बागलुङ : बागलुङको बरेङ गाउँपालिकाले पालिकाको नीतिक कार्यक्रम र बजेट शनिबार ल्याउने भएको छ । शनिबार गाउँसभामा गाउँपालिकाको नीति कार्यक्रम प्रस्तुत गर्ने र नीति कार्यक्रम पारित भए लगत्तै बजेट पनि पेश गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
‘५ गते शनिबार गाउँसभामा नीति कार्यक्रम र बजेट पेश गर्ने तयारी रहेको छ,’ शर्माले भने,‘सबै तयारी पुरा भैसकेको छ ।’ शिक्षा स्वास्थ्य र उत्पादन तथा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याउन तयारी अन्तिम चरणमा पुगेको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले बताए ।
‘शिक्षा, स्वास्थ्य र रोजगारमुलक कार्यक्रमलाई प्राथमिकता दिएका छौं ।’ बजेटमा कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिईएको छ,’ थापाले भने । ५० प्रतिशत पुराना कार्यक्रमको निरन्तरता, २५ प्रतिशत नयाँ कार्यक्रम र २५ प्रतिशत केन्द्र र प्रदेश सरकारको साझेदारीमा सञ्चालन हुने गरी योजनाहरु तर्जुमाको काम भैरहेको उनले बताए ।
उनले उत्पाद, स्वास्थ्य शिक्षा र सामाजिक रुपान्तरणको योजना प्राथमिकतामा परेको उनको भनाई छ । कानुनी प्रावधान अनुसार सबै स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ । बरेङ गाउँपालिकाले शनिबार नीति कार्यक्रम र बजेट ल्याएमा आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट ल्याउने जिल्लाकै पहिलो स्थानीय सरकार बन्नेछ ।