बागलुङ : बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको १९ औं वार्षिक साधारण सभा तथा अधिवेसन सम्पन्न भएको छ ।
साधारणसभा उद्घाटन गर्दै संस्थाका संरक्षक देवबहादुर श्रेष्ठले बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाले पछिल्लो समय राम्रो प्रगति गरेको भन्दै सेयर सदस्यको आर्थिक जीवन स्तर उकास्न सघाउनुपर्नेमा जोड दिए ।
‘पछिल्ला दिनहरुमा यो संस्थाले राम्रो प्रगति गरेको छ,’ उनले भने,‘आगामी दिनमा सेयर सदस्यहरुलाई प्रगति गर्न सिकाउन संस्था सक्षम बनोस् ।’
संस्थाको नाम अनुसार बहुउद्देश्यमा काम गर्न समेत उनले सुझाव दिए । ‘बहुउद्देश्य अनुसार संस्थाले पसल सञ्चालन गरेको छ,’उनी भन्छन्,‘अन्य कामहरु पनि विस्तार गर्दै जाओस् ।’
कार्यक्रममा बागलुङ नगरपालिका—३ का वडाध्यक्ष लक्ष्मी बास्कोटा, निर्वाचन समितिका संयोजक अधिवक्ता काजी गाउँले श्रेष्ठ, ग्रिन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठ, एकता सहकारीका अध्यक्ष ध्रुबप्रसाद शर्मा,
सेयर सदस्य साहित्यकार काजी रोसन, सल्लाहकार दिलबहादुर कार्की, सेयर सदस्य रामप्रसाद श्रेष्ठ लगायतल शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थामा कार्यरत कर्मचारी कल्पना शर्मा र प्रवन्धक यज्ञप्रसाद शर्मालाई सम्मान गरिएको थियो ।
सञ्चालकतर्फ सचिव योगनाथ शर्मा कँडेल र सहचिव उषा पौडेललाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरु उषा पौडेल र यज्ञप्रसाद शर्माले आफ्नो भनाई राखेका थिए ।
संस्थाले गत आर्थिक वर्षमा एक अर्ब २५ करोड ६४ लाख ९४ हजार ९३७ बचत संकलन गरेको छ ।
संस्थामा ६ सय ४९ सेयर सदस्य मार्फत एक करोड ६६ लाख ६० हजार सेयर पुँजी रहेको छ । संस्थाले गतवर्ष एक करोड ९ लाख ७ हजार तीन सय ४१ रुपैयाँ खुद मुनाफा कमाएको संस्थाका कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दुर्गादत्त शर्मा आचार्य र सञ्चालन सचिव योगनाथ कँडेलले गरेका थिए । साधारण सभा तथा अधिवेसन पुनः अशोक गोविन्द राजभण्डारीको अध्यक्षतामा सर्वसम्मत सञ्चालन समिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष दुर्गादत्त आचार्य, सचिवमा हरिप्रसाद गौतम, सहसचिव उषा पौडेल, कोषाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा अर्जुन घिमिरे, रघुनाथ राजभण्डारी, निर्मला जिसी, दर्शन प्रसाद श्रेष्ठ, लक्ष्मी शाक्य, सरिता थापा, कृष्ण शर्मा र विश्वास राजभण्डारी निर्विरोध चयन भएका छन् ।
सहकारीको लेखा समितिको संयोजकमा रामचन्द्र शर्मा, सदस्यमा राजनकुमार श्रेष्ठ र विष्णुकुमारी लम्साल चयन भएका छन् ।