बागलुङ गईरहनु पथ्र्यो । त्योभन्दा पहिले तलब बुर्तिबाङ बैङ्कबाट पाउथे । ठाउँ ठाँउमा आर्मी पुलिसले चेक गरि दिनुसम्मको दुःख दिन्थे । भन्छन, “माओवादी हो कि भनि शंकाले हात हेर्थे, पाईन्टमाथि फर्काउन लगाई घुडाहरु हेर्थे । साथमा भएको आईडि कार्ड देखाउदा पनि विश्वास गर्दैनथे । केरकार गर्थे ।  मास्टर हो भन्ने निश्चित भएपछि छोडिदिन्थे ।” 

    उतिबेला मोटर बाटोको सुबिधा थिएन । उनलाई सदरमुकाम पुग्नै दुई दिन लाग्थ्यो । फर्किन दुई दिन । कामकाज गर्न ढिलासुस्ती भएमा हप्तौ लाग्थ्यो त्यतिबेलाका शिक्षकहरुलाई । माओवादीको गाँउमा चन्दा आतङ्क मच्चाएका थिए । माओवादीले चन्दा माग्दाको किस्सा सुनाउछन्, “ चन्दा माग्थे । चन्दा दिनै पर्ने । नदिए मार्ने धम्कि दिन्थे । डरले दिन बाध्य भएर पाँच हजार चन्दा दिएको थिए । ति चन्दा माग्ने र लैजानेहरु अझै जीवितै छन् ।” भन्छन,“ त्यतिबेलाको पाँच हजार त ठुलै रकम हो नि । त्यो पनि हामी जस्ता मास्टरहरुको लागि त । ” माओवादीहरुले दुई दिन सम्म बन्धक बनाएको थियो उनी सहित केही शिक्षकहरुलाई । काम छ भनि ओख्रेनी बोलाए । पछि तमानखोलाको लामेला लगेर बास बसाई अर्को दिन ताराखोला लगेर दुई दिन प्रशिक्षण दिई फर्काएका थिए । उनीसँगै अधिकारी चौरका प्रधानाध्यापक तुलसि उपाध्याय, ज्ञानोदय मावि बोबाङका शिक्षक होम श्रेष्ठ र तमानखोलाका शिक्षकहरु थिए । 

    शिक्षण सेवासँगै समाजको अगुवा भई सामाजिक कामहरुमा अग्रसर भई लागे उनी । सरकारबाट यथेस्ट सहयोग नहुँदा झारा (श्रमदान) गरि भौतिक संरचना बनाए । चन्दा संकलन गरि कालोपाटी, बेञ्ची, चक, डस्टर किने । केही स्थानीयलाई चन्दा मागि शिक्षकहरु राखे । चिठी लेख्ने, पढिदिने, तम्सुक लेख्ने, झैझगडा मिलापत्र गर्ने देखि छिमेकी बिरामी हुँदा बोकेर मेडिकल पुराउनेसम्मको काम गर्नु पथ्र्यो उनले । 

    अतितका दिनहरु सम्झदै उनी भन्छन् , “गाउँमा युवा पुस्ता थिएनन्, कोही सिकिस्त बिरामी परे आपतै पर्ने । त्यसमाथि हाम्रो समाज झाक्रीधामीमा विश्वास गर्ने रातैभर अनिद्रा बस्नुपर्ने हुन्थ्यो । कसैको बिहे, छेवार, किरिया लगायतको राम्रा नराम्रा कामहरुमा हामी मास्टर कस्सिनु पर्ने हुन्थ्यो । रातभरिको अनिद्रा त्यसमाथि हल्का फुल्का जलपान गर्ने बानी । भोली स्कुल जान सकिएन भने गाउँलेहरुले उधुमै कुरा काटि बस्थे । ” 

    उनी थप्छन, “अहिले पनि गाउँमा मास्टरी काम गर्नेहरुको पीडा उस्तै छ । समाज यस्तै छ । कुरा काटी बस्नेहरुको कमी कहाँ छ र ?” द्वन्द्व समाप्तिपछि वि.सं. २०६३ मा आयोगले परीक्षाा खुलायो । उनी लिखित परीक्षामा फेल भए । त्यसपछि लामो समय खुलेन । २०७५ मा आन्तरिकबाट परीक्षा दिने मौका पाए उनले । भदौमा उनको उमेर हद ६० पुग्नेवाला थियो । उमेर हदका कारण उनले पढाउन पाउने थिएनन् । तर पनि परीक्षा दिन पोखरा गए । सहपाठी शिक्षक साथीहरुले पत्ताएनन् । परीक्षा दिन आएको हो भन्दा अचम्म माने । लामो समय परीक्षा नखुलेको पास भएर पनि पक्षपाती गरि फेल बनाईएको दुःख लागेको  थियो । जसरी पनि पास भएर देखाउनु छ भन्ने उनमा इख थियो त्यसैल परीक्षा दिए । असारमा नतिजा प्रकाशन भयो । उनी पास भए । तर त्यतिबेला सम्म उनी ६० वर्ष नाघिसकेका थिए । लिखित परीक्षामा पास भए । अन्तरवार्ता दिन गएनन् । मन भारी बनाई वि.सं. २०७५ भदौ ३ गते शिक्षण पेशाबाट अलग भए । 

