दाङ : दाङको बबई गाउँपालिकास्थित ट्वाङखोलामा ११ वर्षीय बालिका बलात्कारको शिकार भएकी छन् । मंगलबार साँझ ६ बजेतिर दही किनेर फर्केकी बालिकालाई ट्वाङखोला भन्ने ठाउँमा १३ वर्षीय बालकले बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्न आरोपमा प्रहरीले १२ र १३ वर्षीय दुईजना बालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ट्वाङखोला जंगलमा तरकारी खोज्न गएका दुई बालकले बालिका देखेपछि आक्रमण गरेका थिए । ईलाका प्रहरी कार्यालय खिलतपुरका इन्स्पेक्टर मोहन विक्रम केसी नेतृत्वको टिमले दुवै बालकलाई पक्राउ गरेको हो ।
पीडित बालिकाकी आमा बिरामी छन् । दिदीको दुवै मिर्गौला ‘फेल’ छ । आमाको लागि दही किन्न स्थानीय खयरबुट्टी बजारमा गएर फर्किँदै गर्दा बालिकालाई दुई बालकले जंगलमा घेरा हालेका थिए । बालिकासँगै गएका उनका भाइलाई एकजनाले हप्काउँदै घटनास्थलबाट लखेटेको र १३ वर्षीय बालकले चाहिँ बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् ।
‘दुईजना बालक पक्राउ परेका छन्,’ जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले भने, ‘थप अनुसन्धान गर्दैछौं ।’ मुख थुनेर बालिका बलात्कार गरेपछि आरोपीले ‘कसैलाई भनेमा राम्रो नहुने’ धम्की दिएका थिए ।
दही खान दिन्छु र पैसा पनि दिन्छु भनेर बालिका त्यहाँबाट उम्केको घटनास्थलमा रहेका इन्सपेक्टर मोहनविक्रम केसीले बताए । बालिकालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । बालिकाको योनीबाट रगत बगिरहेको बताइएको छ ।