बजेट

कस्तो बजेट ल्याउँदैछन् बागलुङका स्थानीय तहले ?

कस्तो बजेट ल्याउँदैछन् बागलुङका स्थानीय तहले ?

  • आषाढ ४, २०७८ शुक्रवार
  • १९:४१:२६ बजे
  • 8.1K
    SHARES
  • कस्तो बजेट ल्याउँदैछन् बागलुङका स्थानीय तहले ?
    बागलुङ

    बागलुङ : संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्रै स्थानीय सकारले आफ्नो नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्थाका कारण स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई धपेडी थपिएको छ । बागलुङका सबै स्थानीय सरकारले संवैधानिक समयसिमालाई ध्यानमा राखेर असार १० गते भित्रै नीति कार्यक्रम र बजेट ल्याउने तयारी थालेका छन् । जिल्लाको बरेङ गाउँपालिकाले नीति कार्यक्रम र बजेट एक दिन असार ५ गते ल्याउने

    तयारी गरेको छ । शिक्षा स्वास्थ्य र उत्पादन तथा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याउन तयारी अन्तिम चरणमा पुगेको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापा बताउँछन् । ‘हामीले नीति कार्यक्रम र बजेट एकै दिन ल्याउने तयारी गरेका छौं, असार ५ लाई मिति तोकिएको छ,’ थापाले भने,‘शिक्षा, स्वास्थ्य र रोजगारमुलक कार्यक्रमलाई प्राथमिकता दिएका छौं ।’ बजेटमा कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिएको उनले जानकारी दिए ।

    ५० प्रतिशत पुराना कार्यक्रमको निरन्तरता, २५ प्रतिशत नयाँ कार्यक्रम र २५ प्रतिशत केन्द्र र प्रदेश सरकारको साझेदारीमा सञ्चालन हुने गरी योजनाहरु तर्जुमाको काम भैरहेको उनले बताए । उनले उत्पाद, स्वास्थ्य शिक्षा र सामाजिक रुपान्तरणको योजना प्राथमिकतामा परेको सुनाए । जिल्लाको ताराखोला गाउँपालिकाले असार ३ गते नीति कार्यक्रम ल्याउने तयारी गरे पनि ६ गतेका लागि धकेलिएको छ । बजेट भने असार १० गतेसम्म ल्याउने योजनामा रहेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

    ‘बहुवर्षीय योजनाहरुको निरन्तरता रहन्छ, औद्योगि ग्राम, खेलमैदान, प्रशासनिक भवन निर्माणको काम पूरा गर्नुपर्नेछ,’ अध्यक्ष घर्तीले भने,‘शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छौं । उत्पादन मूलक क्षेत्र र कोभिडको समय भएकाले कोेभिड नियन्त्रणका लागि विशेष प्राथमिकताका साथ योजनाहरु बनाउँदैछौं ।’ तमानखोला गाउँपालिकाले समयसिमा भित्रै बजेट ल्याउनका लागि वडातहमा छलफल चलाउन

    बजेटको शिलिङ पठाईसकेको छ । कोरोना महामारीको समय भएकाले बस्ती बस्तीमा छलफल चलाउन सम्भव नभएका कारण सामाजिक सञ्जाल मार्फत समेत योजना कार्यक्रम र बजेटका लागि सुझाव लिने काम भैरहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा बताउँछन् । ‘अहिले वडास्तरमा छलफल भैरहेको छ, समयैम बजेट र नीति कार्यक्रम ल्याउनका लागि हामी लागिरहेका छौं,’ उनले भने,‘यस पटक भेला गर्न सम्भव नभएका कारण सामाजिक सञ्जालहरुबाट पनि सुझाव लिने काम भैरहेको छ ।

    टेलिफोन, इमेल, गुगल फर्म लगायतबाट सुझावहरु संकलन गरिरहेका छौं ।’  के कस्ता नयाँ योजनाहरु समेट्ने भन्ने छलफलकै क्रममा रहेको उनको भनाई छ । जिल्लाको बडिगाड गाउँपालिका भने अधिकांस पुरानै कार्यक्रमलाई निरन्तरता दिएर बजेट ल्याउने तयारीमा रहेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजा बताउँछन् । ‘हामीसंग आन्तरिक स्रोत छैन, केन्द्रबाट आउने अधिकांस बजेट शर्त सहित आएको हुन्छ, प्राय पुरानै कार्यक्रम हुन्छन्,’ उनले भने । राजस्व बाँडफाँडबाट आउने रकमको शिलिङलाई ध्यानमा राखेर

    कार्यक्रम बनाउँदा कार्यान्वयन गर्न नसकिने अवस्था देखिएको उनी बताउँछन् ।  ‘गतवर्ष चार करोड बढि राजस्व मार्फतको रकम आएन, राजस्वको रकमबाट काम गर्ने भनेर बनाईएका योजना कार्यान्वयन गर्न गाह्रो भएका छन्,’ उनले भने,‘कोभिडलाई नियन्त्रणका लागि ध्यान दिनैप¥यो । खासै नयाँ योजना थपिने जस्तो अवस्था छैन ।१० गते भित्रै बजेट ल्याउनेगरी काममा लागेका छौं ।’ गाउँपालिकाका कर्मचारी नै कोरोना संक्रमित हुन पुगेपछि निसीखोला गाउँपालिकाको नीति कार्यक्रम र बजेट निर्माणको काम प्रभावित हुन पुगेको छ ।

