बागलुङ: बागलुङका तीन पत्रकारलाई पुरस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १२ औं साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा दुई वटा पुरस्कारबाट तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।
नेपाल पत्रकार महासंघ बागलुङ मार्फत वितरण हुँदै आएको दुई वटा पुरस्कार मंगलबार वितरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष हरिनारायण गौतमले आफ्नो माता पिताको नाममा स्थापना गरेको नन्दहरि सिर्जनशील पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेश राजभण्डारीलाई प्रदान गरिएको छ ।
ज्येष्ठता क्रियाशीलता र निरन्तरताको आधारमा प्रदान गरिने उक्त पुरस्कार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजभण्डारीलाई प्रदान गरेका थिए ।

उक्त पुरस्कारको राशी नगद १५ हजार एक सय ५५ रुपैयाँ रहेको छ । नयाँ विश्व अनलाईन पत्रिकाका सम्पादक रहेको राजभण्डारी लामो समयदेखि बागलुङको पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।
हरिलक्ष्मी नारायणप्रसाद स्मृति पुरस्कारबाट बागलुङका दुई युवा पत्रकारलाई पुरस्कृत गरिएको छ । बागलुङ नगरपालिका—२ का तिर्थप्रसाद श्रेष्ठ र उनको परिवारले स्थापना गरेको उक्त पुरस्कारबाट समाचार लेखन र स्तम्भ लेखनतर्फ गरी दुई जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।

समाचार लेखनतर्फ ढोरपाटन दैनिक तथा राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार तारानाथ आचार्य र स्तम्भ लेखन तर्फ सामुदायिक रेडियो परिवर्तनका स्टेशसन म्यानेजर रामनारायण सुवेदीलाई प्रदान गरिएको छ ।
यो पुरस्कार हरेक वर्ष प्रदान गरिन्छ । पुरस्कारकार राशी जनही १५ हजार रहेको छ । पुरस्कृत पत्रकारहरु सबैलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पुरस्कारका संस्थापकहरुले
नगद सहित दोसल्ला सहित सम्मानपत्रले पुरस्कृत गरेका थिए ।