बागलुङ नगरमा बसन्त : पहिले हारे अहिले हराएर

बागलुङ नगरमा बसन्त : पहिले हारे अहिले हराएर

  • जेठ ४, २०७९ बुधवार
  • ११:१६:४४ बजे
  • 4.1K
    SHARES
  • बागलुङ नगरमा बसन्त  : पहिले हारे अहिले हराएर

    बागलुङ : बागलुङमा स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । १० स्थानीय तहमध्ये दुई वटाको गणना जारी रहँदा ८ पालिकाको अन्तिम नतिजा सार्वजनिक भैसकेको छ । जिल्ला सदरमुकाम भएको र निकै रणनीतिक महत्वको मानिएको बागलुङ नगरपालिका पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । उनले नेकपा एमालेका जनकराज पौडेलललाई ५ हजार ८ सय ५७ मतान्तरले पछि पार्दै बागलुङ नगरको बागडोर सम्हाल्न पुगेका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि बागलुङ नगरपालिकामा यी दुई बीच नै भिडन्त परेको थियो । त्यो बेला नेकपा एमालेका जनकराज पौडेलले बाजी मारेका थिए । 

    पाँच वर्षपछि यी दुई बीच दोहोरिएको प्रतिस्पर्धामा बसन्त अब्बल ठहरिएका छन् । अघिल्लो निर्वाचनमा श्रेष्ठ पौडेलसंग २२९४ मतान्तरले पराजित भएका थिए । गत निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर निर्वाचनमा गएका थिए । नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाए पनि पार्टी तहबाट कसैलाई सहयोग गरेको थिएन । यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टी एमालेसंगै रहँदा राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र नेपाली काँग्रेससंग आए । त्यसमाथि एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले समेत काँग्रेसलाई साथ दिएपछि गत निर्वाचनकै दुई राजनीतिक खेलाडीहरुबीचको प्रतिस्पर्धामा बसन्तले बाजी मारे । 

    बसन्तकुमार श्रेष्ठले कुल १४ हजार ६ सय ७८ मत प्रााप्त गरेका छन् । यस पटक पनि राप्रपासंग गठजोड गरेर दोस्रो चोटी मेयर दोहोरिने प्रयासमा लागेको जानकराज पौडेलले ८ हजार ८ सय २१ मत मात्रै प्राप्त गरे । पार्टी फुटको असर, टिकट वितरणको असन्तष्टीसंगै विगतका सहयात्रीको कित्ता परिवर्तनले पनि पौडेललाई यस पटक उपविजेतामै चित्त बुझाउन बाध्य बनायो । स्थानीय निर्वाचन २०७४ मा जनकराज पौडेल एमालेबाट मेयर विजयी हुँदा राप्रपाबाट सुरेन्द्र खड्का उपमेयर विजयी भएका थिए । गठजोड गरेर निर्वाचित भए पनि केही समयपछिबाटै मेयर जनकराज पौडेल र उपमेयर सुरेन्द्र खड्काबीच राम्रो सम्बन्ध देखिएन । निर्वाचनको मुखमा फेरी यी दुईबीच सम्बन्ध सुधारिएको देखिए पनि त्यसले कमाल ल्याउन सकेन ।

     राप्रपा बागलुङका अध्यक्ष समेत रहेको सुरेन्द्र खड्काले उपमेयरको आफ्नो विरासत राप्रपाकै सञ्जय खड्कालाई हस्तान्तरण गर्ने चाहाना राखेर एमालेसंग तालमेल गरे पनि त्यसमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका राजु खड्का बाधक भैदिए । बागलुङ नगर उपप्रमुखमा राजु खड्काले सञ्जय खड्कालाई ४ हजार ३ सय ६३ मतान्तरले पछि पारे । राजुले १२ हजार ४ सय २७ मत ल्याउँदा सञ्जयले ८ हजार ६४ मत पाए । बागलुङ नगरपालिकामा काँग्रेसले प्रमुख पद पाएको पहिलो पटक हो । 

    २०४९ को स्थानीय निर्वाचनमा कालिका गाउँ विकास समिति रहेको जिल्ला सदरमुकामलाई आसपासका अन्य केही गाविस मिलाएर २०५४ को स्थानीय निर्वाचन अगाडि बागलुङ नगरपालिका बनाईएको थियो । बागलुङ नगरपालिकाको पहिलो मेयर नेकपा एमालेबाट ऋषिराम शर्मा निर्वाचित भएका थिए । उनको देहान्त भैसकेको छ । त्यसपछि राजाको शासनकालामा विदुर खड्का पनि बागलुङ मेयर बने । उनको पनि केही महिना अगाडि स्वर्गारोहण भएको छ । २०७४ को स्थानीय निर्वाचनमा फेरी एमालेले जितेको नगरमा यस पटक गठबन्धनबाट नेपाली काँग्रेसले नगरप्रमुख हात पारेको हो । 

    बागलुङ नगरको तेस्रो जननिर्वाचित नगरप्रमुखको रुपमा बसन्त श्रेष्ठ विजयी भए । बागलुङ उद्योग वाणिज्य संघको दुई पटक अध्यक्ष चलाएका उनी हाल नेपाली काँग्रेस गण्डकी प्रदेशको कोषाध्यक्ष छन् । उपप्रमुखमा निर्वाचित राजु खड्का माओवादी केन्द्रका बागलुङ नगरसचिव हुन् । बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिमा लामो समय रहँदा उल्लेख्य विकास र सुधारका काम गरेको भनेर उनको चर्चा पनि हुन्थ्यो । त्यही अनुभवलाई बागलुङ नगरको जनताको सेवामा लगाउने घोषणाका साथ अगाडि बढेका उनी पहिलो प्रयासमै सफल पनि भएका छन् । बागलुङ नगरपालिकामा ३४ वर्ष पुरानो विरासत राखेको एमाले भने यस पटक बागलुङ नगरको तीन वटा वडामा खुम्चिएको छ ।

     बागलुङ नगरपालिका—५, ६ र ७ मा मात्रै एमालेले वडाध्यक्ष जितेको छ । वडा नम्बर १, ३, ८, ९, ११, १३ र १४ मा काँग्रेसले वडाध्यक्ष जितेको छ भने एकीककृत समाजवादीले वडा नम्बर २ र १० जितेको छ । वडा नम्बर ४ मा माओवादी केन्द्र र वडा नम्बर १२ मा काँग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले बागलुङ नगरको मुटु मानिने वडा नम्बर २ मा जित हात पार्दा एमालेका गढ मानिएको बानपा—१० भकुण्डेमा एमालेबाट वडाध्यक्ष पद छिन्यो । निर्वाचनअघि एमालेले लौरो उठाए पनि जित्ने वडा भनेर चर्चा गरिएको भकुण्डेमा समाजवादीका तिलबहादुर थापाले खेल उल्ट्याईदिए । 

    अघिल्लो पटक एमालेले जितेको वडा नम्बर १ मा यसपाली नेपाली काँग्रेस, ४ मा माओवादी केन्द्र, ८ र ९ मा नेपाली काँग्रेसले जिते । एमालेबाट जितेर पार्टी विभाजनमा नेकपा एसतर्फ लागेको जीवन आचार्यले जितेको बनपा—२ मा समाजवादीकै सुरज बोसेल विजयी भए । गत निर्वाचनमा एमालेले जितेको बानपा—१२ पनि स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माले प्यानल नै जिते । 

  • सम्बन्धित विषय:

  • # बागलुङ नगरपालिका
  • # बसन्तकुमार श्रेष्ठ
  • # राजु खड्का

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार