एक जुगमा एक दिन एक चोटि आउँछ । उलटपुटल उथलपुथल हेरफेर ल्याउँछ ।।-गोपाल प्रसाद रिमाल ।
हुन त रीसको झोंकमा कसले कविता / वेद पढ्छ र !
शास्त्रमा भनिएको छ- "यदि समाजका अनुत्तरदायी नेताहरूले सनातन धर्मको परम्परालाई नै विखण्डित पारिदिए भने त्यसबाट समाजमा अव्यवस्था फैलिन पुग्दछ । फलस्वरूप मानिसहरू जीवनको मूल उद्देश्य भगवान् विष्णुलाई नै बिर्सन पुग्दछन् । यस्ता नेताहरूलाई नै अन्धा भनिन्छ र यिनीहरूका पछि लाग्नेहरू अवश्य नै अस्तव्यस्तको स्थितिमा पुग्दछन् ।"-पेज ६१,
श्रीमद्भगवद्गीता यथारूप ।
उपरोक्त हरफहरू वर्तमान राजनीतिक सन्दर्भसँग शतप्रतिशत मेल खान्छ अर्थात यही नै वर्तमान नेपालले भोगेको तीतो यथार्थ हो । शास्त्रलाई शिरमा राखेर सत्य लेख्नु मेरो धर्म हो । सत्य कुरा सम्प्रेषण गर्नु मेरो इमान हो । पछिल्लो समयमा नेपालमा भएको जेन्जी आन्दोलन, दुर्भाग्यपूर्ण आगजनी र यसबाट सृजित नेपालको अनिश्चित भविश्य तथा अन्यौलतालाई कसरी टुलुटुलु हेरीबसूँ ? म मणि हराएको भिल्लहरूको देशबाट यी हरफहरू कोरिरहेको छु, जुन् प्रत्येक सचेत नेपालीले हृदयदेखि नै हृदयंगम गर्नैपर्ने छ ।
नेपालको इतिहासमा महेन्द्र मल्ल एक यस्ता राजा थिए जसले दैनिक आफ्नो दरबारको कौशीबाट चियाउने गर्दथे कि जनताको घरमा चूल्हो बल्यो कि बलेन ? घरको छतबाट धूँवा निस्कियो कि निस्किएन ? त्यसपछि मात्र उनी भोजन ग्रहण गर्दथे ।
तर अफसोस् !
सरकारले कथित मानव तस्कर र संङ्गठित अपराधको कूबाटो रोज्यो । नेताहरू पथभ्रष्ट हुँदै गए । चरम भ्रष्टचारले सीमा नै नाघ्यो । जनताले नेताहरूलाई पटक पटक खबरदारी गरेकै हुन्, कहिले सामाजिक सञ्जाल, कहिले साङ्केतिक विरोध त कहिले सडक आन्दोलनमार्फत । तर सरकारले कानमा तेल हालेर बस्यो । जनताको माग र खबरदारीलाई नजरअन्दाज गरियो । हुक्का तानेको सम्झियो । उखान र टुक्कामा सीमति गरियो । जसले गर्दा जनताको मुक्का (रामधुलाइ) खाने दिन आयो ।
नेपालमा यो दिन पक्कै आउनु नै थियो, आयो पनि । एउटा आम भनाइ नै छ -"अति गर्नु, अत्याचार नगर्नु । एक दिन पाप धूरीबाट कराउँछ ।" नभन्दै पाप धूरीबाट करायो / कराएरै छाड्यो ।
अफशोस !
