बागलुङ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउने आफुहरु लागि परेको बताएका छन् । शनिबार बागलुङमा लायन्स क्लब इन्टरनेश्नल ३२५जे को दोस्रो क्याबिनेट बैठक उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालमा केही हुन्न भन्ने भाष्य चिर्न सबै लाग्नुपर्ने बताए । ‘अहिले नेपालमा त केही हुन्न केही गर्न सकिन्न भन्ने भाष्य निर्माण गरिएको छ,’उनले भने,‘यो नै हाम्रो देशको आर्थिक विकासका लागि सबैभन्दा ठूलो दुर्भाग्यको कुरा हो । यसलाई चिर्न हामी सबै लाग्नुपर्छ । उद्योग वाणिज्य महासंघले त्यसका लागि प्रयास अगाडि सारेको छ ।’
स्वदेशमै उद्यमशीलताको विकास गर्न नसके विदेशबाट आउने रेमिट्यान्सले मात्रै सधैं देश धान्न नसकिने उनको भनाई छ । ‘अहिले घर परिवार चलाउनका लागि विदेश नगई हुन्न, यहाँ त केही गर्न सकिन्न भन्ने खालको अवस्था रहेको छ,’अध्यक्ष ढकाल भन्छन्,‘देशमा उद्यमशीलताको विकास नगर्ने हो भने विदेशबाट आएको पैसाले मात्र देशको विकास हुन्न । रेमिट्यान्सले मात्रै सधैं देश चल्दैन । त्यसका लागि स्वदेशमै पुँजीको विकास गर्नुपर्छ र त्यसको परिचालन र विकास गर्नुपर्छ ।’ सकरात्मक भन्दा पनि नकारात्मक र निराशाको कुरा बढि प्रचार भएका कारण पनि समस्या भैरहको उनले बताए ।
‘हामीले सकारात्मक उर्जाको सञ्चार गर्नुपर्ने छ र त्यसैका लागि लागेका छौं,’उनी भन्छन्,‘अहिले यहाँ निरासा र नकरात्मक कुराले प्राथमिकता पाइरहँदा भरोसा जगाउनुपर्ने अवस्था आएको छ ।’ आन्तरिक पुँजीको परिचालन र उपयोगबाट देश विकास हुने उनको दाबी छ । ‘विदेशी लगानी भित्र्याउने कुरा त छँदैछ, त्यससंगै आन्तरिक पुँजीको सही परिचालन र त्यसको उपयोग आवश्यक छ,’ढकालले भने । अध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघ लायन्सको नेटवर्कसंग साझेदारी गरेर निजी क्षेत्रको विकासमा अगाडि बढ्न चाहेको समेत बताए । महासंघले सबै क्षेत्रका व्यवसायीहरुलाई समावेश गरेर कम्पनी निर्माण गरेर लगानीको प्रयास थालेको बताए ।
‘उद्योग वाणिज्य महासंघ मार्फत हामीले सबै क्षेत्रका उद्योगी व्यवसायीहरुलाई छलफलका लागि बोलायौं,’उनी भन्छन्,‘नेपालमै सम्भावना छ भन्ने कुरालाई उजागर गर्नका लागि हामीले १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड निर्माण गरेर लगानीको काम गर्ने चरणमा अगाडी बढेका छौं ।’ उक्त कम्पनीले विशेषरी उर्जा, पर्यटन, कृषि, आईटी र पूर्वाधारको क्षेत्रमा पनि लगानी गर्ने बताए । ‘हामीले निर्माण गरेको पव्लिक कम्पनीले सम्भावनाको क्षेत्र पहिचान गरेर लगानी गछौं, यसमा देशका सबै जिल्लाबाट उद्यमी व्यवसायीले लगानी गर्नसक्ने गरी काम गर्दैछौं । त्यसैले पनि यहाँ मैले तपाईहरुको बीचमा यो कुरा भन्न चाहेको हुँ,’उनले भने ।
उद्योग वाणिज्य महासंघमा देशभर ६ हजार भन्दा बढि सदस्य रहेको र सबै सदस्यहरुलाई सरकात्मक उर्जा दिनका लागि आफुहरु हरदम सक्रिय भएको उनले बताए । ‘अहिले हामीले सकारात्मक सन्देश प्रवाह गर्नका लागि कोसिस गरिरहेका छौं, त्यसमा यहाँहरुको पनि साथ जरुरी छ । हामी सबै मिलेर अगाडि बढ्यौं भने यो सम्भव छ,’ढकालले भने । उनले लायन्स क्लबले सामाजिक सेवाको क्षेत्रमा गरेको कामको प्रशंसा समेत गरे ।