प्रेमराज मिश्र "अभीष्ट"
विश्वो साम्राज्य लगायत नेपाल अधिराज्यका प्रमुख शहर तथा सदरमुकामहरूमा स्थापित इस्कोन सेन्टर तथा सेल्टरहरूमा सप्ताहव्यापी कार्यक्रमका रूपमा 'श्रीकृष्णजन्माष्टमी-२०८२' भव्यताकासाथ मनाउने / मनाइने शालिन आवाजहरू सामाजिक सञ्जालहरूमा घनिभूत भैरहेको थियो ।
प्रसङ्ग- बाग्लुङ नगरपालिका -१ मालढुंगा खुदुर्केमा अवस्थित इस्कोन गण्डकीको !
त्यसो त निकै महत्त्वाकांक्षी योजनाका रूपमा 'इस्कोन गण्डकी' परियोजनाद्वारा बाग्लुङ्गको मुख्य प्रवेशद्वार मालढुंगास्थित खुदुर्केमा आकर्षक 'राधाकृष्ण मन्दिर तथा सभाहल निर्माण' गरिएकोले खुसीको लहर सर्वत्र गुञ्जयमान थियो ।
इस्कोन नेपालका केन्द्रिय अध्यक्ष एवं इस्कोन गण्डकी बाग्लुङ्गका संस्थापक अध्यक्ष परमेश्वर अच्युतदास निकै खुसी एवं उत्साहित देखिनुहुन्थो । उहाँको भनाइ अनुसार दानमुठीकै भरमा सयौँ वर्ष पुरानो लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार गर्नुको साथै लक्ष्मीनारायण गुठीको १७ रोपनीको जग्गामा कृष्णगण्डकी परियोजनाद्धारा तीन वर्ष अघि नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भैसकेको थियो । भक्तजनहरूको यथेष्ट सुविधाको लागि निकट भविश्यमा ४३ करोडको भौतिक संरचनाहरू समेत निर्माण गर्ने लक्ष्य अन्तर्गत शाकाहारी भोजनालय, अतिथिगृह / धर्मशाला, गंगाआरतीका लागि विशेष मञ्च, शालग्रामको भगवानको दर्शन एवं महत्व झल्किने कालीगण्डकी स्नानगृहसहित नदीतटमा ध्यानस्थल निर्माण हुनेछ । साथै शालग्राम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीमा डुबुल्की मारेर पवित्र गंगाजल लैजान इच्छुक भक्तजनहरूको माग / इच्छा पनि चाँडै नै पूरा हुनेछ । तसर्थ सम्पूर्ण मनकारी भक्तजनहरूलाई आवश्यक सहयोग गर्न समेत अनुरोध गरिएको कुरा सञ्चार माध्यमहरूले विशेष चासोकासाथ प्रसारण गरिरहेका थिए ।
ठहात मेरो कान टाठो भयो । मनभित्र एउटा हुटहुटी पैदा भयो । वास्तवमा म 'श्रीकृष्णजन्माष्टमी' को भरपुर आनन्द लुट्ने चाहन्थें । यसबाहेक मेरो एउटा भित्री (गुप्त) योजना थियो- 'श्रीकृष्णजन्माष्टमी'को अवसरमा खटिने प्रभुपादजीका गेरूवस्त्रधारी भक्तहरूको वास्तविक दिनचर्या तथा मानसिक स्थितिबारे अझ नजिकबाट महशुस गर्नु ।"साथै सञ्चार माध्यमहरूले ढोल पिटेअनुसार कालीगण्डकीको भौगोलिक वस्तुस्थिति अवलोकन गर्नु मेरो अर्को एउटा वहाना थियो । यही सिलसिलामा म जोमसोम (मुस्ताङ) बाट खुदुर्के पुग्दो भएँ जहाँ मुख्य आकर्षणको केन्द्र थियो- 'श्रीकृष्णजन्माष्टमी समुद्घाटन !
बिहानको प्रथम प्रहर !
अहो !