जनताको कोमल हृदयमा आक्रोश, आवेग र असन्तुष्टिको बारूद चुलिँदै गयो । त्यो अचानक विष्फोट भयो र सडकमा छताछुल्ल भयो, सम्हाल्नै नसकिने गरी । नेपाल केही यस्ता जब्बर घटना र क्रमभङ्गताको श्रृंखलाबाट पटक-पटक गुज्रदैं आएको छ चाहे त्यो कोतपर्व होस् या राजदरबार हत्याकाण्ड नै किन नहोस् ।
सम्भवत: भाद्र २३-२५, २०८२ नेपालको इतिहासमा एउटा भयानक रक्तश्राव दिनको रूपमा दर्ज हुनेछ । म आफ्नो कर्तव्य पालनका सिलसिलामा मृत्युवरण गर्ने नेपाल प्रहरीका वीर सदस्यहरू लगायत जेन्जी आन्दोलनका संवाहक तथा शाहदत प्राप्त तपाईं सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा हार्दिक गहिरो समवेदनाका साथै घाईते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । र, हार्दिक बधाइ एवं धन्यवाद ती जेनजी आन्दोलनका अभियन्ताहरूलाई जसको एउटा दृढ उत्साह र दृढसङ्कल्पले नेपाल अप्रत्याशित छलाङ् मार्न सफल भयो । सम्भवत: यो विश्वकै इतिहासमा सबैभन्दा ठूलो आश्चर्य सावित भयो पनि ।
आउनुहोस्, यसलाई आध्यात्मिक आँखाबाट पर्गेल्ने कोशिष गरौं:
नढाँटीकन भन्नुपर्दा देशले एउटा जंगबहादुरको माग गरेको थियो । समयले साथ दिएको पनि थियो तर यसपालि पनि त्यो अभीष्ट पूरा हुन सकेन । यद्दपी जेन्जी आन्दोलनको मर्म एक ठाउँमा गएर नराम्रोसित चुक्यो / तुहियो ।
हो, एनकेनप्रकारेण राजसंस्थालाई सीधै नारायणहिटीमा पुर्नस्थापित गरेको भए र नेपाली सेनाको अभिभावकत्वमा जेनजी युवाहरूको आवाजलाई यथाशक्य सम्बोधन गर्न सकेको भए नेपालका सारा बिघ्नवाधा तथा समस्याहरू एकै झट्कामा समाप्त हुने थिए । नेपाललाई जहिल्यै अशान्ति र अस्थिरताको चक्रव्यूहमा फँसाएर कथित राजनीतिक-लाभ लिन पल्केका पथभष्ट्र नेता तथा तिनका पिच्छलग्गु, झोले, हुक्के, ढोके, चम्चे, चाकडीवाज, चोर, डाँका, गुण्डा, ज्यानमारा, रक्तपिपाशु, चटके, पटके, ढाक्रे, जाली, फटाहा, लफंङ्गा, छुल्याहा, ट्वाँके, ट्यापे, मुन्द्रे, खूँडे, भूँडे, भूसतीघ्रे, टपरे, आवरा, गँजेडी, घुसघोर, ठगुवा, हगुवा, ढँटुवा, पदुवा, डुलुवा, घुमवा, चरूवा, औकाते, निर्लज्ज, बेसोमती, बेसर्मी, नौटङ्की, कालोबजारी, हुल्लडबाज, अनुशासनहीन, उद्दण्ड, उश्रृंखल, साँढे, धूर्त, ठिमाहा, नपुसंक, ग्वाँचे, चोरखन्ती, विलौलिया, फासिष्ट, माफिया, दलाल, तस्कर, नाइके, जल्लाद, पातकी, ठेउके, रमिते, तमासे, हाँडीघोप्टे, स्वार्थी, शोषक, सामन्ती, अहंकारी, अराजकतावादी, अवसरवादी, गुण्डागर्दीहरूको क्षणिक राज र तिनका सम्पूर्ण अवशेषहरू नेपालको पवित्र भूमिबाट सदाको लागि अन्त्य हुने निश्चित थियो । सुरक्षा निकायहरूको एकिकृत समन्वय तथा जेन्जी युवाहरूको सहकार्यबाट यो पवित्र तथा महान यज्ञको प्रारम्भ गर्ने प्रयत्नस्वरूप नेपाललाई शून्य डिग्री (शून्य सहनशीलता) बाट निकास र विकासको गति एकैसाथ श्रीगणेशाय नम: गर्न सकिन्थ्यो ।तर भइदियो उल्टो । देशले सोझो बाटो रोज्नुपर्दथ्यो । घुमाउरो बाटो रोज्यो । समस्या ज्युँका तिऊँ !
