बागलुङ : भिसि स्व.कुलवीर थापाको स्मृतिमा बागलुङको बडिगाड गाउँपालिका—१० दर्लिङ निगलपानीमा खेलकुद तथा विविध कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्षको सन्दर्भ पारेर आयोजना गरिएको खेलकुदसंगै विधि कार्यक्रम सोमबार सम्पन्न भएको आयोजक संस्था धौलागिरि विकास युवा क्लबका सचिव चन्द्रबहादुर विकले बताए । ‘हाम्रो गाउँमा जन्मेर प्रथम विश्वयुद्धमा भिसी पदक पाउनुभएका कुलविर थापाको बारेमा कही कतै प्रचार भएको पाईएन,’ उनी भन्छन्,‘उहाँको नामलाई प्रचार प्रसार गर्न सकियो भने सबैलाई फाईदा हुन्छ भनेर हामीले उहाँको स्मृतिमा कार्यक्रम गर्न थालेका हौं ।’
प्रथम विश्वयुद्धमा वीरता पूर्वक युद्ध लडे बापत बेलायती महारानीले प्रदान गरेको उक्त भिक्टोरिया क्रसका विजेत कुलबीर दर्लिङ निगलपानीमा जन्मिएका हुन् भन्ने सबैलाई जानकारी गराउनका लागि पनि कार्यक्रमको सहारा लिईएको उनले बताए । ‘यस्ता खेलकुदका कार्यक्रमहरु त पहिला पनि हुन्थ्यो,’ उनी भन्छन्,‘उहाँको नामबाट यो ठाउँलाई चिनाउँदा अझ राम्रो हुन्छ भन्ने हामीलाई लाग्यो त्यसपछि उहाँकै स्मृतिमा नयाँ वर्षको अवसरमा यो कार्यक्रम गर्न थालेका हौं ।’ भिसी कुलवीर थापाको स्मृति पुरुष महिला भलिबल तथा अन्य सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएको विकले बताए । वैशाख १ गतेबाट सुरु भएको कार्यक्रम सोमबार सकिएको हो ।
भिसी कुलवीर थापाको स्मृतिमा आयोजना गरिएको पुरुष भलिबल प्रतियोगितामा गोर्खा बोईज क्लब लिवाङ प्रथम र आयोजक धौलागिरि विकास युवा क्लब द्वितीय भएका छन् । प्रथम भएको गोर्खा वैदिक क्लब लिवाङले नगद ३० हजार पुरस्कार प्राप्त गरेको भने द्वितीय स्थानमा चित्त बुझाएको आयाजक टिमले २० हजार पुरस्कार पाएको छ । पुरुषतर्फ १० समुहको सहभागिता रहेको थियो । त्यस्तै महिला भलिबलमा प्रथम र द्वितीय नै आयोजक समुह भएको छ । महिला भलिबलमा प्रथम हुनेका लागि १५ हजार र द्वितीय हुनेका लागि १० हजार पुरस्कारको व्यवस्था थियो । महिला भलिबलमा ५ समुहले सहभागिता जनाएका थिए । उक्त अवसरमा म्युजिकल चियर प्रतियोगिता र रस्साकस्सी प्रतियोगिता पनि सम्पन्न भएको छ ।
सन् १८८८ डिसेम्बर १५ मा बागलुङ बडिगाड—१० दर्लिङको निगलपानीमा जन्मिएका भिसि थापाले बेलायती गोर्खा सैनिकमा आवद्ध भएर प्रथम विश्वयुद्धमा सन् १९१५ मा फ्रान्समा देखाएको वीरता र युद्ध कौशलका कारण उनलाई भिक्टोरिया क्रस प्रदान गरिएको थियो । थापाको सन् १९५६ अक्टोबर ३ मा निधन भएको हो । उनको जन्मस्थानको बारेमा अहिले पनि विवाद देखिने गरेको उनका नाती शक्तिराम थापा बताउँछन् ।
‘अहिले पनि गुगलमा खोजी गर्दा भिसी कुलवीर थापाको जन्मस्थान पाल्पा जिल्ला भनेर भेटिन्छ,’ उनले भने,‘पल्टनबाट खबर आएपछि म आफै केही वर्ष अगाडि पथानकोटमा गएको थिएँ, त्यहाँ जादा पनि एक जना स्याङ्जाकोले स्याङ्जा भन्दिए, अर्को पाल्पाकोले पाल्पा भन्दिए । म उहाँकै नाती त्यहाँ भएको बेलामा त झगडा भयो । मैले उहाँ बागलुङको हो भनेर भने ।’ पहिले दर्लिङ भेग पाल्पा गौंडा भन्ने लेखिएको भएकाले पाल्पा जिल्ला भनिएको र जिल्ला विभाजन हुँदा दर्लिङ बागलुङमा परेको उनी बताउँछन् ।
‘त्यो बेला पाल्पा गौंडा भनिएको रहेछ, जिल्ला विभाजन हुँदा हामी बागलुङमा परियो,’ शक्तिरामले भने । हजुरबुबा भिसी स्वर्गीय कुलवीर थापाको निधनपछि बुबा तथा काकाहरुले त्यति धेरै वास्ता नगर्दा बेलायनी सेनामा नेपालीले पाउने सर्वोच्च सम्मानका गरिमा कम भएको उनको भनाई छ ।