इस्कोन नेपालका क्षेत्रीय सचिव परमपुज्य महाविष्णु स्वामी महाराज र ऐं क्षेत्रीय सुपरीवेक्षक श्रद्धेय पत्रीदासज्यूको सान्निध्यतामा एक भव्य / सभ्य समारोहबीच 'श्रीराधावेणी माधव मन्दिर' समुद्घाटन कार्य सुसम्पन्न भयो, जो विगत लामो समयदेखि समुद्घाटनको तीव्र प्रतीक्षामा थियो । म यो भव्यता र दिव्यताको वर्णन गर्न असमर्थ प्राय: छु ।
कुनै बेला मालढुंगा खुदुर्के एउटा निर्जन ठाउँ थियो । यहाँ बाक्लो मानव वस्ती थिएन । सडक छेउमा केही साधारण होटल र थोक पसलहरू थिए, त्यो पनि औंलामा गन्न सकिने र एकतर्फी मात्र । मध्यरातमा सवारीहरू हुँइकिने विरानो आवाजबाहेक मसानघाटको सुनसान र सन्नाटा मात्र सुसाउने खुदुर्के पार गर्न निकै डर लाग्दथ्यो, जो हम्मेसी कसैले एक्लै हिँड्ने आँट गर्न सकोस् । पूर्वमा कुश्मा बजार, पश्चिममा बेनी (म्याग्दी) र दक्षिणमा बाग्लुङ्ग बजारलाई एक छिन बिर्सने हो भने खुदुर्के नितान्त ओझेल परेको ठाँउ थियो । तर खुदुर्के यसपालि चर्चाको उत्कर्षमा थियो /छ ।
आज खुदुर्केको खुसीको कुनै सीमा नै थिएन । जे छ खुदुर्केमै छ ।
म आश्चर्यचकित थिएँ कि यो एकान्तस्थल खुदुर्केमा सजिएको सुन्दर मन्दिर परिसरमा अथाह संख्यामा मानिसहरू कहाँबाट आए ? सलह झैं कहाँबाट सुसाइरहेको छ मानव सागर ? यो सब कसरी सम्भव भैरहेको छ ?
विस्तारै दिन ढल्कियो । साँझ पर्यो । झ्याँकिरीहरूको तीखो आवाजले भगवान श्रीकृष्णको जन्म हुने महान यज्ञको साङ्केतिक निमन्त्रणा एवं आव्हान गरिरहेको थियो । रातको प्रहरसँगै मानिसहरूको घुईँचो बढ्दो थियो । मानिसहरू श्रीकृष्णको जन्म हुने शुभ-समयको व्यग्र प्रतीक्षामा लोलाइरहेका थिए । सम्पूर्ण वातावरण नै श्रीकृष्णजन्माष्टमीमय भइरहेको थियो ।
मध्यरातको घण्टी बज्न केही मिनेट मात्र बाँकी थियो ।
भगवानको विग्रहसामु नझुक्ने को होला र ! भगवान कृष्णलाई देखेर भावुक नहुने को होला र ! कृष्णलीला, राधाकृष्णको निश्चल प्रेम र भक्तहरूको समर्पण देखेर नतमस्तक / मुर्छित नहुने को होला र ! चाहे उनीहरूले जतिसुकै घोर नास्तिकताको अभिनय किन नगरून् ? घुर्की किन नलगाउन् ?
अचानक सारा मानिसहरू मुलगेटतर्फ दौडिए । मान्छेको भीड मन्दिरतिर सोहोरियो । म देखिरहेको थिएँ कि त्यहाँ तोरीको एउटा दाना अट्ने सम्मको ठाउँ थिएन । ठाउँ पाउन हम्मे हम्मे परिरहेको थियो । मानिसहरूको अनुहारमा एउटा अनौठो जिज्ञासा र उत्साहको रेखा दौडिरहेको थियो -"लौन अब के हुन्छ ?"
कुनै अनिश्चित अनिष्टको सङ्केत बोकेर मध्यरातको अँध्यारो ठिंग उभिएको थियो ।
अचानक मन्दिरको खोपीभित्र मनै उराल्ने गरी एउटा भयङ्कर डरलाग्दो आवाज दर्फराउन थाल्यो । झ्याप्प बत्ती निभ्यो । चारैतिर अन्धकार भयो । एक किसिमको सन्नाटा छायो । हृदयमा एउटा अनौठो कौतुहलता र अज्ञात भयले आक्रान्त मानिसहरूको क्लान्त मुहार अपेक्षकृत केही शान्त थियो । म पुरै स्तब्ध थिएँ ।
ठीक त्यही समय !
एउटा नवजात शिशुको 'च्याँ च्याँ' को आवाज सुनिन थाल्यो । शिशु च्याँठ्ठिन के थालेको थियो एउटा पुरुषको अठ्ठाहासले शिशुको उक्त कोमल आवाजलाई उसले पूरै दबायो । बच्चोलाई काँच्चै निलूँला झैं गर्यो । निख्खर कालो पोशाक र कालो वर्णको उक्त पुरूषले आफ्ना लामा लामा हात अगाडि बढायो । र, उसले जबरजस्त उक्त अबोध शिशुलाई आमाको हातबाट खोस्न थाल्यो ।
अचानक !
उक्त पुरुषको पञ्जाबाट बच्चो फुत्कियो र आकाशतर्फ उड्यो । लगत्तै एउटा भविश्यवाणी भयो- "हे पापिष्ट ! कान खोलेर सुन । निकट भविश्यमा तेरो मृत्यु निश्चित छ । बेलैमा होशको दबाई खाइहाल ।"
नभन्दै !
एउटा भयङ्कर डरलाग्दो आवाज विस्फोट भयो । त्यो आवाजभित्र एउटा पुरुषको विक्षिप्त रोदन र चिच्याहट थियो । मध्यरातमा कुनै ठाउँमा भीषण पहिरो गएको हो कि जस्तो अस्पस्ट आवाजले सिङ्गो धर्ती नै कम्पित भइरहेको थियो । अन्तत: उक्त आवाज विस्तारै शून्य आकाशमा विलाएर गयो अर्थात् विलिन भयो ......!
ठीक मध्यरात !
अहो ! आकाशमा चारैतिर अप्रत्याशित उज्यालो छायो । विभिन्न पड्का र आतसबाजीको उज्यालोले सम्पूर्ण आकाश चम्किलो भयो । ताराहरू मुस्कुराउन थाले । मध्याकाशमा चन्द्रमाको उज्यालो प्रतिविम्ब देखिन थाल्यो । सहनाई, करताल र मृदङ्गहरू बज्न थाले । शंखध्वनिले सम्पूर्ण धर्ती र आकाश एकैसाथ गुञ्जायमान हुन थाल्यो । चारैतिर विभिन्न रङका पुष्पहरूको वर्षा हुन थाल्यो ...........!
अनयासै मन्दिरभित्रको पर्दा खुल्यो !
शून्य आकाश !
पर क्षीतिजमा कालो र निलो मिश्रित रङले पोतिएको एउटा मध्यम कदको आकृति पूर्ण उल्लासका साथ देखा पर्यो र क्रमश: अगाडि सर्दै आयो । अत्यन्त अलौकिक एवं दिव्य थियो त्यो आकृति: शिरमा मयुरको प्वाँख । हातमा बाँसुरी । श्यामवर्णको शरीर । सुन्दर मुहार । गलादेखि कम्मरपेटीसम्म सजिएको वैजन्ती माला । घुँघुँरिएको कपाल । निला आँखा ..........!
अनयासै मानिसहरू जोडले चिच्याउन थाले – "ऊ कृष्ण प्रकट हुनुभयो । कृष्ण ! कृष्ण ......!'
वास्तवमा भगवान कृष्ण दयाका सिन्धु हुनुहुन्छ । कृष्णले उपस्थित सबैलाई आफ्नो अलौकिक स्वरूपको साक्षात् दर्शन दिनुभयो । हेर्दाहेर्दै त्यो दिव्य आकृति आँखाको नानीबाट विस्तारै ओझेल पर्दै गयो र लोप भयो । मानिसहरूको लामो प्रतीक्षा र धैर्यता एकैसाथ अन्त्य भयो ।
पर्दा बन्द भयो ।
भोलिपल्ट !
