काठमाडौं : प्रहरीको कुटपिटबाट किशोरको मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा स्थानीयले तोडफोड गरेका छन्। गुठीचौर गाउँपालिका-३ गर्ज्याङकोटका १४ वर्षीय पदम बुढाको बुधबार दिउँसो ३ बजे मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक युवन चौधरीले बताए।
बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको थियो। ‘एक्कासि बिरामी भएपछि किशोरलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो। बुधबार मृत्यु भयो,’ उनले भने। बालकको मृत्युपछि बिहीबार स्थानीय तथा पीडित पक्षले ढुङ्गामुढा तथा तोडफोड गरेको उनले बताए। यसक्रममा १० जना प्रहरी सामान्य घाइते भएको उनले बताए।
प्रहरी निरीक्षक चौधरीका अनुसार पदम बुढा गत माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए। उनीसहित केही १५/१७ वर्षीय किशोर फोन हराएको भन्दै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए। उनीहरू करिब मध्याह्न १२ बजे कार्यालय पुगेर दिउँसो ३ बजे फर्किएको चौधरीले बताए।
‘प्रारम्भिक जानकारी अनुसार ती किशोरसहित केही व्यक्ति माघ १७ गते बिहेमा गएका थिए। ६(७ जना बिहेमा गएर त्यहीँ बसे। एक जना राति साढे ८ बजे म यहाँ सुत्दिनँ भनेर हिँडे,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘बिहान उनीहरू उठेपछि भने एक जनाको फोन हराएको रहेछ। त्यसपछि उनीहरूले एक-अर्कालाई दोष लगाउन थालेका रहेछन्।’
पछि फोन हराएका व्यक्तिले अरू दुई(तीन जनाको फोन लिएर जिल्ला प्रहरी कार्यालयमा जाऔं, त्यही छलफल गरौंला भनी पुगेका थिए। ‘त्यसदिन हाम्रो मुद्दा शाखा अरू अनुसन्धानमा व्यस्त थियो। उनीहरूले कन्ट्रोल रूममा जानकारी गराए। केही सोधपुछ गरी कसले लगेको भन्ने पत्ता नलागेपछि फिर्ता पठाइयो,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘घर परिवारले भने प्रहरी कार्यालय गएका थिए, त्यहीँ प्रहरीले कुटेको कारण मृत्यु भयो भन्ने आरोप लगाएका छन्।’
सोधपुछको क्रममा कुटपिट भएरनभएको भन्ने प्रश्नमा उनले यस विषयमा अनुसन्धान भइरहेको बताए। ‘कुटपिट भएको थियो वा थिएन भन्ने हामीले पनि अनुसन्धान नगरी भन्न सकिन्न,’ उनले भने। यस विषयमा बिहीबार जिल्ला प्रशासन कार्यालय, जुम्लामा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक तथा पीडित परिवारका पक्षहरू बसेर छलफल भएको छ।
सो छलफलमा घटनाबारे सत्यतथ्य बुझ्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, पीडित परिवारलाई आर्थिक रूपमा सहयोग गर्न प्रदेश सरकारसँग अनुरोध गर्ने र अनुसन्धान गरी दोषीलाई कारबाही गर्नेजस्ता निर्णयहरू गरेको उनले चौधरीले बताए। मृतकका दाइ शिव बुढाले भने प्रहरीकै कुटपिटबाट मृत्यु भएको दाबी गरेका छन्।
‘त्यो दिन प्रहरीले कुटपिट गरेको थियो। त्यो दिन बिरामी भएपछि उनलाई उपचारको लागि अस्पताल लगिएको थियो,’ उनले सेतोपाटीसँग भने, ‘अस्ति फेरि अस्पताल भर्ना गरियो। हिजो आइसियूमा मृत्यु भयो।’ शवको पोष्टमार्टम रिपोर्ट आइसकेपछि पनि थप कुरा थाहा पाइने प्रहरी निरीक्षक चौधरीले बताए।
‘मृत्यु कसरी भयो भन्ने पोष्टमार्टमपछि थाहा होला। अस्पतालले चाहिँ फोक्सोमा रगत जमेर भनेको छ,’ प्रहरी निरीक्षक चौधरीले भने। प्रमुख जिल्ला अधिकारी सिडिओ भूपेन्द्र थापाले यो घटनापछि एक जना प्रहरी जवानलाई निलम्बन गरेको बताए।
‘प्रहरीले कुटपिट गरेको भन्ने उहाँहरूको आरोप छ। त्यसको अनुसन्धानको लागि हामीले गृह मन्त्रालयमा अनुरोध गरेका छौं,’ सिडिओ थापाले भने, ‘सोधपुछको क्रममा प्रहरीले कुटेको भन्ने छ। जघन्य रूपमै कुटेको चाहिँ देखिन्न। घाउ-डाम केही पनि नभएको तर त्यस दिन घर गएपछि युवक बिरामी भएर अस्पताल लगिएको रहेछ।’
निलम्बनमा पर्ने प्रहरी जवान कृष्ण अधिकारी छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निमित्त निर्देशक अनुप समालले पीडित माघ ३० गते खुट्टा दुख्यो भनेर इमर्जेन्सीमा आएको बताए। एक्सरे गर्दा उनको खुट्टा सुन्निएको उनले बताए।
‘हामीले औषधी दिएर डिस्चार्ज गर्यौं,’ उनले भने, ‘तर, घर गएपछि उहाँलाई सास फेर्न गाह्रो भएपछि फागुन ४ गते ओपिडिमा ल्याइयो। त्यहाँ हामीले सबैलाई देखायौं र भर्ना गर्यौं। भर्ना गरेपछि झन्(झन् अवस्था नाजुक बन्दै गयो। आइसियू हुँदै भेन्टिलेटरमा राखेर उपचार गर्यौं। तर, हिजो बिहान मृत्यु भयो।’
समालले विरामीको लक्षणका आधारमा जाँच गर्दा फोक्सोमा बोसो वा रगतको टुक्रा उछिट्टिएर रगतको माध्ययमबाट फोक्सोको नलीलाई ब्लक गरेको देखिएको बताए। राहतको कुराहरू पनि हामीले अनुरोध गरिसकेका छौं। एक जना प्रहरी जवानलाई निलम्बन गरेका छौं। दोषी देखिए कारबाही गर्छौं।
भर्खरै वार्ता सकिएको छ। मोबाइलको चोरी भएको विषय थियो। उसले चोरी गर्यो भने उजुरी नदिइ आफ्नै चिनजानका प्रहरीलाई खबर गरेछन्। उहाँलाई भनेर कोठामा राखेर खै कति हानेछन्। हानेको दिनै बिरामी भयो। त्यही पीडाले हिजो बित्यो, उनले भने।