ईश्वर सुवेदी, गलकाेट : जिल्लाको गलकोट नगरपालिकाले जनतासंग नगर प्रमुख कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कार्यक्रम अन्तर्गत आईतबार गलकोट नगरप्रमुख भरत शर्मा गैरे सहितको टोलीले गलकोटका विभिन्न स्थानका समुदायमा पुगेर नागरिकसंग साक्षात्कार कार्यक्रम गरेको छ ।
नागरिकसंग नगरप्रमुख कार्यक्रम अन्तर्गत आईतबारको कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक
मणिभद्र शर्मा कँडेल, गलकोट नगरपालिका—३ का वडाध्यक्ष विरजङ भण्डारी, नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि मञ्जु शर्मा चालिसेले स्थानीयसंग साक्षात्कार गरेका थिए ।
आईतबार गलकोट नगरपालिकाको दुदीलाभाटी पात्लेखर्क, कटौंजे र गलकोट नगरपालिका—७ मल्मको सप्ताहघाटमा रहेका नगरको प्रत्यक्ष सम्पर्कमा नभएका नागरिकसंग अन्तरक्रिया गरिएको छ ।
नगरको पहुँच भन्दा बाहिर रहेका समुदायका नागरिकसंग समस्या बुझ्ने क्रममा दुदीलाभाटी पात्लेखर्कमा निर्माणाधिन मोटरबाटोको स्थलगत अनुगमन गरिएका छ ।
अनुगमनपछि नगरप्रमुख भरत शर्मा गैरेले तल्काल सडकलाई पूर्णता दिनको लागि आर्थिक श्रोतको अभाव नहुने गरी श्रोतको व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।
नगरप्रमुख गैरेले मल्म सप्ताहघाटको घुम्टे युवा परिवारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफ्नो नगर भित्र हुने जुनसुकै प्रकृतिका योजनाहरु नगरपालिका र स्थानीयले नै अनुगमन गर्नुपर्ने बताए ।
‘स्थानीय सरकार प्रदेश सरकार या केन्द्र सरकारले जसले योजना सञ्चालन गरे पनि यहाँका नागरिकका लागि योजना सञ्चालन हुने हो,’ नगरप्रमुख गैरेले भने,‘आफ्नो क्षेत्रमा सञ्चालित योजनाहरुको काम के कस्तो भैरहेको भन्ने सन्दर्भमा नागरिकहरुले पनि अनुगमन र निगरानी गर्नु जरुरी छ ।’
स्थानीयले योजनाको अनुगमन र निगरानी गर्दा यसको सही कार्यान्वयन हुने विश्वास व्यक्त गरे । गलकोट नगरपालिकाको मल्म
पाण्डवखानी सडकलाई सहज बनाउनका लागि जतिसक्दो छिटो नगरपालिकाले विशेष योजना बनाउने बताए । कार्यक्रमको अवसरमा गलकोट नगरपालिका वडा नम्वर ७ का सामाजिक
संस्थाहरुको नेतृत्वमा घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले मल्म पाण्डवखानी सडक स्तरीकरण गर्न माग गर्दै ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।