सभाहलमा समीक्षात्मक बैठक सम्पन्न भयो । परमपुज्य महाविष्णु स्वामी महाराजज्यूको दिव्य उपस्थितिमा विभिन्न समसामयिक विषयमा गहन छलफल भयो । विशेष गरी वैकुण्ठ जगतका राजदूत कृष्णकृपामूर्ति श्रीमद् अभयचरणाविन्द भक्तिवेदान्त स्वामी प्रभुपादको 'आभिर्भाव दिवस' परेकोले सम्पूर्ण ध्यान यसैमा केन्द्रित थियो जसले सन १९६६ मा संयुक्त राज्य अमेरिका (न्यूयोर्क) मा पहिलो पटक अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) को स्थापना गर्नुभएको थियो ।
समग्रमा प्रभुपादजीले गर्नुभएको आध्यात्मिक संघर्ष र योगदानका बारेमा चर्चा गर्ने क्रममा श्रद्धेय महाविष्णु महाराज, इस्कोन गण्डकीका संस्थापक अध्यक्ष परमेश्वर अच्युतदास, इस्कोन बाग्लुङ, म्याग्दी र कुश्मा (पर्वत) का अध्यक्ष क्रमश: जगतगुरु गिरिधारीदास, गडाई गौराङ्ग दास, रामशरण निताइ एवं भागवद् सेवादास, कृपामय कृष्णदास, दीनबन्धु जनार्दन दासकासाथै माताजीहरू भूवना, राधिका, स्वस्तिका तथा प्रतिनीधि वक्ताका रूपमा कृष्णनाम दास, केशव गोविन्ददास लगायतका प्रभुजीहरूले आ-आफ्नो आध्यात्मिक अनुभव र अनुभूतिहरू पस्कनु भएको थियो । मानौं उहाँहरू यसैका लागि नियुक्त हुनुभएको हो । उहाँहरूले व्यक्त गर्नुभएका दिव्य वाणीहरू सुन्दा यस्तो लाग्दथ्यो कि प्रभुपादजीले संसारलाई दिनुभएको आध्यात्मिक योगदानको चर्चा गरेर कहिल्यै सकिनेछैन ।
ठहात मेरो आँखा अचानक एउटा दृश्यमा गएर टक्क रोकियो, जुन् दृश्य मेरो आध्यात्मिक प्रयोजनका लागि अत्यन्त आवश्यक थियो ।
भगवानका भक्तहरूको भीडले सभाहल खचाखच थियो । हलको उत्तरपूर्व दिशातर्फ पहेंलो वस्त्रमा सजिएका गेरूवस्त्रधारी प्रभुजीहरू गोलबद्ध भएर बसेका थिए । ब्रह्मचर्य व्रतको कडा अनुशासनमा रहेका प्रभुजीहरू ध्यानपूर्वक प्रवचन श्रवण गरिरहनुभएको थियो । म छड्के आँखाले उहाँहरूलाई पच्छ्याइरहेको थिएँ । उहाँहरू उघ्दैँ हुनुहुन्थ्यो । उतिखेरै झ्याप हुनुभयो । मैले अनुमान सहजै गरें कि प्रभुजीहरूलाई निन्द्रादेवीले आफ्नो वशमा पारिन् / पारेरै छाडिन् ।
ठहात यो दृश्यले मेरो सम्पूर्ण ध्यान बिच्कियो ।
मेरो पापी मनले के सोच्यो कुन्नि –"परमपूज्य महाविष्णुको अमृतरूपी दिव्य प्रवचनको श्रवण-लाभ प्राप्त गर्न छोडेर सभाहलभित्र ठाडै निदाउनु कहाँसम्मको लाजमर्दो कुरो हो ? हलभित्र दिनदहाडै निदाउनु वा घुर्नु के शोभनीय हो ? जसले भगवानका कथाहरू श्रवण पान गर्दैन उसले कसरी आध्यात्मिक लाभ एवं प्रगति गर्न सक्दछ ?