यद्दपि देश नाथे विदेशीहरूको ठाडो हस्तक्षेप र चंङ्गुलबाट त बच्यो । तर देश अझै पनि अवतरणको सही गन्तव्य नपाएर आकाशमा भौंतारिदैं चक्कर काटिरहेको जहाज झैं सकसपूर्ण स्थितिमा गुज्रिरहेको छ । यही मौकामा चौका हान्ने प्रयास स्वरूप कयौं बौद्धिक बुज्रुक, राजनीतिक दल र तिनका मतियार तथा अवसरवादीहरू सलवलाइरहेका छन् । फँडा उठाउँदै छन् । बिनालज्जाबोध शिर उठाउने प्रयत्न गर्दैछन् । मानौं सिनो लुछ्न नपाएर गीद्ध, स्याल, हुँडार र ब्वाँसाहरू जसरी र्याल काढ्दछन् वा मुख वाइरहन्छन् । यस्तो लाग्दछ-तिनीहरूको अझै धीत मरेको छैन ।
समाजमा सधैं एउटा असल नेताको अभाव एवं खोजी भईरहन्छ । इतिहास र समयले असल मान्छेको खोजी आफैं गर्दछ । अन्तत: शुशीला कार्की नेपालको पहिलो प्रधानन्याधीश मात्र बनिनन्, अन्तरिम सरकारको बागडोर सम्हाल्ने नेपालकै प्रथम महिला प्रधानमन्त्री बन्न सफल भईन् । आमालाई हार्दिक बधाइ तथा कार्य सफलताको शुभकामना !
इतिहासको लामो विरासत बोकेको सिंहदरबार, संसदभवन र न्यायलय एकैसाथ जलेको देखेर कयौंले आनन्द लुटे । कयौंले आन्दोलन सफलताको खुसीयालीमा लामो सास फेरे । कयौंले सेल्फी खिचे । कयौं मानिसहरू भावुक भए । कयौंले रमिता हेरीरहे, टुटुटुलु । अन्तत: हजारौं मानिसहरूको आखाँ अगाडि ऐतिहासिक भवन निरीह भएर जल्यो र क्षणभरमै खरानी भयो, जसरी एउटा ज्यूँदो मानिस इट्टाभट्टीमा जल्न विवश हुन्छ । म यति मात्र भन्न सक्दछु कि यो कृत्यका साक्षी ती खलनायकहरूलाई अवश्य नै थाहा होला ज-जसले निर्ममतापूर्वक आँगो झोसे । प्रतिशोधको भावनाले अभिप्रेरित भौतिक संरचनामाथिको तामसिक आक्रमण र आगजनी गर्नमा अभ्यस्त तिनका अलच्छिना हातहरूलाई धिक्कार छ । के ती पापिष्ट असुरहरूलाई अलिकति पनि हेक्का भएन कि जलवायु परिवर्तनको दूरगामी प्रभाव ? इतिहास र विभत्स सिंहदरबारको आँशुले तिनलाई कहिल्यै माफ गर्नेछैन ।
गीतामा भगवान कृष्ण भन्नुहुन्छ- "हे भरतवंशी अर्जुन ! जहाँ जहाँ र जहिले जहिले धर्मको पतन र अधर्मको उन्नति हुन लाग्दछ त्यस समय त्यस ठाउँमा मैले अवतार लिन्छु । भक्तहरूको उद्दार, दुष्टहरूको विनाश र धर्मको पुनस्थापना गर्नको लागि म हरेक युगमा प्रकट हुन्छु ।" हो, आज कता कता यो कुरा सत्य प्रतीत हुँदैछ ।
शास्त्रानुसार प्रत्येक चारयुगमध्य कलियुगको आयु भर्खरै पाँच हजार व्यतीत हुँदैंछ । जब कि चार लाख सत्ताइहजार वर्ष कलियुगले भोग गर्न बाँकी नै छ । हामी सहजै अनुमान गर्न सक्दछौं कि त्यसबेलासम्म देशको स्थिति कति भयावह होला ?
आन्दोलनका क्रममा नेपाल अधिराज्यका महत्वपूर्ण सरकारी तथा ग्रैरसरकारी भवनहरू लगायत निजी घर, उद्योग तथा अन्य सँघसस्थाहरू समेत चरम घुसपैठको शिकार भए । लगत्तै आन्दोलनको तीर पशुपतिनाथ मन्दिरतर्फ तेर्सिएको थियो तर महादेवको शक्तिले यो कृत्य सफल हुन सकेन । सदियौंदेखिको धार्मिक सहिष्णुता र जातीय सद्भाव खल्बल्याउने दूषित मनसायले गरिएको यो शकुनी योजना यसपालि असफल भयो । तिनीहरू किनारा लाग्न बाध्य भए । यसले के स्पस्ट सङ्केत गर्दछ भने नेपथ्यमा एउटा अदृश्य गिरोह सक्रिय छ जसले श्रृंखलाबद्ध रूपमा षड्यन्त्रको तानाबाना बुनिरहेको छ र हरिण जाल ओच्छाएर नेपाल र नेपालको अस्तित्व नै समाप्त पार्न चाह्न्छ । उसले नेपालको राष्ट्रिय एकता र स्वभिमानरूपी गोलामा लुकेर बारम्बार ढुंगा प्रहार गरिरहेको छ । सामाजिक संञ्जालमार्फत स्वार्थको सुरुङ विस्तार गरिरहेको छ । तर हामी भुरुङ एकापसमा लडेर / चिलिएर मरिरहेका छौं । आफ्नै देशको सम्पत्ति तोडफोड गरिरहेका छौं । आफ्नै घरमा आगो झोसेर खरानी तापीरहेका छौं । योभन्दा ठूलो वीरता प्रदर्शन अरू के हुन सक्दछ ?
मैले सामाजिक सञ्जालमा कतिपय बौद्धिक, सामाजिक अभियन्ता तथा धार्मिक गुरुहरूको वाणीहरू सुनें, पढें जो जेन्जी आन्दोलन समर्थनको नाममा उनीहरूको कोमल मस्तिक उक्साउन / भड्काउन उद्यत देखिन्थ्यो । यो अत्यन्त दु:खद पक्ष हो । बरू अध्यात्मको शाश्वत मर्मलाई यथाशक्य उजागर गर्नुपर्दथ्यो / आध्यात्मिक उत्थानका लागि वैदिक आवाज बुलन्द गर्न सक्नुपर्दथ्यो । किनकी आन्दोलनको आगो नै आवेग हो भने संयमता पानी । अध्यात्मको पहेलु एवं स्वीकार्यताबिनाको आन्दोलन जहिल्यै हिंस्रक र अराजक हुने गर्दछ । यसलाई संयमतारूपी पानीले निभाउन सकिन्छ, न कि पानीको फोहोराले मात्र । यो कुरा जेन्जी युवाहरू लगयात सम्पूर्ण नेपालीले बुझ्न शख्त जरूरी छ । अन्यथा नेपाल र नेपालीको अस्तित्व नै खरानी नहोला भन्न सकिन्न ।
खुसीको कुरो !
कूचोले बढानुपर्ने कसिङ्गर हावाले बढारीदयो । यस अर्थमा जेनजी युवाहरूको बलिदान, निष्ठा र भ्रष्टचारमुक्त समाजको परिकल्पना सह्रानीय छ, जसको कारण वर्षौंदेखि जनताको दु:ख, पसिना र आलो रगत चुसेर बाँचेका परजीवीहरूको सात्तो गयो / भागाभाग भयो । दुई दिनमै सत्ता ग्वार्लम्म ढल्दा र संकटको घडीमा आफ्नो देश नै छाडेर भाग्ने कायर नेताहरूको कहाँ गयो राष्ट्रप्रेम, राष्ट्रियता र जनता जनार्दनको नारा ? यस्ता पथभ्रष्ट नेताहरूबाट देश र जनताले सुखी नेपाली र समृद्ध नेपालको के अपेक्षा गर्ने ? आफ्नै देशमा लाश जलाउने ठाउँ पनि राखेनन् यिनीहरूले । यस्ता पातकीहरूको मलामी जानु व्यर्थ छ । भ्रष्टचारीहरूको पुस्तान्तरण र आनुवांशिक अवशेषहरू नेपाल धर्तीमा अझै बाँकी छन् जसको समुल अन्त्य नेपालको सर्वाङ्गीण हितका लागि अत्यन्त जरूरी एवं अनिवार्य छ ।
शास्त्रमा भनिएको छ- "आफ्ना राज्यका बासिन्दाहरूको सुरक्षा गर्नु सबै लोकका राजाहरूको कर्त्तव्य हो । त्यसैले समस्त राजाहरूले आफ्ना नागरिकहरूलाई राम्रो शासन गर्न र तिनलाई सांसारिक बन्धनबाट रक्षा गर्ने भगवद्गीताको विज्ञान बुझ्नैपर्दछ । मानव जीवन आध्यात्मिक ज्ञान आर्जन गर्नका लागि हो । भगवानसँग उसको शास्वत सम्बन्ध छ । त्यसैले सम्पूर्ण राज्य तथा समस्त लोकका शासकहरूले आफ्ना नागरिकलाई शिक्षा, संस्कृति र भक्तिद्वारा यो कुरा सिकाउनुपर्दछ । अर्को शब्दमा सबै राज्यका प्रशासन प्रमुखहरूले कृष्णभावनाको विज्ञानलाई फैलाउनुपर्दछ, जसले गर्दा सबै नागरिकहरूले यो महाविज्ञानबाट फाइदा लिन सकून् र मानवजीवनरुपी अवसरको सदुपयोग गर्दै सफलताको मार्गमा अघि बढ्न सकून् ।-पेज १८१, श्रीमद्भगवद्गीता यथारूप ।
हो, यदि नेताहरूले यो कुरा जनतालाई समयमै प्रशिक्षित एवं सुसुचित गरेको भए नेपालमा आज यो स्थिति नै आउँदैनथ्यो । अर्को कुरा यसमा केवल नेताहरू मात्र दोषी छैनन् । समग्रमा भन्नुपर्दा स्वार्थी जनता, सामाजिक संञ्जाल प्रयोगकर्ता, पत्रकार, पत्रुकार, लगायत कतिपय सरकारी तथा गैरसरकारी र अन्य संघसंस्थाका साथै सचेत नागरिकहरू पनि जिम्मेवार छन् जसले असत्य, अन्याय, पाप, अधर्म, पतन र नरकको बाटो रोजे न कि सत्यको राजमार्ग ।
बिडम्बना !
नेपाललाई 'धर्मनिरपेक्ष राज्य' घोषणा गरियो, बिनासुझबुझ । यो नै नेताहरूले गरेको सबभन्दा ठूलो धोखाधडी तथा अभिशाप थियो, नेपाल र नेपालीका लागि ।
त्यति मात्र होइन !
प्यारा राजा वीरेन्द्रको वंशज नाश गरियो । नेपाली सेनालाई जबरजस्त संसद मातहतमा ल्याइयो । यसको मुख्य कारण थियो–"सेनालाई आफ्नो स्वार्थानुकूल प्रयोग एवं परिचालन गर्नु ।" साथै पालैपालो सत्ताको रजाईँ गर्नुथियो, गरे । अकूत सम्पत्ति कमाउनु थियो, कमाए । र, ब्रह्मलुट मच्चाउनु थियो, मच्चाए ।
गीतामा स्पस्ट भनिएको छ: "वर्णाश्रम धर्मको नियमअनुसार मर्नुभन्दा अगाडि आफूले गरेका पापकर्महरूको प्रायश्चित गर्नुपर्दछ । पापकर्मीहरूले यो विधिलाई पूरा गर्नैपर्दछ । यदि यस्तो प्रायश्चित गरिएन भने त्यो पापी व्यक्तिलाई अवश्य पनि नरकमा पठाइन्छ । त्यहाँ पुगेर उक्त व्यक्तिले पाप कर्म गरेको हुनाले कष्टमय जीवन भोग्नुपर्दछ ।"-पेज ६१, श्रीमद्भावद्गीता यथारूप ।
भगौडा नेता तथा कैदीबन्दीहरूलाई धेरै के भनौं ? फुर्सद छ भने 'गीता' अवश्य पढून् र मर्नुभन्दा अगाडि पापको प्रायश्चित गरून् । अन्यथा आजीवन पाप कर्म गरको हुनाले घोर नारकीय जीवन भोग्न तयार होऊन् ।
वास्तवमा नेताहरूले सनातन वैदिक धर्मको मर्म बुझेको भए निश्चय नै कामयाव 'इमान्दार नेता' को रूपमा प्रस्तुत हुन कर लाग्दथ्यो । नेताहरूले जुटको बदलामा झूटको खेती गरे । आश्वासनको गुलियो चक्लेट बाँडेर पटक पटक चुनाब जिते । बिचौलियाहरूको आडमा जनताको ढाड टेकेर सत्तामा पुगे । कालो धन भकारी र भाङ्ग्राको बोरामा कोच्न भ्याए । भ्रष्ट्रचारीहरूको अनुहार सम्झँदा पनि घृणा लाग्दछ । तिनीहरूले हजारौं पटक गंगामा स्नान गरे पनि पाप पखाल्न सम्भव छैन ।
देशमा एउटा असल अभिभावकको अभाव भई नै रहन्छ । किनभने असल नेतृत्वबिनाको देश गोठालाबिनाको गाईवस्तुको हूल जस्तै हुन्छ । जनता रानोबिनाको माहुरी जस्तै हुन्छन् । राजसंस्थालाई पूर्णतया पुर्नजीवित गर्न नसकिएता पनि एउटा मैनबत्तीको उज्यालोलाई स्वीकार गर्न सकिन्छ / स्वीकार गर्नैपर्ने हुन्छ । यसले अन्तराष्ट्रिय स्तरमा नेपाल र नेपालीको राष्ट्रिय एकता, स्वभिमान र गरिमालाई किञ्चित घटाउने छैन, बरू बढाउनेछ । साथै सुनको कचौरा लिएर भीख माग्दै हिँड्ने नेपालका भष्ट्र राजनीतिक दल, पथभ्रष्ट नेता र तिनका पिछलग्गुहरूको औचित्य तथा घृणित सत्तामोह सदाका लागि समाप्त हुनेछ ।
यदि हामी बुद्धिमतापूर्ण ढंगबाट इतिहासले दिएको यो सुनौलो अवसर र जिम्मेवारीको सही सदुपयोग गर्न सकेनौं भने पुन:असफल हुनेछौं । राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीकका रूपमा कायम नगरेसम्म देशमा पूर्ववत सुख, शान्ति र स्थिरता सम्भव देखिदैंन । किनभने नेपाल अनेकौं बखेडा झिकेर तिकडम मच्चाउनेहरूको दूषित अखडा बन्दै गएको छ र यो प्रवृत्ति भविश्यमा अरू बढ्दै जाने निश्चित प्राय: छ । विश्वमान चित्रमा नेपाल मणि हराएको भिल्लहरूको देशको रूपमा रूपान्तरित हुँदैंछ । नेपालमा पछिल्लो समयमा विकसित आनुवांशिक घटनाक्रमले यसको पुष्टि गरिरहेको छ जुन् घाम जत्तिकै छर्लङ्ग छ / सबैलाई जगजाहेर नै छ ।
अन्तमा:
हामीले देखीसकेका / भोगीसकेका छौं कि विगतमा भएका हजारौं राजनीतिक सम्झौता, हजारौं वलिदान, कथित जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा भएका उपलब्धि र घटनाक्रमहरू साक्षी छन्, जुन् आज सबै निरर्थक सावित भइसकेको छ । तसर्थ अब देश धूलो टक्टक्याएर उठ्नुपर्दछ । खरानीबाट बौरिनुपर्दछ । नेपाललाई पुन: शून्य डिग्रीबाट विकासको गति शुरुवात गर्नुपर्नेछ । यदि साँच्चिकै देशलाई युगान्तकारी परिवर्तन गर्न चाहेकै हो भने जेनजी नयाँ पुस्ताको काँधमा राष्ट्रको विराट जिम्मेवारी, मन-मस्तिकमा संयमता र समझदारी, वचनमा पक्का र हृदयमा निष्ठा (इमान्दारिता) अनिवार्य छ । तबमात्र देशको आमुल परिवर्तन सम्भव छ । अन्यथा हरीबिनाको प्रहरी, प्रहरीबिनाको समाज र पथभ्रष्ट नेता तथा चोरहरूको जत्थाले भरिएको देशमा स्थायी सुख, शान्ति र भष्ट्रचारमुक्त हुन्छ भन्नु दिवास्वप्न मात्र हुनेछ । सबैलाई चेतना भया ।
नेपाली हामी रहूँला कहाँ नेपालै नरहे...!