काठमाडौं : एक हप्ताअघि बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भयो । हालसम्म दोषी पत्ता लागिसकेका छैनन् । घटनामा संलग्नलाई चाँडो पक्राउ गरी कारबाहीको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन भइरहेका छन् ।
माघ १६ गते नेपालगञ्जमा एक युवकले १५ वर्षीया किशोरीलाई होटलमा लगी बलात्कार प्रयासपछि हत्या गर्न खोजेका थिए । युवती चिच्याएपछि होटलवालाले थाहा पाएर उद्धार गरी अस्पताल पुर्याए । आकस्मिक उपचारपछि उनलाई एक संस्थामा राखिएको छ ।
अधिकारकर्मी लक्ष्मी तिवारीका अनुसार विद्यालयबाट घर फर्कंदै गरेकी किशोरीलाई युवकले चक्कु र ब्लेड देखाएर डरत्रासमा पारी होटल पुर्याएका थिए । ‘बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि घाँटीमा थिची, डोरीले बाँधेर, लात्ती–मुक्काले हिर्काएर अचेत पारेछ,’ तिवारीले भनिन्, ‘नाक र आँखाबाट रगत निस्केपछि ढोका थुनेर भागेछ ।’
पीडितकी आमाले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी छन् । प्रहरीले अनुसन्धान गरिरहेको बताएपनि घटनामा संलग्न युवक पक्राउ परेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका प्रहरी निरीक्षक ईश्वरदेव गिरीले भने, ‘भारत गएको भन्ने बुझिएको छ, खोज्दैछौं ।’ माघ १४ गते काठमाडौंको जोरपाटी बस्ने २३ वर्षीया युवतीलाई सौतेला बाबुले बलात्कार गरी हत्या प्रयास गरे । प्रतिकारमा हात टोकिदिएकी थिइन् । त्यसपछि उनले युवतीको टाउकामा ढुंगाले हाने, फलाममा ठोक्काएर अर्धचेत बनाएका थिए ।
युवतीको टाउकोमा गम्भीर चोट लागेको छ भने घाँटीको हड्डी भाँचिएको छ । युवतीको अवस्था बुझ्न मंगलबार वीर अस्पताल पुगेकी राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले भनिन्, ‘स्थिति गम्भीर पायौं, अझै पनि होस खुल्न सकेको रहेनछ ।’
घटनापछि सौतेला बाबुले युवतीकी आमालाई फोनमा घटनाबारे बताएर धनुषास्थित घर भागेका थिए । माघ १५ गते पक्राउ परेका उनले बयानमा मादक पदार्थको मातमा अपराध हुन पुगेको बताएको बौद्ध प्रहरी वृत्तले जनाएको छ । उनलाई प्रहरीले बलात्कार र ज्यान मार्ने उद्योगमा कारबाही अगाडि बढाएको छ ।
असोज ७ गते बझाङको मस्टा गाउँपालिकाका राजेन्द्र बोहराले सोही ठाउँकी १३ वर्षीया सम्झना कामीलाई बलात्कारपछि हत्या गरे । सम्झना गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेको मौका छोपेर उनले शिव मन्दिरभित्र बलात्कार गरी त्रिशूल र घनले हानेका थिए ।
पछिल्लो समय बलात्कारका घटना बढेसँगै हत्या र हत्या प्रयासमा समेत वृद्धि भएको यी प्रतिनिधि घटनाले प्रस्ट पार्छन् । नेपालमा दैनिक सरदर ६ देखि ७ महिला, बालबालिका तथा किशोरी बलात्कृत हुने प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो अढाई वर्षमा ५ हजार ६३५ महिला, बालबालिका तथा किशोरी बलात्कृत भए । आर्थिक वर्ष २०७५र०७६ मा २ हजार २३०, २०७६र०७७ मा २ हजार १४४ र चालू आर्थिक वर्षको पुससम्म १ हजार २६० जना बलात्कृत भएका छन् ।
यो अवधिमा बलात्कारपछि १६ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । बैतडीमा भागरथी भट्टको बलात्कारपछि हत्या हुँदा यो संख्या १७ पुगेको छ ।
घटनामा संलग्न व्यक्ति अपराधको ज्युँदो प्रमाण रहेपछि फस्ने डरले हत्या र हत्या प्रयास गर्ने गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । ‘आवेगमा अपराध गर्दा पीडित स्वयं प्रमाण हुने भइहाल्यो,’ कुँवरले भने, ‘ज्युँदो प्रमाण हुँदा फस्छु भन्ने हुन्छ, त्यही भएर प्रमाण लुकाउनका लागि हत्या गर्छ, कति त हत्या प्रयास गरेर भाग्छन् ।’
अधिवक्ता सविन श्रेष्ठले अपराधमा संलग्नले प्रमाण मेटाउन र कारबाहीबाट बच्न क्रूरताको बाटो लिने गरेको बताएका छन् । ‘पहिला बलात्कार भए पनि उजुरी हुँदैनथ्यो, घटना बाहिर आउँदैनथ्यो,’ उनले भने, ‘अहिले अपराध ढिलो–चाँडो सार्वजनिक हुन्छ । उजुरी आउँछ । कारबाही हुनुपर्छ भन्ने मागले पनि प्रमाण मेट्न हत्या र हत्या प्रयासजस्तो क्रूर बाटो रोजेको देखिन्छ ।’
निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि पीडितको न्यायका लागि सडकदेखि सदनसम्म तातेको थियो । यत्तिका दबाबले पनि हालसम्म अपराधमा संलग्न पत्ता लाग्न सकेका छैनन् ।
‘निर्मलाको केसमा त्यत्रो जुलुस निकाले पनि कोही अपराधी पक्राउ परेन,’ अधिवक्ता श्रेष्ठले भने, ‘अपराधको प्रमाण लुकाउने तरिका त यो पो रहेछ भन्ने मानसिकताले पनि हत्याको विन्दुसम्म गएको हुन सक्छ ।’
कञ्चनपुरकी १३ वर्षीया पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले राजनीतिक प्रभाव र प्रहरीको अनुसन्धान प्रणाली वैज्ञानिक नहुँदा यस्ता घटनामा कमी नआएको बताएकी छन् ।
‘हत्या गर्नुमा अपराधको प्रमाण लोप हुने त छँदैछ, कमजोर न्याय, अनुसन्धान प्रणाली र राजनीतिक दबाबले गर्दा आपराधिक व्यक्तिको मनोबल बढिरहेको छ,’ अन्सारीले भनिन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।