हो, आध्यात्मिक भलाकुसारी गर्ने क्रममा एक जना प्रभुजीले भन्नुभएको कुरा मलाई झट्ट स्मरण भयो । उहाँ भन्दै हुनुहुन्थ्यो- "झण्डै एक महिना भयो नसुतेको । अन्नको शरीर हो । भोक, प्यास, निन्द्रा, थकाइ लाग्नु स्वभाविक हो । तैपनि हामी दिनरात खटिरहेका छौं । आफूलाई पूर्ण समर्पण गरिरहेका छौं । भगवानको सेवा तथा प्रचार-प्रसारमा जति धेरै खट्यो त्यति नै दिव्य आनन्द र सन्तुष्टि प्राप्त हुन्छ । प्रभुपादजीले हामीलाई यही कुराको मार्गनिर्देशन गर्नुभएको छ ।"
अनयासै मेरो कोमल हृदयमा करूणा र दयाभाव छच्किएर आँशुमा रूपान्तरण भयो र आँखाको डील हुँदै भूईँमा खस्यो तप्प तप्प । मैले विस्तारै रूमालले मुख पुछें ।
म पनि एउटा फौजी मान्छे ! निन्द्रा के हो ? भोक के हो ? थकान के हो ? प्यास के हो ? पीडा के हो ? युद्ध के हो ? युद्धको अभिघात के हो ? मित्र को हो ? शत्रु को हो ? शत्रु के हो ? र, शत्रुलाई कसरी परास्त गर्ने ? आदि कुराहरू भोगेको / व्यहोरेको मान्छे हूँ । तर यस्तो गाढा अनुभूति यसअघि मलाई कहिल्यै भएको थिएन । वास्तवमा म यही कुराको फरक अनुभव एवं महशुस गर्न चाहन्थें । मैले यो कुरा पनि बुझ्ने अवसर प्राप्त गरें- "पानीको प्यास के हो ? यौन प्यास के हो ? आध्यात्मिक प्यास के हो ? यसलाई कसरी जीत हाँसिल गर्न सकिन्छ अर्थात् यो मानव जीवनको लागि किन अपरिहार्य छ ?"
गेरूवस्त्रधारी प्रभुजीहरूलाई त्यसै प्रभुपादजीका पहेंला सेना (Yello Solder) को संज्ञा दिइएको होइन । जब कि युद्धको मैदानमा प्रवेश गरेको एउटा सेना वा सिपाहीले आफूले टेकेको सीमित भुगोल मात्र रक्षा गर्ने सामर्थ्य राख्दछ तर आध्यात्मिक सिपाहीहरूले विश्व ब्रह्माण्डकै सारथी हाँक्ने साहस राख्दछन् जसलाई प्रभुपादजीले आफ्नो अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा आबद्ध गर्नुभएको छ । शुद्ध भक्तहरू त्यही विशाल संगठनका आध्यात्मिक सिपाही कहलिन्छन्, जो आध्यात्मिक सेनापति प्रभुपादजीको निर्देशन बमोजिम विश्वभर विशुद्ध आध्यात्मिक सङ्गठन विस्तार गर्ने क्रममा अहोरात्र खटिइरहेका छन् र आफूलाई कुरूक्षेत्रको एक अथक एवं दृढ योद्धा 'अर्जुन' को रूपमा स्थापित गर्न पूर्णतया प्रयत्नशील / समर्पित छन् ।
अन्तत: कार्यक्रम विसर्जन भयो ।
म आफ्नो गन्तव्यतर्फ फर्किने तयारीमा लागें । इस्कोन गण्डीकीले दिलाएको 'श्रीकृष्णजन्माष्टमी' को अथाह खुसी मेरो लागि अविश्मरणीय क्षण बन्न पुग्यो । विशेष गरी कार्यक्रमस्थलमा परमपूज्य स्वामी महाराजज्यूहरूले दिनुभएको कृष्ण-प्रवचन, मानिसहरूको अपार भीड, भीडलाई कुशलतापूर्वक सम्हाल्न सक्ने कुशल वक्ता एवं कार्यक्रम सञ्चालक डा. दानवीर निदाइ प्रभू र मीठो स्वरकी धनी श्रद्धेय भुवना माताजीको मिठासपूर्ण उद्घोषणशैली, बाग्लुङ्, बेनी र कुस्माका माताजीहरूले प्रस्तुत गर्नुभएको आकर्षक नृत्य, हरिनाम संकीर्तन, सन्देशमुलक नाटक प्रदर्शन, ग्रन्थ वितरण, महाभिषेक, मंङ्गल आरती तथा दीप प्रज्ज्वलनका अतिरिक्त महाप्रसादम् वितरण आदि क्षणहरू अविस्मरणीय रहे । यसका साथै प्रभुजीहरूको सान्निध्यता, आत्मीयता र आध्यात्मिक भलाकुसारी मेरो हृदयमा सदा सुरक्षित रहनेछ ।
समग्रमा हृदयभित्र कृष्णान्दको आस्वादन गर्ने यो दूर्लभ अवसर थियो मेरो लागि ।
त्यति मात्र कहाँ हो र !
