चार अर्बको उपकरण खरिदमा वीर अस्पतालमा अनियमितताको उजुरी 

चार अर्बको उपकरण खरिदमा वीर अस्पतालमा अनियमितताको उजुरी 

  • आषाढ १७, २०७८ बिहिवार
  • १५:०६:५४ बजे
  • 3.2K
    SHARES
  • चार अर्बको उपकरण खरिदमा वीर अस्पतालमा अनियमितताको उजुरी 

    काठमाडौं : कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमविरुद्ध कोभिड उपचारका लागि खरिद गर्न लागिएको स्वास्थ्य उपकरण खरिदका लगि सेटिङमा टेन्डर आह्वान गरेको आरोपमा उजुरी परेको छ । 

    वीर अस्पताल कर्मचारी परिवारको तर्फबाट डा. गौतमले नयाँ सर्जिकल भवन सञ्चालनका लागि चार अर्ब बराबरको उपकरण खरिदमा अनियमितता गरेको र उनले हालसम्म विभिन्न पदमा बसेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानविनको मागसहित उजुरी परेको हो । 

    न्याम्सका उपकुलपति, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्म उक्त बेहोराको उजुरी परेको छ । 

    उजुरीमा डा. गौतमले ‘मेडिकल माफिया र स्वास्थ्य सचिवको योजनामा कोभिडको नाममा हुने उपकरणलगायतका सामान खरिदमा कमिसनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठान ऐन र नियमविपरीत वीर अस्पताललाई छुट्टाएर सो को प्रमुखमा स्वास्थ्य सेवामा विवादित र अकुत कालो धन आर्जन गरेका गौतमलाई नियुक्ति गरी आफू निकट व्यापारीलाई मात्रै हुनेगरी हालै झन्डै एक अर्ब रुपैयाँ बराबरको टेन्डर निकालेको’ व्यहोरा उल्लेख छ ।

    स्वास्थ्य सचिव र डा. गौतमले न्याम्स ऐनमाथि कमिसनको लागि पटक पटक हमला गरेको र कोभिड नियन्त्रण र रोकथाम होइन कोभिडको नाममा वीरलाई ‘कमाउ धन्दा’ बनाएको न्याम्सका कर्मचारीको आरोप छ । 

    उजुरीकर्ताले डा. गौतमको विभिन्न संस्थामा रहेका लगानी र सेयरबारे पनि प्रश्न उठाएका छन् । चितवन मेडिकल कलेज सीएमसीमा १ लाख ७६ हजार ४२८ कित्ता, मौलाकालिका अस्पतालमा २३ हजार ४०० कित्ता सेयर लगानी रहेको उजुरी विवरणमा उल्लेख छ । 

    त्यस्तै अमेजोन नामक कम्पनीमा ८५ हजार, ग्यालेक्सीमा ९९ हजार कित्ता सेयर, क्यानभासमा ३० हजार, नारायणी आक्सिजनमा  १ लाख २० हजार कित्ता सेयर रहेको पनि उनीहरुले प्रमाणसहित प्रस्तुत गरेका छन् । 

    एक सरकारी कर्मचारीको यति धेरै सम्पति देखिएकाले यी सबैको स्रोत देखाउन माग गरिएको छ । 

    त्यसैगरी, वीरमा अर्बौँ रकम पर्ने उपकरण खरिद प्रक्रिया विनाप्रतिस्पर्धा अघि बढेको भन्दै उजुरीकर्ताले आपत्ति जनाएका छन्  ।

    डा. गौतमले स्वास्थ्य सचिवको मिलेमतोमा करोडौको उपकरण खरिद सम्झौता गरिसकेको र असार ९ गते झन्डै  एक अर्बको टेन्डर जम्मा ५ दिन समय दिएर आफू निकटसँग पहिल्यै सबै स्पेसिफिकेसन्स (मापदण्ड) मिलाएर टेन्डर आह्वान गरेको र उनकै लगानी रहेको म्याक्सिम इन्कर्पाेरेट ट्रेर्डसलाई हुनेगरी स्पेक तयार गरी  अरु फर्मले टेन्डर भर्न नपाउने गरी विभिन्न उपकरण खरिद गरेको उनीहरूको आरोप छ  । 

    स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९,(१)क  अनुसार सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि कम्पनी स्थापना, दर्ता वा सञ्चालनमा भाग लिन, स्वास्थ्य क्लिनिक वा निजी अस्पताल खोल्न तथा सञ्चालन गर्न पाइँदैन तर डा. गौतमले हालसम्म करोडौँ लगानी गरेकोबारे पनि छानविन हुनुपर्ने उनीहरूको माग छ । 

    डा. गौतमले आफ्नो अनियमितता विरोध गर्नेलाई आफ्नो कोठामा  एक्लै र सामूहिक रुपमा बोलाएर ‘मेरो प्रधानमन्त्री  र स्वास्थ्य सचिवसँग सीधा पहुँच छ भन्दै डाक्टरलाई  धम्क्याउने, जागिर खाइदिन्छु’ भन्नेलगायत मानसिक तनाव दिने गरेको कर्मचारीको आरोप छ ।  

    दैनिकरुपमा  स्वास्थ्य सचिवलाई पैसा बुझाउनुपर्छ भन्दै कमिसनको पैसा उठाउन  उपनिर्देशकसहित, अहेव, खरिद प्रमुखलगायतसँग रकम बुझ्ने गरेको आरोप पनि उनीमाथि कर्मचारीको रहेको छ ।

    यो समूहका डा. नवीन, विष्णु फुयाँल, भगवती थपलिया, महेश बराल, रमण खड्काले नयाँ भवनमा आवश्यक पर्ने कर्मचारी राख्न स्वास्थ्यसचिवलाई पैसा बुझाउन पर्छ भन्दै पैसा उठाउँदै जागिर खानेहरूको प्रमाणपत्र बुझिरहेको आरोपपत्रमा दाबी गरिएको छ ।

    यी सबै घटनाको अख्तियारद्धारा छानबिन गरी वीर अस्पताल सुधारका लागि उपयुक्त कदम चाल्न उजुरीकर्ताले माग गरेका छन् । 

    यसै सन्दर्भमा कोभिड युनिफाईड केन्द्रीय अस्पतालका प्रमुख डा. गौतमसँग आरोपबारे पटक पटक सम्पर्क गर्दा पनि व्यस्त रहेको भन्दै कुरा गर्न मानेनन् । उनी आफू अस्पतालको काममा निकै व्यस्त भएकाले अहिले कसैसँग कुरा नगर्ने प्रतिक्रिया दिए । बाह्रखरीबाट 

  • सम्बन्धित विषय:

  • # वीर अस्पताल
  • # अनियमितता

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार