म्याग्दी : म्याग्दीमा सामुहिक बलात्कार घटनाका फरार आरोपित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईका अनुसार म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५,पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका फरार आरोपित तीन जनालाई पक्राउ गरिएको हो । जिल्ला बाहिरका फरक–फरक स्थानबाट उनिहरूलाई पक्राउ गरिएको हाे।
पक्राउ परेका तीन जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोही पुलाचौरका १८ वर्षीय प्रवेश रामदाम ,बर्ष २२ का प्रकाश रामदाम र २४ बर्षिय हिटमेन बानियाँ रहेका छन् । घटनाका पीडित महिलाको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाइएको प्रनाउ राईले जानकारी दिए । एक जनालाई आइतबार रुपन्देहीबाट र दुई जनालाई पोखराबाट पक्राउ गरेर बेनी
ल्याइएको प्रनाउ राईले बताए । जिल्ला अदालत म्याग्दीबाट सात दिनको म्याद थप गरी थप अनुशन्धान कार्य भइरहेको प्रनाउ राईले बताए । कात्तिक २ गते राती करिब साढे भएको घटनाका पीडितले चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । राति सुतिरहेको अवस्थामा ढोका फोडेर छिरेर तीन जनाले डरधम्की देखाएर बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
कसुर पुष्टी भएमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिमको कसूरमा सोही दफाको उपदफा (३) को (ङ) अनुसार अठार बर्ष वा अठार बर्षभन्दा बढी उमेरकी महिला भए सात बर्षदेखी दश बर्षसम्म कैद सजायँ साथै उपदफा (७) बमोजिम सामूहिक रुपमा जरबजस्ती करणी गरेमा थप पाँच बर्षसम्म कैद सजायँ कानुनी व्यवस्था छ ।