गलकोटमा काँग्रेसका शर्मा र माओवादीका निउरे निर्वाचित 

गलकोटमा काँग्रेसका शर्मा र माओवादीका निउरे निर्वाचित 

  • जेठ २, २०७९ सोमवार
  • ०८:१८:२६ बजे
  • 3.3K
    SHARES
  • गलकोटमा काँग्रेसका शर्मा र माओवादीका निउरे निर्वाचित 

    बागलुङ : जिल्लाको गलकोट नगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गलकोटन नगरप्रमुखमा गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका भरत शर्मा गैरे र उपप्रमुखमा माओवादीका फमलाल निउरे  विजयी भएका हुन् । शर्माले ५४१४ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि नगर प्रमुखमा विजयी भएका हुन् । प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण काउचाले ३५१९ मत पाएका छन् । उपप्रमुखमा माओवादी केन्द्रका फमलाल निउरेले ६०३९ मत पाउँदा प्रतिस्पर्धी एमालेकी रुपमा विकले ३०५७ मत पाएकी छिन् । नेपाली काँग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी मञ्जु शर्मा चालिसले ३२६२ मत ल्याईन् ।

     उपप्रमुखमा माओवादी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका तिलक उप्रेतीले १९८१ मत पाए । गलकोट नगरपालिकाका ११ वडामध्ये १० वडामा गठबन्धनका उम्मेदवार विजयी हुँदा एउटा वडामा नेकपा एमाले विजयी भएको छ । वडा नम्बर ११ को रिघामा नेकपा एमालेका उम्मेदवार डम्बर श्रीसले गठबन्धनतर्फका राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई पछि पार्दै विजयी भए । वडा नम्बर १० मा नेपाली काँग्रेसका भक्त काउचा, वडा नम्बर ९ मा काँग्रेसकै तेजबहादुर थापा, वडा नम्बर ८ मा काँग्रेसका तेजप्रसाद सापकोटा वडाध्यक्ष पदमा विजयी भएका छन् ।

     वडा नम्बर ७ मा माओवादी केन्द्रका राजबहादुर थापा ९ मतले वडाध्यक्षमा विजयी भए । उनलाई गठबन्धनमा विद्रोह गरेको काँग्रेस कार्यकर्ताको स्वतन्त्र उम्मेदवार कडा टक्कर दिएका थिए । वडा नम्बर ६ मा माओवादी केन्द्रका रामप्रसाद कँडेल, वडा नम्बर ५ मा काँग्रेसका पवन हमाल, वडा नम्बर ४ मा काँग्रेसका बलबहादुर खत्री, वडा नम्बर ३ मा काँग्रेसका फमबहादुर खत्री, वडा नम्बर २ मा काँग्रेसका हिमबहादुर भण्डारी र वडा नम्बर १ मा राष्ट्रिय जनमोर्चाका लालबहादुर राना विजयी भएका छन् । 

    गत स्थानीय निर्वाचन जितेको वडाहरुमा अहिले पनि दलहरुले आफ्नो जित पक्का गरेका छन् । गठबन्धन गरेका कारण गत निर्वाचनमा उपप्रमुख पनि जितेको काँग्रेसले यस पटक गठबन्धनका साझेदार माओवादी केन्द्रलाई उपप्रमुख दिएको थियो । 

     

    सम्बन्धित समाचार