बागलुङ : सातौं बागलुङ महोत्सवमा ‘मेड इन बागलुङ’को प्रदर्शन हुने भएको छ । बागलुङ महोत्सवको मुख्य आयोजक संस्था बागलुङ उद्योग वाणिज्य संघले बागलुङमा उत्पादन भएका वस्तुहरुको विशेष प्रदर्शन र विक्री वितरण गर्ने व्यवस्था मिलाउने जनाएको छ । स्थानीय उत्पादनका वस्तुहरुको बजारीकरणका लागि विशेष स्टल व्यवस्थापन गरेर त्यसको प्रचार प्रसार र विक्री वितरणको प्रवन्ध गर्न लागिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताए ।
‘हामीले बागलुङमा उत्पादन भएका र लेबलिङ भएका वस्तुहरुको लागि छुट्टै स्टलहरुको व्यवस्थापन मिलाउँछौं, अहिले हाम्रो लेबलिङ भएका चिजहरु खासै धेरै त छैन,’कँडेलले भने,‘त्यसका साथै यहाँ उत्पादन भएर पनि लेबलिङ हुन नसकेका स्थानीय उत्पादनहरुको प्रवद्र्धन र प्रचार गर्ने उत्पादक र उपभोक्ताबीच सेतुको काम गर्ने गरी काम गर्छौं ।’ बागलुङमा उत्पादन भएका अल्लोका कपडा, दमेकमा उत्पादन भएको गुन्द्रुक, भाङ्गो, टिमुर, ताराखोलाको आलु, बिहुँ र सिगानाका सुन्तला लगायतका अन्य वस्तुहरुको प्रवद्र्धन र विक्री वितरणको व्यवस्थापन मिलाउने उनी बताउँछन् ।’
‘ब्राण्डिङको काम नहुँदा बागलुङका धेरै उत्पादनहरु बाहिरको बजारमा लैजान अहिलेको सम्भव छैन, तर उपभोक्तालाई जानकारी गराउन सकेको खण्डमा उहाँहरुले सिधै उत्पादकसंग खरिद गर्ने वाताबरण बन्छ र त्यसको बजारीकरणमा टेवा पुग्छ भन्ने हामीले ठानेका छौं,’ उनले भने । स्थानीय वडा कार्यालयसंगको सहकार्यमा सिगाना र बिहुँको सुन्तला ग्रेडिङ गरेर एक दिनभरी ‘सुन्तला एक्स पो’ गर्ने कँडेलले जानकारी दिए । बागलुङ बिहुँ र सिगानाका सुन्तला देशकै स्वादिस्त सुन्तलामध्ये पर्ने भएकाले विभिन्न जिल्लाका व्यवसायीले बुटामै ठेक्का लिएर लैजाने गरेका छन् ।
महोत्सवले सुस्ताउँदै गएको बागलुङ बजारलाई आर्थिक रुपमा चलायमान गराउने अपेक्षा राखिएको अध्यक्ष कँडेलले बताए । ‘यहाँका व्यवसायीलाई उर्जा दिनका लागि र बजारलाई चलायमान बनाउनका लागि पनि महोत्सव जरुरी छ,’ उनले भने,‘हामीले यस पटक महोत्सव सामाजिक उत्तरदायित्व सहित गर्दैछौं ।’ सातौं बागलुङ महोत्सव यस पटक पुस ११ देखि २१ गतेसम्म धौलागिरि क्याम्पसको प्राङ्गणमा हुँदैछ । महोत्सवलाइ गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलाको रुपमा सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नाराका गर्न लागिएको महोत्सवमा १२० व्यवसायिक स्टल, ३० वटा प्रवद्र्धनात्मक स्टल तथा मेड इन बागलुङ स्टल रहनेछ । अहिलेसम्म ५० प्रतिशत स्टल बुकिङ भैसकेको बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले जानकारी दिए । महोत्सवमा खुल्ला राष्ट्रिय दोहोरी तथा लाइभ दोहोरी गीत, पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन, विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती रहने बागलुङ उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए ।
यस पटक दोहोरी प्रतियोगिता नगरी यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विषयवस्तु दिएर कलाकारहरुलाई लाईभ दोहोरी प्रस्तुत गर्न लगाउने बताईएको छ । ‘बागलुङ दोहोरीको उद्गम थलो पनि हो, हामीले दोहोरी राख्छौं, तर यस पटक प्रतियोगिता हुँदैन, यस क्षेत्रको प्रवद्र्धन हुनेगरी विषयवस्तु दिएर कलाकारलाई त्यसैमा आधारित रहेर गाउने व्यवस्था मिलाउँछौं,’ उनले भने । मेलाको समयमा पर्ने अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा ‘न्यू एयर इभ’को रुपमा लाइभ डिजे कन्र्सट हुने प्रेस सल्लाहकार आचार्यले जानकारी दिए । महोत्सव पर्ने अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा धेरैभन्दा धेरै पर्यटकहरुलाई बागलुङ भित्राउने लक्ष्य रहेको छ ।
महोत्सव अवधीभर महोत्सव स्टलभित्र १० करोड बढिको कारोबार हुने अपेक्षा लिइएकाउ बागलुङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष नविन श्रेष्ठले जानकारी दिए । ‘स्टल भित्र मात्रै १० करोडको कारोबार हुनेछ, त्यसका साथै बागलुङ बजार पनि चलायमान हुनेछ,’कोषाध्यक्ष श्रेष्ठले भने,‘एक करोड ७० लाख आम्दानी हुने र एक करोड १५ लाख खर्च हुने हामीले अनुमान गरेका छौं ।’ महोत्सवबाट संकलित रकमले ५ लाख बराबरको ‘बागलुङ उद्योग वाणिज्य संघ सदस्य कल्याणकारी कोष–२०८०’ स्थापना गरिने, धवलागिरि बहुमुखी क्याम्पसको ‘गरिव, विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष’मा सहयोग गरिने, ‘व्यवसायी एकता, बलियो संघ’ अक्षयकोष निर्माण गर्ने, ‘हाम्रो सुरक्षा, हाम्रो दायित्व’ सिसि क्यामरा जडान र मर्मत कार्यलाई निरन्तरता दिने, महोत्सवको मुनाफाबाट बागलुङ कोसेली घर संचालन गरिने लक्ष्य राखिएको वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए ।
महोत्सवमा प्रवेशका एक सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक लगायत अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेश दिईनेछ भने अध्ययनका लागि समुहमा आउने विद्यार्थीलाई पनि निःशुल्क प्रवेश दिईनेछ । महोत्सवमा टिकट काट्ने जिम्मा नेपाल पत्रकार महासंघ बागलुङलाई जिम्मा दिइएको र १ टिकट बराबर ५ रुपैयाँ ‘पत्रकार महासंघको संस्थागत विकास’मा सहयोग गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ ।
महोत्सवले यहाँका पर्यटकीयस्थल, धार्मिक स्थल एवं लोक संस्कृतिक गतिविधिहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्न, स्थानीय परिकारहरुलाई प्रवद्र्धन र स्तरीकरणमा वृद्धि गराउन, उद्यमी व्यवसायीहरुको वित्तिय साक्षरता वृद्धि गराउने र वित्तिय एवं औधोमिक क्षेत्रको विकास वृद्धि मार्फत आर्थिक समृद्धिः सुखी नेपालीको लक्ष्य पुरा गराउन र स्थानीय खेलाडीहरुको व्यक्तिगत र सामाजिक अनुशासन स्थापित गराउँदै राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी बन्नको लागि उत्प्रेरणा प्रदान गर्न महोत्सवले सहयोग पुग्ने प्रथम उपाध्यक्ष सञ्जय श्रेष्ठले बताए । मेलाको उद्घाटन पुस ११ गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तय भएको छ । राष्ट्रपतिको बागलुङ कालिका दर्शन र पञ्चकोट भ्रमणपछि दिउँसो १ बजे महोत्सव उद्घाटन हुने आयोजकले जनाएको छ ।