बागलुङ : ३९औं वीपी स्मृती दिवसमा जिल्लाको काठेखोला गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरिएको छ ।
काठेखोला गाउँपालिका–६ मा रहेको भिमसेन माविको प्राङ्गण र वरीपरी रहेका १ सय ८ वटा वरपिपल र स्वामीका विरुवामा मलजल गर्नुका साथै सरसफाई गरिएको हो । स्मृति दिवस कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका पूर्व सभापति गोविन्द्र प्रसाद शर्मा कंडेलले काँग्रेस सधै जनताको हितका पक्षमा रहेको बताए ।
उनले वीपीको सिद्धान्तलाई आत्मसाथ गरी अब हरेक जनताको घरदैलोमा पुग्न जरुर रहेको बताए ।
कार्यक्रमा प्रजातान्त्रीक सेनानी संघका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्मा कंडेल, नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेल, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, काँग्रेसका जिल्ला सदस्य ज्ञानु श्रीष शर्मा, स्थानीय समाजसेवी जब्बर बहादुर लामिछाने लगायतले काँग्रेस कार्यकर्ताहरु वीपीको सिद्धान्तलाई आत्मसाथ गर्न नसकेकोमा गुनासो गरेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस काठेखोला गाउँपालिकाका सभापति ज्ञामनाथ कंडेलको अध्यक्षता, सचिव बृहस्पती कंडेलको स्वागत र नेपाल तरुणदल काठेखोलाका अध्यक्ष हरि सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । त्यसैगरी जिल्लाका अन्य स्थानीय तहमा पनि वीपी कोइरालाको ३९औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाईएको छ ।
प्रजातान्त्रिक आन्दोलनका अगुवा उनले कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका थिए ।
उनी २०१५ को आम निर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । जीवनभर प्रजातन्त्र र मानवअधिकारका लागि लडेका कोइरालालाई दूरदर्शी राजनेताका रुपमा स्मरण गरिन्छ । ३२ वर्षको उमेरमा नेपाली राष्ट्रि«य कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सुत्रपात गरेका वीपी २००७ सालको क्रान्तिका शीर्ष नेता थिए ।
जुन क्रान्तिको बेलमा १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । क्रान्तिपछि संविधानसभा निर्वाचन मार्फत् प्राप्त उपलब्धिको रक्षा गर्ने मार्गचित्र बनेको थियो तर राजा कुनै हालतमा संविधानसभामा चुनाव गराउन तयार नभएपछि बिपीले संसदको चुनाव स्विकारे । २०१५ सालको आम चुनावमा नेपाली कांग्रेसलाई दुईतिहाई बहुमत दिलाएर पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।
वीपी नेतृत्वको सरकारले बिर्ता उन्मुलन, वनको राष्ट्रियकरण, क्रान्तिकारी भूमिसुधार, वैज्ञानिक कर प्रणाली लागू गरेको थियो ।