छुटाउनै नमिल्ने / नसकिने एउटा अर्को एउटा दिव्य क्षण छ । त्यो हो- 'श्रद्धेय परमेश्वर अच्युतदास प्रभुजीको रात्रीकालीन कृष्ण-प्रवचन !'
मध्यरातको पूर्वसन्ध्या !
मध्यरात साक्षी थियो । कार्यक्रम स्थल हजारौं मानिसहरूको उपस्थितिले खचाखच थियो । विभिन्न धार्मिक गुरु एवं सन्तजनहरूको गरिमामय उपस्थितिले इस्कोन गण्डकी मन्दिर परिसर आध्यात्मिक मादकता र रौनकताले भरिएको थियो । छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख, वडाअध्यक्ष, सुरक्षा निकायका प्रमुखज्यूहरूका साथै विभिन्न कार्यालयका प्रतिनिधिज्यूहरूको उपस्थितिले कार्यक्रमको शोभा बढेको महशुस भइरहेको थियो ।
जब उद्घोषकले श्रीकृष्णजन्माष्टमीका बारेमा आफ्ना मधुर वाणी उद्घोष गर्नका लागि अनुरोध गर्नुहुन्छ तब आकर्षक पोशाकमा सजिनुभएका श्रद्धेय परमेश्वर अच्युतदास कृष्णमञ्चमा प्रवेश गर्नुहुन्छ । उहाँ भगवानको विग्रह अगाडि नतमस्तक भएर साष्टाङ्ग दण्डवत प्रणाम गर्नुहुन्छ । व्यासगद्दीमा बसेर आफ्ना दिव्य वाणीहरू प्रस्फुटन गर्नुपूर्व उहाँको ईशारमा भगवानको पवित्र नामसङ्कीर्तन गुञ्जयमान हुन्छ जसले कार्यक्रमस्थलमा जम्मा भएका हजारौं मानिसहरूको अर्धनिन्द्रा भङ्ग मात्र गरेन, मानिसहरूको होश नै उडाइदिएको थियो ।
ततपश्चात !
प्रभुजीले विस्तारै आफ्नो आवाज बुलन्द गर्न शुरू गर्नुभयो । उहाँले कालीगण्डकी तटमा राधावेणी माधव मन्दिरको स्थापना, श्रीकृष्णजन्माष्टमीको महत्त्व र भगवान कृष्णको बारेमा आवाजको रफ्तार 'भोल्युम' बढाउँदै लैजानुभयो र अन्त्यमा त्यो आवाजको दुनियाँमा यसरी विस्फोटन भयो कि सम्पूर्ण मन्दिर परिसर नै हल्लिन थाल्यो । मानौं त्यहाँ आध्यत्मिक भूकम्प जाँदैछ । कालीगण्डकी खुसीले उर्लिएर बग्दी थिईन । मानौं कालीगण्डकी, शालग्राम र कृष्णजन्माष्टमीको घनिभूत सम्बन्ध छ । उनी सम्पूर्ण मानिसहरूलाई कृष्णजन्माष्टमीको दिव्य आनन्दमा डुबुल्की मार्न उत्प्रेरित गरिरहेकी थिइन् । प्रभुजीको धाराप्रवाह कृष्णवाणी सुनेर मानिसहरू खूब रमाइरहेका थिए । आनन्द लुटीरहेका थिए ।
प्रभुजीको वाणी यतिमा मात्र सीमित थिएन । सम्पूर्ण वैदिक शास्त्रको सारलाई निचोरेर दिनुभएको भगवान कृष्णको महिमायुक्त दिव्य प्रवचनले सिङ्गो आकाश नै दर्फराएको थियो । मानौं यस्तो अद्भूत कार्यक्रमको वर्षा यसअघि न कहिल्यै भएको थियो न त भविश्यमा हुने नै छ ।
प्रवचन एउटा दिव्य निष्कर्षमा आएर टुंगियो- "मानिसहरूले भगवान कृष्णलाई सामान्य मानिस ठान्ने धृष्टता एवं भूल कहिल्यै नगरून् । आफूभित्रको कंसको वध गरून् । र, प्रत्येकले आफ्नो हृदयभित्र सदा विराजमान सच्चिदानान्द स्वरूप परमब्रह्म परमात्मा भगवान श्रीकृष्णको शाश्वत उपस्थिति एवं महानतालाई प्रतक्ष्य अनुभूति गर्न सकून् । यही नै "श्रीकृष्णजन्माष्टमी" मनाउनुको परमलक्ष्य हो ।"
अहो !
