बागलुङ : सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोपमा ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्याधिस रमेशकान्त अधिकारीको इजलासले आरोपी नेपालीलाई थुनामा राख्ने निर्णय गरेको निमित्त श्रेष्तेदार ऋषिराम रिजालले बताए ।
‘सहकारी मार्फत बागलुङका नागरिकको एक अर्ब ३८ करोड ११ लाख ६२ हजार सात सय ५५ रुपैयाँ बिगो भराई पाऊँ भनि सरकारी वकिल कार्यालयबाट आएको मागदाबी आरोपी नेपालीलाई थप अनुसन्धानका लागि थुनामा राख्ने निर्णय माननीय जिल्ला न्यायधिसज्यूबाट भएको छ,’उनले भने,‘नेपालीसंगै पक्राउ परेका ओमबहादुर दर्जीलाई भने एक लाख ५० हजार धरौटीमा छाड्ने निर्णय भएको छ ।’ मंगलबार भएको थुनछेक बहसबाट पुर्पक्षका लागि थुनामा पठाउने निर्णय भएको उनले जानकारी दिए ।
सोमबार नेपालीको बयान लिईएको थियो । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई सहकारी ठगी र संगठित अपराधको आरोप छ । इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन्भने पोखरा सिर्जनाचोकमा समेत इमेज सहकारी खोलिएको छ । सहकारीका संस्थापक अध्यक्ष नेपालीले बचतकर्ताको रकम अपचलन गरी १६ महिनादेख फरार रहेका थिए । २०८० बैशाख ७ गते सहकारीमा तरलता अभाव देखाएर सहकारी बन्द भएपछि जेठ ५ गतेदेखि सम्पर्कबिहीन भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । नेपालीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोपमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालत बागलुङमा १ अर्ब ३७ करोड रुपैयाँ बढि ठगीको आरोपमा मुद्दा दायर गरेको थियो । १२ माघ २०८० मा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीबिरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो ।
इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । यो मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।
उनीहरूलाई जिल्ला अदालत बागलुङको २०८० साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् । इमेज बचत पीडित संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले अदालतको निर्णय सकारात्मक रहेको प्रतिक्रिया दिए । ‘देवकुमार नेपालीलाई थुनामा पठाउनुपथ्र्यो अदालतले ठिक निर्णय गरेको छ,’उनले भने,‘ओमबहादुर दर्जीको विषयमा चाँही बागलुङबाट मुद्दा थिएन । उनी बाहिर बसेर देवकुमारको सहयोगीको काम गरेर बचतकर्ताको रकम फिर्ता गर्ने कार्यमा सहयोग गर्छन् कि भन्ने अपेक्षा गरेका छौं ।’
देवकुमार नेपालीले आफ्नो सारा सम्पत्ती बचतकर्ताको नाममा दिएपछि मात्रै मिलापत्रको प्रक्रिया अगाडि बढ्ने उनको भनाई छ । ‘देवकुमार नेपालीले पटक पटक भन्दै आएको मैले आफ्नो र श्रीमतीको नामको सबै सम्पत्ती बचतकर्ताको नाममा दिन्छु भन्नेछ, अहिले बयानमा पनि त्यही छ,’उनले भने,‘त्यो भनेर मात्रै भएन, चल अचल सबै सम्पत्ती बचतकर्ताको नाममा आएपछि मात्रै मुद्दा मिलापत्रको प्रक्रियामा अगाडि बढ्छ । अहिले मुद्दा फिर्ता हुँदैन । बचतकर्ताको रकम सुनिश्चीत हुने भएपछि मिलापत्र हुने हो ।’
फौजदारी मुद्दा भए पनि जाहेरवालाले चाहेको खण्डमा जुनसुकै बेला मिलापत्र हुनसक्ने अधिवक्ता राम बताउँछन् । ‘यो फौजदारी मुद्दा भए पनि मिलापत्र हुने प्रकृतिको मुद्दा हो, जाहेरवालाले मिल्न चाहेको खण्डमा जुनसुकै समयमा मिलापत्र हुनसक्छ,’शर्माले भने । नेपालीले पोखरामा समेत इमेच बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालनमा ल्याएर ठगी गरेको आरोप छ । सूर्यदर्शन सहकारीमा अध्यक्ष हुन नपाएपछि नेपालीले इमेज सहकारी खोलेको बताईन्छ ।