बागलुङ : बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि एक अर्ब ६१ करोड बजेट ल्याएको छ । नगर उपप्रमुख राजु खड्काले प्रस्तुत गरेको बजेटमा गत वर्षको तुलनामा २८ करोड बढाएर ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्षका लागि एक अर्ब ३३ करोड बजेट ल्याएको थियो ।
नगरपालिकामा नेपाल सरकारको वित्तीय समानीकरण तर्फ १५ करोड ७८ लाख, ससर्त अनुदान तर्फ ९९ करोड ८७ लाख ३८ हजार, समपूरक अनुदानतर्फ ४ करोड, प्रदेश सरकारबाट प्राप्त हुँने समानिकरण अनुदान तर्फ २ करोड २६ लाख,समपुरक र विशेष अनुदान एक करोड, संघ प्रदेश र स्थानीय तहको राजश्व १६ करोड ४९ लाख र आन्तरिक राजश्व आय तर्फ ७ करोड ४९ लाख ८२ हजार र बैंक मौजात र विविध आय रु. १४ करोड ५८ लाख समेत गरी एक अर्ब ६१ करोड ५८ हजार आय अनुमान गरी बजेट ल्याइएको छ ।
नगरपालिकाले आन्तरिक आय बढाउने लक्ष्यका साथ बजेट ल्याएको हो । उक्त बजेटमा चालुतर्फ ८४ करोड २ लाख र पूँजीगत तर्फ ७६ करोड ६९ लाख३४ हजार बजेट विनियोज गरिएको नगर उपप्रमुख राजु खड्काले बताए ।
नगरपालिकाले आर्थिक विकास तर्फको नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, आत्मनिर्भर बागलुङ, कृषि, पशुपन्छी लगायतका कार्यक्रममा ५ करोड ५१ लाख, पूर्वाधार विकास तर्फ ६२ करोड २ लाख, सामाजिक विकास तर्फ ६१ करोड २४ लाख, सुशासन तर्फ११ करोड ९१ लाख बजेट बिनियोजन गरिएको छ । बालमैत्री कार्यक्रमका लागि १ करोड ९५ लाख, दिवा खाजाका लागि ४५ लाख बजेट बिनियोजन गरिएको छ ।
नगरपालिकाले आत्मनिर्भर बागलुङ, गोरु संरक्षण हनुमान नाँच संरक्षण, कुकुर सेल्टर हाउस, नगकी छोरी कार्यक्रम, बागलुङ बजार शौन्दर्यकरण, नगर अस्पतालको नयाँ भवन सञ्चालन, विदालय नर्स कार्यक्रमलाई थप गर्ने, सबै स्वास्थ्य संस्था बालमैत्री, किशोर किशोरीमैत्री र पोषणमैत्री घोषणा, टाढाका विद्यार्थीलाई आवासको व्यवस्था लगायतका कार्यक्रमका लागि बजेट बिनियोजन गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।
यस्तै रायडाँडा विशेष कार्यक्रम, डोयको डाँडामा ब्लुहिल पूर्वाधार निर्माण,नगरप्रमुखसंग जेठ नागरिक लगायतका नीति तथा कार्यक्रमलाई समेट्नेगरी बजेट ल्याइएको छ । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको कृषि तथा पशुपालनलाई आधुनिकरण गर्ने, बाँझो जग्गामा फलफूल खेति गर्ने, बजार क्षेत्रमा कौशी खेती प्रर्बद्धन गर्ने लगायतका कार्यक्रममा बजेट ल्याएको छ ।