उद्यम

जागिर छाडेर बाख्रा पाल्दै एक ईन्जिनियर !

जागिर छाडेर बाख्रा पाल्दै एक ईन्जिनियर !

  • पौष ४, २०७७ शनिवार
  • १८:३९:१६ बजे
  • 6.4K
    SHARES
  • जागिर छाडेर बाख्रा पाल्दै एक ईन्जिनियर !

    बागलुङ : बागलुङ नगरपालिका—१४ का हेमसागर पौडल इन्जिनियर हुन् ।

     अध्ययनको हिसाबले एक ईन्जिनियर भए पनि उनी आफ्नो वास्तविक परिचय बदल्ने काममा लागेका छन् ।

    उनलाई अचेल किसानको रुपमा चिन्न थालिएको छ । 

    आफुले अध्ययन गरेको विषयको सर्टिफिकेटलाई बाकसमा थन्क्याएर पौडेल कृषि तथा पशुपालनमा लागेका छन् । उनको परिचय इन्जिनियरबाट बदलिएर किसानमा परिणत भएको छ ।

    कोरोना महामारी सुरु नहुँदासम्म उनी काठमाडौंमै जागिरे थिए । कोरोना कहर रोकथामका लागि भन्दै सरकारले लक डाउनको घोषणा ग-यो ।

     उनी आफ्नो जन्मघर फर्किए । इलेक्टा««ेनिक्स एण्ड कम्युनिकेशनमा इन्जिनियरिङ गरेका पौडेललाई त्यसपछि जागिरमा फर्क मन लागेन । अचेल उनी गाउँमै दाउरा घाँस गरेर बाख्रा पालेर बस्न थालेका छन् । बारीमा तरकारी फलाएका छन् । 

    आफै उद्यमी बन्नु र जागिरे जीवन जिउनुबीचको अन्तर छुट्याउने उनलाई कोरोना महामारीले सघायो ।

    उनकै बाबु टुकनाथ पौडेलले पनि छोरालाई बाख्रा पालनका लागि प्रेरणा दिए । लक डाउनमा घर फर्केपछि दैनिकी फेरिएका पौडेलले सधैंलाई त्यही फेरिएको दैनिकी जिउने निधो गरे । 

    ‘पहिले देखि नै मैले आफै केही गर्नुपर्छ भन्ने लागेको थियो, तर मेरो पढाई अर्कै विषय थियो,’ उनी भन्छन्,‘पढाई सकेपछि काठमाडौंमै सम्बन्धित फिल्डमै काम गर्दै आएको थिएँ ।

    अहिले गाउँ फर्केपछि त्यो काममा फर्केर जान मन लागेन अब पशुपालन र कृषि कर्म गर्छु भन्ने सोचेर अगाडी बढेको छु ।’

    आफ्नै उद्यममा लाग्नका लागि बुबाले नै प्रेरणा दिएको उनी बताउँछन् ।

    ‘बुबाले पनि आफै उद्यम गरेर केही गर्नुपर्छ भन्नुभयो, मेरो पनि पहिला देखि नै मनमा यस्तै कुराहरु आईरहन्थे । अहिले आफ्ै उद्यमी बन्ने गरी काममा लागेको छु,’ उनले भने । 

    बन्दाबन्दीले आफुलाई आफ्नो जीवनको गन्तव्य पहिल्याउन सहयोग गरेको उनी बताउँछन् ।

    ‘कोरोना महामारी आयो, धेरैलाई बेरोजगार बनायो,’ उनी भन्छन्,‘मलाई भने आफ्नो जीवनका गन्तव्य पहिल्याउन सहयोग ग-यो । उद्यमी बन्ने भित्री मनमा भएको सोचलाई व्यवहारमा ल्याउने मौका दियो ।’

     लक डाउन अगाडीसम्म पौडेल काठमाण्डौको ओमश्री सत्यसाही कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए ।

    उनले त्यहाँ काम लागेको पनि चार वर्ष पूरा भैसकेको थियो । अबको दिनमा आफु कृषि र पशुपालनमा लाग्ने योजनाका साथ अगाडी बढेको उनले बताए ।

     ‘मेरो जीवनको उर्जाशील समय अब बाख्रा पालन र तरकारी खेतिमा लगाउने योजना अनुसार अगाडी बढेको छु,’ उनी भन्छन्,‘केही जग्गामा भाडामा लिएर आवश्यक तयारी गरिसकेको छु ।’ उनले बाख्रा पालनका लागि ४५ वटा माउ बाख्रा खरिद गरेका छन् । 

    बोयर, खरि र जमुना जातको बाख्रा पाल्ने उनको योजना छ । १३ लाख रुपैयाँ खर्चेर १५० बढि बाख्रा पाल्न मिल्ने खोर समेत तयार गरेका छन् । ‘मैले ४५ वटा बाख्रा किने खोर पनि बनाएको छु,’ उनी भन्छन्,‘त्यसका लागि अहिले १३ लाख रुपैयाँ जति लगानी भएको छ ।’ 

    आफ्नै पुख्र्यौली जग्गा र केही जग्गा भाडामा लिएर उनले यो काम थालेका छन् । ‘१५ रोपनी हाम्रो आफ्नै जग्गा थियो, त्यसमा करिब २५ रोपनी जग्गा भाडामा लिएको छु,’ उनी भन्छन्,‘वर्षको ५० हजार भाडा तिर्ने गरी जग्गामा भाडामा लिएको छु ।’

    पौडेलका कामलाई उनको परिवारले पनि साथ दिएको छ । व्यवसायिक रुपमा बाख्रा पालन थालेपछि परिवारका सबैले साथ दिएको उनी बताउँछन् ।

    पौडेलले बाख्रापालनसंगै तरकारी खेति पनि गर्ने योजना बनाएका छन् । भारती सेनाका पेन्सनर उनको बुबा टुकनाथले पनि छोरालाई यो कामका लागि हौसाएका छन् ।

    ‘छोराले आफैले केही उद्यम गर्छु भनेपछि मलाई पनि खुसी लागेको छ, अरुको जागिर गरेर भन्दा आफै उद्यम भएर अरुलाई समेत काम दिएर अगाडी बढ्नुपर्छ भन्ने मेरो पनि मान्यता छ,’ उनले भने,‘छोराको निर्णयबाट म असाध्यै खुसी छु । उसको काममा सहयोग गरेको छु ।’

     ईन्जिनियर पढेको छोरा किसान बन्छु भन्दा आफुलाई गौरव महसुस भएको उनको भनाई छ ।

    ‘छोराले राम्रो कामको सुरुवात गरेको छ, जीवनलाई सही मार्गका अगाडी बढाउनका लागि पढाई जरुरी छ, तर पढाई गरेपछि जागिर नै खानुपर्छ भन्ने मान्यता गलत छ,’ उनी भन्छन्,‘पढाईले मानिसलाई कर्म गर्न सिकाउनुपर्छ ।’ 

    छोराले कृषि तथा पशुपालन पेशा रोजेकोमा उनी दंग छन् । 

    सम्बन्धित समाचार