बुर्तिबाङ : कोभिड १९ का बिरामीको संख्या बढ्दै जाँदा बागलुङको बुर्तिबाङ प्राथमिक स्वाथ्य केन्द्रमा बिरामीको उपचार तथा व्यवस्थापनको तयारी फितलो देखिएको छ । स्थानीय तहको समयमा सक्रियता हुन नसकेका कारण तत्काल अक्सिजन सिलिन्डरको आवश्यकतासँगै अन्य स्वास्थ्य सामग्रीको अभाव भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए ।
हाल ५ वटा अक्सिजन सिलिन्डर मात्र छ । जटिल प्रकारको बिरामी आएमा एक जनालाई दैनिक ३ वटासम्म अक्सिजन सिलिन्डर आवश्यक डा. मल्लले बताए ।दैनिक रुपमा झाडापखाला, ज्वरो, रुघाखोकी, जस्ता समस्या भएका बिरामी स्वास्थ्य केन्द्रमा आउने गरेका छन् । तर जटिल प्रकारको बिरामी आए अक्सिजनको समस्या रहेको मल्लको भनाई छ । गत वर्ष कोरोना संक्रमितको उपचारमा खटिने स्थास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने आश्वासन दिए पनि हालसम्म नपाएको स्वास्थ्यकर्मीको गुनासो छ ।
त्यस्तै आवश्यक औषधिको समेत अभाव रहेको र अन्य सामग्रीहरु समेत अभाव हुना थालेको पाइएको छ । गत वर्ष एम्बुलेन्स अभाव रहेको यस क्षेत्रमा यस पटक दुई वटा एम्बुलेन्स आएका छन् । डा. मल्लले ढोरपाटन नगरपालिकाले ५० शैयाको आइसोलेशन बनाउने तयारी गरे पनि आइसोलेशनले मात्रसमस्या समाधान नहुने भन्दै अक्सिजन व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनु पर्ने बताए ।
आवश्यक स्वास्थ्य सामग्री अभाव रहेका कारण स्वास्थ्यकर्मीलाई काम गर्न चुनौती रहेको ढोरपाटन नगरपालिकाका स्वास्थ्य सम्योजक घनश्याम शर्माले बताए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका , बडिगाड गाउँपालिका सहित छिमेकी जिल्ला गुल्मी, रुकुम लगाएतका क्षेत्रबाट बिरामीहरु आउने गरेका हुन् ।