    असार १० मा जसरी भए पनि बजेट ल्याउने गाउँपालिका अध्यक्ष तारानाथ पौडेल बताउँछन् । ‘हामीलाई समयको निकै दबाब छ, कर्मचारी नै संक्रति भएर निको भएको एक दुई दिन मात्रै भयो, अब योजना निर्माणको काम अगाडि बढाउँछौं,’ उनले भने,‘मोटामोटी कस्तो खालको योजनाहरु आवश्यक छन् भने वडाहरुमा जानकारी छ । त्यही आधारमा कार्यक्रम बनाउँछौं ।’ कोभिडका कारण गतवर्षका योजनाहरु समेत कार्यान्वयन भैनसकेको उनले बताए । जिल्लाको गलकोट नगरपालिकाले बजेटको सिमा निर्धारण गरेर वडास्तरमा

    छलफलका लागि शिलिङ पठाएर आन्तरिक रुपमा छलफल थालेको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिएर समयमै बजेट आउने नगरप्रमुख भरत शर्मा गैरेले बताए । ‘हामील शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिन्छौं, पूर्वाधार निर्माणको कामलाई नचाहेर पनि प्राथमिकतामै राख्नुपर्ने अवस्था छ, ट्रयाक खोलिएक सडकहरुलाई बाह्रै समहिना सञ्चालन गर्नसक्ने बनाउनका लागि बजेट राख्छौं,’ गैरेले भने,

    ‘नयाँ ट्रयाक खोल्ने कामलाई भने निरुत्साहित गर्ने योजनामा छौं । स्वास्थ्यचौकी, वडा कार्यालय निर्माण लगायका कामहरुलाई प्राथमिकतामा राखेका छौं ।’ कोरोना महामारीको तेस्रो लहर पनि आउँछ भनेर जनस्वास्थ्य विदहरु चेतावनी दिईरहेको विषयलाई ध्यानमा राखेर त्यसको पूर्व तयारीमा पनि ध्यान दिने उनी बताउँछन् । ‘स्थानीय तहको लगानीले कोरोनाको उपचार सम्भव छैन भन्ने त देखिसकिएको अवस्था हो,’

    उनले भने,‘त्यही पनि तेस्रो लहरको चेतावनी दिईरहेका कारण कम्तीमा हाम्रा प्रत्येक स्वास्थ्य संस्थाहरुमा कोभिडका विरामीको प्राथमिक तहका उपचार गर्ने वाताबरण बनाउने गरी योजना ल्याउँछौं ।’ यो वर्ष अत्याधिक वर्षा हुने भनिएका कारण पनि विपद् व्यवस्थापनमा धरै रकम खर्चनुपर्ने भएकाले त्यसको व्यवस्थापन मिलाउने उनले सुनाए । विगतमा राजस्व संकलनको विषयमा धेरै महत्वाकांक्षा राखिएको र कोभिडका कारण पूरा हुन नसकेकाले अहिले सहज कार्यान्वयन हुनेगरी १० गतेभित्र बजेट ल्याउने उनले बताए ।

    काठेखोला गाउँपालिकाले विगतका योजनाहरुलाई पूरा गर्दै कृषि, शिक्षा स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा राखेर बजेट ल्याउने गाउँपालिका अध्यक्ष अमर थापाले बताए । ‘हामीले वडास्तरमा बजेटको शिलिङ पठाएका छौं, ५ गते गाउँपालकाको बैठक बसेर अगाडि नै ल्याउन सम्भव भए अगाडि नै नभए पनि १० गतेसम्म नीति कार्यक्रम र बजेट ल्याउँछौं,’ थापाले भने । कोरोना महामारीका कारण नीति कार्यक्रम बजेटबारे जति तयारी हुनुपर्ने त्यो गर्न नसकिएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम भट्टराई बताउँछन् ।

    ‘१० गते भन्दा पर लेजान पाइँदैन त्यो भित्र हामीले जसरी भए पनि ल्याउँछौं, शिक्षा स्वास्थ्य, कृषि र रोजगारी मूलक कार्यक्रम नै प्राथमिकतामा हुन्छ,’ उनले भने,‘बाटाघाटा र पूर्वाधारका कामहरु पनि गर्नैपर्ने छन् । वडामा बजेटको शिलिङ गैसकेको छ ।’ वडाबाट प्राथमिकीकरण भएर आएको योजनामा नगरपालिको बजेटको व्यवस्थापन मिलाउने उनले बताए । नीति कार्यक्रम र बजेट निर्माणका लागि बागलुङ नगरपालिका आन्तरिक तयारीमा लागेको नगरप्रमुख जनकराज पौडेलले बताए ।

    ‘हामी आन्तरिक तयारीमा लागेका छौं, विषयगत समितिहरुको बैठक र छलफल भैरहेको छ,’ उनले भने,‘कोडिभका कारण स्वास्थ्यलाई पहिलो प्राथमिकता राख्नुपर्नेछ । शिक्षा, कृषि र रोजगारी, पर्यटन पूर्वाधार र अन्य विकासका पूर्वाधारमा पनि लगानी गर्छौं ।’ ५ गतेसम्म नीति कार्यक्रम र बजेट सार्वजनिक गर्ने मिति तय हुने उनले बताए ।  स्वरोजगार र उत्पादन मूलक क्षेत्रलाई पनि प्राथमिकता दिने उनी बताउँछन् ।

    जैमिनी नगरपालिकाले बजेटको शिलिङ वडामा पठाएकाले वडाबाट योजना आएपछि नगरपालिकाले नीति कार्यक्रम बजेटको काम अगाडि बढाउने नगरप्रमुख ईन्द्रराज पौडेलले बताए । ‘सबै तयारीमा छौं, समयमै १० गते ल्याउँछौं,’ उनले भने,‘स्वास्थ्य शिक्षा, कृषि, पर्यटन, पूर्वाधारलाई फोकस गरेर बजेट आउँछ ।’ 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार