राजन रेग्मी
बागलुङ : यातायात व्यवस्था कार्यालय बागलुङले ट्रायल पास गरेकै दिन लाईसेन्स दिने कार्य सुरु गरेको छ ।
हाल ट्रायल पास गरेपछि एक वर्षसम्मको अवधिका लागि छुट्टै क्यूआर कोडसहितको परीक्षण कालीन सवारी चालक अनुमित पत्र व्यवस्था गरिएको छ । हाल चालकले ट्रायल पास गरे पनि एक वर्षसम्म लाईसेन्स नपाउँदा कर तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यता रहेको थियो ।
सो कुरालाई मध्यनजर गर्दै परीक्षण कालिन लाईसेन्सको व्यवस्था गरिएको यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले जानकारी दिए ।
भन्छन् ‘हामीले मंगलबारबाट एक वर्षे परीक्षणकालिन सवारी चालक अनुमति पत्र बाँड्न सुरु गरेका छौं । जसका कारण अहिले ट्रायल पास गरिसकेपछि पनि राजश्व तिरेको बिलको भरमा मात्र सवारी चलाउनुपर्ने बाध्यता समेत हटेर गएको छ । परीक्षणकालिन सवारी चालक अनुमति पत्रमा एक वर्षको समय भित्र पाँच पटकसम्म ट्राफिक नियमको उल्लंघन गरेमा स्मार्ट लाईसेन्स प्रकृयामा समेत जादैन । सो कारण यो लाईसेन्सले सवारी चालकलाई ट्राफिक नियममा ल्याउन पनि थप सहज हुने आशा गरेका छौँ ।’
अनुमति पत्रमा जडान गरिएको क्यूआर प्रणालीले लाईसेन्स नक्कली हो या सक्कली हो समेत छुट्टाउने सक्ने प्रविधि समेत रहेको छ । परीक्षणकालिन सवारी चालक अनुमति पत्र व्यवस्था गरिएपछि आफुहरुलाई निकै सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख बद्रिनाथ शर्माले जानकारी दिए ।
परीक्षण कालिन अनुमति पत्रले सवारी चालकलाई थप जिम्मेवार समेत बनाउने उनले बताए ।