दिपेन्द्र परियार, बरेङ
बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले महिलाहरुको विकासको लागि सामाजिक, आर्थिक, नैतिक रुपले सक्षम गराउनुपर्ने बताएकी छिन् ।
बरेङ गाँउपालिका वडा नम्बर २ हुग्दिशिर सुदालामा महिला सचेतनाका लागि अभिमुखिकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पुनले महिलालाई सक्षम बनाउन घर परिवारबाटै सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
पुनले घर परिवारबाटको सहयोगले महिला जुनसुकै तह पुग्न सक्ने भन्दै महिला सशक्तिकरणको लागि महिला नै जागरुक हुनु पर्ने बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले महिलाहरूको हक अधिकारको सुरक्षा र प्रवद्र्धनको लागि राज्यले अधिकारमा आधरित विकास अवधारणाको अवलम्बन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रमहरू संचालन गरेको बताए ।
विभेदकारी कानुनहरू हटाई हरेक क्षेत्रका महिलाहरूलाई सहभागिता गराई महिलाहरूमा भएको अन्तर्निहित क्षमतालाई वृद्धि गर्न यस्ता खालका कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा बरेङ गाँउपालिका वडा नम्बर २ का सचिव सिमाना छन्त्याल पुनले पञ्जीकरण तथा वडा नम्बर २ हुग्दिशिरमा परेका सबै योजनाकाबारे महिला सहभागिताको विषयमा सहजिकरण गरेकी थिइन् ।
गाउँपालिकाकी साहयक महिला विकास निरिक्षक निसा गिरिले महिलाको वर्तमान अवस्था, मानव अधिकार, महिला सम्बन्धी मैजुदा कानुन, आमासमुह दर्ता तथा महिला सशक्ती करण सम्बन्धी सहजीकरण गरेकी थिइन् ।
स्वास्थ्यर्की मार्टिना थापाले महिलाको प्रजनन क्षमता, गर्भावस्था, पोषण, पाठेघर तथा स्तन क्यान्सर लगाएत महिला स्वास्थ्य सम्बन्धी सहजीकरण गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत रमेश थापा, शिक्षा अधिकृत सुर्यप्रसाद शर्मा लगाएतले सहजीकरण गरेका थिए ।
कार्यक्रममा हुग्दिशिरका बिभिन्न आमासमुहरुका २७ जना प्रतिनिधी महिलाहरुको सहभागिता थियो । वडा नम्बर २ का सचिब सिमाना छन्त्याल पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।