तालीको गडगडाहटको कुरै नगरौं । सबै जना फुरूक्क हुन्छन् । बसेको ठाउँबाट जुरूक्क उठ्दछन् । मानिसहरू स्वतस्फूर्त आफ्ना दुवै हात माथि गरेर जोडले हृदयदेखि गहिरो आवाज उराल्दछन् जसले गर्दा कार्यक्रमस्थल पूरै गुञ्जायमान हुन्छ- "हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे...........!"
अन्त्यमा:
विचरो ! मनुष्य एउटा प्यूसो न हो जो कयौं जन्मजन्मान्तरदेखि जम्म-मृत्युको चक्रव्यूहरूपी निष्ठुर मायाको बन्धनमा जकडिन अभिशप्त छ । यो मानव प्यूसो कहिल्यै आध्यात्मिक प्यूसो हुनैजानेन अर्थात् चाहेन ।
मानिसहरू सोच्दा हुन् / व्यङ्ग्य गर्दा हुन्- "यी ग्वलाहरूको कुनै काम छैन । यी हरिकङ्गालहरू दैन्दिन सडकका गल्लीहरूमा हल्लीखल्ली गर्दै र्याली निकाल्छन् । झ्याली पिट्दै हिँड्दछन् । बुर्लुक बुर्लुक उफ्रिँदै हिँड्छन्, भ्यगूतो उफ्रिए झैं । आखिर यो नौटङ्की कहिलेसम्म ? "
म दावीकासाथ भन्दछु –"वास्तवमा कृष्ण कुन् चरोको नाम हो ? यो चरो कहाँ बस्दछ ? मनुष्यहरूले कृष्णरूपी चरोलाई जान्नु किन आवश्यक छ ? र, कृष्णलाई बुझ्न चाहने मनुष्यहरूले कम्तीमा यो दिव्य वाणीको आस्वादन गरून् ।"
हो, अध्यात्मको संसार नै बेग्लै छ, विचित्रको छ । अध्यात्मलाई हृदयदेखि नै आत्मसात गर्नेहरू कहिल्यै निदाउन / थाक्न पाउँदैनन् / पाउनेछैनन् । प्रभुपादजीका शुद्ध भक्तहरूको त झन् के कुरा ! शायद उनीहरूको शब्दकोषमा यी शब्दहरू कहिल्यै भेटिने छैनन्: आसक्ति, निन्द्रा, भोक, प्यास, थकान, आलस्य, काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, व्यभिचार, जूवातास, मांशभक्षण, मादक पदार्थको सेवन...!
आज म धन्य भएँ । मेरो हृदयको ज्वारभाटा शान्त भयो । मेरो उद्देश्य पूरा भयो । साँच्चै ! इस्कोन गण्डकीको पवित्र धरामा पाइला टेक्न पाउनु नै मेरो अहोभाग्य थियो । यस परमसौभाग्यका कारण अनयासै आँखाबाट आँसु छचल्किएर भूईंमा खस्दा भया । इस्कोन गण्डकीको जय !