    जिन्दगीको सुनौला उर्जावान दिनहरु चक, डस्टर र केटाकेटीहरुसँग बिताए खुमबहादुरले । पाइन्ट र कमिज लगाउने रहरले स्कुल गएका खुमबहादुर ३३ वर्ष शिक्षण सेवा गरि विद्यालयबाट छुट्टिदा सम्पतिको नाममा एक जोर सर्ट, पाईन्ट थियो । साथमा एउटा कलम थपिएको थियो । ३३ वर्षे सेवा अबधीमा २२ वर्ष प्रधानाध्यापक भई स्कुलमा नेतृत्व गरे । विद्यालयको अन्तिम दिनमा समेत उनी प्र.अ. नै थिए । 

    अवकाशपछि उनी घरायसी कामसँगै सामाजिक काममा ब्यस्त हुन्छन् । अहिले खानेपानीको अध्यक्ष पदमा रहि काम गरिरहेका छन् । विद्या बिकाशलाई मा बि सम्म सञ्चालन गर्नमा उनको अतुलनिय योगदान छ । बाटो घाटो बनाउने काममा लाग्छन् । युवाहरुलाई सामाजिक काममा लाग्न सुझाउछन् । विद्या विकाश मावि कक्षा १२ सम्म सञ्चालन होस् भनि रु १ लाख चन्दा सहयोग गरेका छन् । स्कुलमा राजनिती घुसेकोमा उनी चिन्तित छन् । उनी भन्छन, “मेरो पालामा स्कुल समयमा राजनैतिक कुरा नै हुदैँनथ्यो । भए पनि बाहिर हुन्थ्यो । वि.सं. २०७४ को एस.इ.इ परीक्षाामा हाम्रो विद्यालयले ८० प्रतिशत विद्यार्थीहरु उत्तीण गराउँदै ढोरपाटन नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमध्ये अग्रणी स्थान हासिल गरेको थियो । हिजोआज राजनैतिक खिचातानिले गर्दा पढाई खस्किएको हो कि ? त्यसो गर्नु राम्रो होईन् । ”

    भात खाने रहर अनि तराईको सुख सुविधा देख्दा जवानिमै तराई झर्न कस्सिएका खुमबहादुरलाई हिजोआज केही काम पर्दा तराई झर्दा उनको बुवा जगतलाई जस्तै गर्मीले भतभति पोल्छ । छिनभर बस्नै सक्तmैनन् । जेठा छोरा बुहारी अष्ट्रेलिया, कान्छा छोरा बेलायती सेनामा लाहुरे । छोरा बुहारी उतै । एउटी छोरी अमेरिका छन् । केही समय छोरा बुहारी सँग बेलायत र  अष्ट्रेलिया गई बसे तर खुमबहादुरलाई त्यहाँको सेवा सुबिधाले तानेन् । सुविधा सम्पन्न बुटवल, पोखरा र राजधानी काठमाण्डौले उनलाई तान्दैन । उनका गाउँका करिब ५० परिवारहरु तराई, शहर, बजारमा बसाई सराई गरि गएका छन् । उनी भने गाउँमै नयाँ बार्दलीसहितको चिटिक्कको घर बनाएर भैँसी पालि बसेका छन् । गोरस खान्छन् । खेती किसानी गर्छन । छिमेकीहरुसँग गफिन्छन् । बसाई सराइले गर्दा गाउँ रित्तिन थालेकोमा उनको मन खिन्न हुन्छ । विदेशको धनले गाउँ रित्ताउनै लाग्यो भन्छन् । सेतै फुलेको कपाल सलक्कै लर्काई हिड्छन् । खिरिलो जिउदाल, ज्यान तन्नेरी बेलाको झै चुस्त छ । बोलिमा मिठास उस्तै छ । कसैलाइ पिर्दैनन् । मौका मिलेको बेला जलपान गर्छन् । तीन पानेले रन्थनिएको बेलामा युवा युबतीसँग हासिमजाक गर्ने पुरानो बानि उस्तै छ । समाजमा उनको बेग्लै पहिचान छ । सत्तरी वर्ष पुग्नै लाग्दा समेत निरोगि छन् ।  सुगर र प्रेशरको दबाई खानु परेको छैन । 

    उनी भन्छन, “छोराबुहारी, छोरीहरु केही नगरी बस भन्छन् । पैसा के चाहिन्छ हामी पुराउ छौ  । तर छोराछोरीको कमाई खान मन भारी हुँदो रैछ । मनले मान्दैन । त्यसैले बुढाबुढी गाउँमै दुख गरिराछौँ । ” केही समय एकहोरो टोलाउँछन् । “पेन्सन भैदिएको भए बुढेसकालमा अलिक राहत त हुँदो हो कि ?” खुम बहादुर अदै प्रतिप्रश्न गर्छन् । 


    जीवन भण्डारी

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार