गलकोट। नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ-२ की उम्मेदवार मञ्जु शर्मा चालिसेले प्रतिनिधि सभाको आगामी निर्वाचन राष्ट्रियता र मुलुकको स्वाधीनतासँग प्रत्यक्ष रूपमा जोडिएको निर्वाचन भएको बताएकी छन्। नेकपा एमाले गलकोट नगरकमिटीले आयोजना गरेको पूर्ण बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै चालिसेले यो निर्वाचन सामान्य सत्ता परिवर्तनको विषय मात्र नभएको स्पष्ट पारिन्।
चालिसेले बाह्य शक्तिको प्रभाव, गलत एजेन्डा र अस्थिरताको राजनीतिबाट देशलाई जोगाउन सचेत भएर निर्णय गर्नुपर्नेमा जोड दिइन। सामाजिक सञ्जालको प्रभावबारे कार्यकर्ता र मतदातालाई सचेत रहन आग्रह गर्दै उनले सामाजिक सञ्जालमा फैलाइने भ्रम, अफवाह र मनस्थिति बनाउने प्रयासलाई चिर्ने जिम्मेवारी कार्यकर्ताको भएको बताइन ।
चालिसेले भनिन्– सामाजिक सञ्जालमा जे देखियो, त्यही सत्य ठान्ने प्रवृत्ति खतरनाक छ, यथार्थ, तथ्य र कामको आधारमा जनतालाई बुझाउने काम गर्नुपर्छ ।
नेकपा एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य सुनिल शेरचनले बागलुङको पश्चिम क्षेत्र अधिकारका क्षेत्रमापछि परेको बताउँदै विकास निर्माणका अधिकार प्राप्तिका लागि एमालेको जीत अपरिहार्य रहेको बताए । प्रतिनिधि सभाको निर्वाचन एक अवसर रहेको बताउँदै उक्त अवसरको पश्चिम बाग्लुङका नागरिकले उपयोग गर्न सूर्य चिन्हमा मतदान गर्नु पर्ने उनको भनाइ थियो।
नेकपा एमाले गण्डकी प्रदेश सदस्य तिलक उप्रेती नेकपा एमाले बागलुङका कार्यवाहक अध्यक्ष तथा निर्वाचन क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाद भुसालले नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको बताए । एमाले अन्य पार्टीझैँ केवल एउटा राजनीतिक दल मात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको कारण आसन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलो शक्ति हुने दाबी गरे ।
सो अवसरमा नेकपा एमाले गण्डकी प्रदेश सदस्य तिलक उप्रेतीको संयोजक र नेकपा एमाले गलकोटका कार्यवाहक अध्यक्ष ईश्वर बोहरा सचिव रहने गरी ३ सय १ सदस्यीय गलकोट नगरपालिका स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। त्यसैगरी नेकपा एमाले गलकोट नगर कमिटीका उपसचिव बिनु केसी संयोजक र अखिल नेपाल महिला संघ गलकोट नगर कमिटी अध्यक्ष सुमित्रा कार्की सचिव रहने गरी १सय १ सदस्यीय रहेको महिला परिचालन कमिटी गठन गरिएको छ।