बागलुङ : निरन्तर वर्षासंगै गत असार १ गते बागलुङ नगरपालिका–१४ मा गएको पहिरो निरन्तरको दबाबपछि करिब साढे तीन महिनापछि मर्मत सुरु गरिएको छ ।
पहिरो गए लगत्तै लामो समयदेखि सडक बन्द रहेको थियो । सरोकारवाला निकायले पटक—पटक निरीक्षण गर्ने गरेको भए पनि खासै चासो दिएर काम गरेको भने देखिएको थिएन । तीन महिनाको समयसम्म पनि पहिरो मर्मत नहँुदा बिभिन्न माध्यममा विरोध भैरहेको छ ।
विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आउन थालेपछि नगरपालिकाले ठाडो तोक आदेश दिएर मर्मत सुरु गरेको हो ।
पहिरोको अवलोकनका लागि बागलुङ स्थित प्रमुख जिल्ला अधिकारी, बागलुङ नगरपालिकाको नगर प्रमुख, डिभिजन सडक कार्यालय बागलुङ, पुर्वाधार बिकास कार्यालय, जल तथा भूसंरक्षण कार्यालय लगायतका सरोकारवाला निकायले सो पहिरोको पटक पटक अवलोकन समेत गरेका थिए । तत्काल रुपमा अस्थायी रुपमै भए पनि सडक सञ्चालनका लागि बागलुङ नगरपालिकाले भने चासो देखाएको छ ।
बागलुङ नगरपालिकाले सो सडक निर्माणका लागि जनश्रमदानसहित कुल २० लाख ९३ हजार रुपैँया बिनियोजन समेत गरेको छ ।
बागलुङ नगरपालिका–१० दब्ल्याङमा गएको पहिरो बागलुङ नगरपालिकाले दशै अगाडि नै सवारी साधन आवतजावत हुने गरी काम गरिरहेको जानकारी बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिएका छन् । लागत कम भएकाले तत्काल रुपमा दशै अगावै अस्थायी रुपमै भए पनि सडक सञ्चालन गर्ने गरी काम सुरु भएको शर्माले जानकारी दिए ।
‘जिल्ला स्थित विभिन्न सरोकारवाला निकायले अनुगमन गर्दा लागत एस्टिमेट धेरै नै छ ।
त्यो भन्दा पनि अहिले तत्कालै जनताले पाएको दुखलाई मध्यनजर गर्दै बागलुङ नगरपालिकाबाट केही रकम छुट्टाएर विपत व्यवस्थापनबाट काम अगाडि बढाइएको छ । त्यो दिगो हो नहोला एक ठाउँमा छ तर, अहिले हामीले अस्थायी रुपमै भए पनि लामो समयदेखि जिल्लाको दक्षिणी भेग तथा बागलुङ नगरपालिकाको बलेवा क्षेत्र सडक सम्पर्क विहीन बनेपछि सहज होस भनेर मर्मत सुरु गरिएको छ ।’
इन्जिनयर शर्मा भन्छन् ‘ जसमा बागलुङ नगरपालिकाको लगानी १६ लाख ६० हजार र जनश्रमदान सहित २० लाख ९३ हजारको एस्टिमेट गरेर दशैँ अगाडी अस्थायी सडक सञ्चालन गर्ने गरी काम अगाडि बढाएका छौँ ।’
लामो समयदेखि सडक मर्मत नभएपछि बागलुङ नगरपालिका ११,१२, १३ र १४ का वडा अध्यक्ष तथा सरोकारवाला निकायको भेलाले यादव शर्माको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो । कम्तीमा एक हप्तामा काम सक्ने गरी काम सुरु गरिएको उपभोक्ता समितिका सचिव ज्ञानेन्द्र ढकालले जानकारी दिए । ढकाल भन्छन् ‘उपभोक्ता समिति मार्फत सोमबारबाट सडकको मर्मत कार्य सुरु गरेका छौँ । अस्थायी रुपमै सञ्चालन गरिने बाटो भए पनि कम्तीमा एक हप्तामा सक्ने गरी काम सुरु गरेका छौँ । हामीले बागलुङ नगरपालिकासंग पनि सोही प्रतिबद्धता गरेका छौँ ।’
दब्ल्याङमा मनपरी सडक खन्ने तर नाली व्यवस्थापन गर्न आनाकानी गर्दा दब्ल्याङमा पानी पर्ने बित्तिकै पहिरो झर्ने गरेको छ जसका कारण नजिकै रहेको घरहरु पनि उच्च जोखिममा रहेका छन् ।
स्थानीय बिरबहादुर थापा भन्छन् ‘यो सडक कालोपत्रे भएको त केहि वर्ष पहिले नै हो तर अहिलेको वर्ष बर्षा धेरै भएको र पानीको निकास भएको छैन । नालीको व्यवस्थापन पनि भएन जसका कारण अहिले हामीले समस्या झेलिरहेका छौँ जसका कारण अहिले यहाँका घरहरु पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।’
स्थानीय किरण मल्लको भनाइ पनि उस्तै छ । नालीको व्यवस्थापन नभएकै कारण अहिलेको पहिरोको ठुलो क्षति पुराएको उनको भनाइ छ ।
सडक खुलेको लामो समय भए पनि नाली व्यवस्थापन समयमै नगर्दा अहिले ठुलो पहिरो गएको र ठुलो क्षति पु¥याएको मल्लले बताए ।