बागलुङ : पाँच दलीय गठबन्धनको चुनावी सभा काठेखोला गाउँपालिका—२ को भीमादरबारमा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका साझा उम्मेदवारहरु सहित चुनावी सभा एवं घरदैलो कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै गठबन्धनका तर्फबाट काठेखोला गाउँपालिका अध्यक्षका उम्मेदवार राजु थापाले काठेखोलाको सामाजिक, आर्थिक र भौतिक विकाससंगै जनतालाई सुशासन दिने आफ्नो मुख्य प्राथमिकता भएको बताए ।
‘यहाँको भौतिक, सामाथिक र आर्थिक विकास त प्राथममिकतमा छँदैछ,’ उनले भने,‘त्यो बाहेक हामीले विशेष जोड के कुरामा दिएका छौं भने आम नागरिकले सुशासनको प्रत्याभूति गर्न पाउनुपर्छ । हामी निर्वाचित भएपछि त्यो कुरालाई मुख्य प्राथमिकता दिएर अगाडि बढ्छौं ।’ उनले पाँच दलीय गठबन्धनले विविध पक्षलाई समेटेर साझा घोषणापत्र तयार पारेको भन्दै त्यसको कार्यान्वयनका लागि आफुहरु हरदम तयार रहेको बताए । ‘घोषणापत्र केबल चुनावमा देखाउका लागि मात्रै होईन,’ उनले भने,‘त्यसमा लेखिएका अक्षर अक्षर हामी कार्यान्वयनमा ल्याउँछौं ।’ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार तेजबहादुर थापा तिलकले युवा र महिलाहरुका लागि सीपमूलक तालिम सञ्चालन गर्ने बताए ।

‘गरिबी निवारणका लागि स्वरोजगारमूलक काममा लगाउने हाम्रो प्रमुख प्राथमिकता हुनेछ,’ उनले भने,‘युवा महिलाका लागि आफै उद्यममा लाग्न सक्ने गरी विभिन्न तालिमको आयोजना गर्नेछौं ।’ कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका—२ का वडाध्यक्षकी उम्मेदवार गंगा थापा भिक्षुले समग्र वडाको प्रोफाईल तयारी वडाको विकासमा लाग्ने बताईन् । ‘आवश्यकताका आधारमा योजनाहरु बनेर बजेट विनीयोजन हुनेछन्,‘ उनले भनिन्,‘जनताको आवश्यकतालाई ध्यानमा राखेर सबैको सरसल्लाहमा योजना निर्माण गर्ने र कार्यान्वयन गर्नेछौं ।’
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीले केपी ओलीले जनताले प्राप्त गरेका उपलब्धीहरु समेत तहस नहस पारेकाले पाँच दलीय गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे । ‘केपी ओलीसंग दुई तिहाई बहुमतको सरकार थियो, सरकार चलाउन नसकेर संसद विघटन गर्ने र जनताको प्राप्त उपलब्धीहरुलाई पनि मेट्ने काम गरेका कारण यो गठबन्धन बनेको हो,’ उनले भने,‘त्यसैले यो स्थानीय निर्वाचनमा प्रतिगमनका मतियारहरुलाई पराजित गर्न अग्रगामी शक्तिहरुको गठबन्धन बनेको हो ।

जनताको साथ हामीलाई चाहिएको छ ।’ कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संसदीय दलका नेता पियारी थापा सुप्रभा, संविधान सभा सदस्य एवं माओवादी नेतृ केशरी घर्ती, नेकपा एकीककृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापा, काँग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य भवानी कँडेल, नेपाली काँग्रेसकी सहसचिव ज्ञानु श्रीस शर्मा, पूर्व गाविस अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य होमबहादुर हमाल, नेपाली, नेपाल भूतपूर्व सैनिक संघ बागलुङका अध्यक्ष एवं केन्द्रीय सदस्य क्याप्टेन हरिबहादुर भण्डारी, प्रदेश क्षेत्रीय सदस्य खिमानन्द पौडेल, नेपाली काँग्रेस पालाका सभापति गणेश नेपाली, शिक्षक संघका हरि लामिछाने, क्षेत्रीय प्रतिनिधि जब्बरबहादुर लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

नेपाली काँग्रेस काठेखोला—२ का सभापति विदुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उसभापति टिकाराम शर्मा र सञ्चालन प्रदेश क्षेत्रीय सहसचिव लालबहादुर सुनारले गरेका थिए । कार्यक्रमका अवसरमा एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका प्रकाश किसान, सुन्दर किसान, जीवन किसान र दिनेश किसानले पनि आफ्नो भनाई राखेका थिए । भिमापोखराका दपसा र निरलपाटामा पनि भेला सम्पन्न भएको छ ।