पर्यटन

गाजा दहमा धार्मिक महायज्ञ सुरु 

गाजा दहमा धार्मिक महायज्ञ सुरु 

  • मंसिर ९, २०८१ आइतवार
  • १०:०८:०९ बजे
  • 2.2K
    SHARES
  • गाजा दहमा धार्मिक महायज्ञ सुरु 

    बागलुङ : गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले धार्मिक  मार्फत आर्थिक विकास गर्न सकिने बताएका छन् । बागलुङको जैमिनी नगरपालिका–३ दमेक स्थित गाजाको दहको गाजा दह सिद्ध बराह परिसरमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको शनिबार उद्घाटन गर्दै धार्मिक पर्यटनको माध्यमबाट देशको समृद्धि गर्न सकिने बताए । ‘हामी दुई ठूला जनसंख्या भएको देशहरुका बीचमा छौं,’उनले भने,‘दक्षिणमा ठूलो हिन्दु बाहुल्य भएको देश छ, उत्तरमा बौद्ध धर्मसंग जोडिएको ठूलो जनसंख्या भएको देश छ । 

    त्यहाँका नागरिकलाई नेपालमा धार्मिक पर्यटकको रुपमा भित्र्याउनका लागि राज्यको तर्फबाट केही सकारात्मक कदमहरु चाल्नुपर्नेछ ।’ यहाँ आउने पर्यटकहरुलाई खोजे अनुसारको भौतिक पूर्वाधार तथा अन्य विकास गर्न नसकिएको उनले बताए । ‘हामीले पर्यटकका लागि चाहिने सबै संरचना तयार गर्न सकेका छैनौं,’उनी भन्छन्,‘अहिले प्रदेशको बजेट कृषिपछि पर्यटनमै सबैभन्दा धेरै छ । हामीले आगमी वर्ष पर्यटन क्षेत्रको विकासका लागि अझ बढि खर्च गर्छौं ।’ मन्त्री गुरुङले नेपालको धार्मिक, सांस्कृति, जातिय र भौगोलिक विविधतालाई उत्पादनसंग जोड्ने माध्यम पर्यटन नै भएको उल्लेख गरे ।

     ‘हाम्रा विविधताहरुलाई हामीले आर्थिक उपार्जनसंग जोड्न सक्नुपर्छ,’उनी भन्छन्,‘त्यो भनेको पर्यटन नै हो । पर्यटक आउनका लागि नयाँ ठाउँ मात्र होईन फरक संस्कृति, फरक भेषभुषा र रहन सहन पनि हो ।’ पदयात्रा र पर्वतारोहणबाट सुरु भएको नेपालको पर्यटन व्यवसायले क्षेत्र विस्तार गर्दै गएको उनको भनाई छ । ‘नेपालको विविधता र विश्वका लागि अध्ययनको केन्द्र पनि बनेको छ,’उनी भन्छन्,‘त्यसले गर्दा पनि विश्वभरबाट यहाँ घुम्न आउनेहरुको संख्या बढ्दो छ । त्यसलाई हामीले उद्यममा रुपान्तरण र गरी आर्थिक उपार्जनको माध्यम बनाउनुपर्छ ।’ 

    उनले गाजा दहको पर्यटकीय गुरुयोजना बनेपछि गण्डकी प्रदेश सरकारले लगानी गर्ने बताए । ‘नेपालको सय पर्यटकीय गन्तव्यमा पनि परेको ठाउँ यो रहेछ,’उनले भने,‘यसको विस्तृत गुरुयोजना निर्माण गर्नुहोस् यसमा गण्डकी प्रदेश सरकारले अवश्य लगानी गर्छ । यहाँको पालिकासंग सहकार्य गरेर र प्रदेश सरकारले आफ्नो मात्रै पनि लगानी गर्ने वाताबरण बन्छ ।’ उनले महायज्ञका लागि मात्रै प्रदेश सरकारबाट केही आर्थिक सहयोग गर्ने घोषणा पनि गरे । 

    कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, गलकोट नगर प्रमुख भरत शर्मा गैरे, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख होमनाथ शर्मा सापकोटा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलक, प्रमुख बाचतक शिवदत्त रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । जैमिनी नगरपालिका—३ का वडाध्यक्ष कृष्णबहादुर भजुेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत जैमिनी नगर उपप्रमुख हरिहर शर्मा र सञ्चालन कृष्ण सापकोटाले गरेका थिए । 
    सिद्ध बराह मन्दिरको पुननिर्माण गरी गुरुयोजना बनाएर धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने, गाजाको दहको संरक्षण गर्दै ताल परिषरमा सिद्ध बराह भगवानको पूर्णकदको मूर्ति निर्माण गर्ने लगाएतका उद्देश्यले ज्ञान महायज्ञ गर्न लागिएको वडा अध्यक्ष कृष्ण भुजेलले बताए । महायज्ञमा हरेक बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म पाठपरायण, २ बजेदेखि ५ बजेसम्म कथा प्रवचनका साथमा हरिनाम संकिर्तन, झाँकी, आरती र प्रसाद बितरण गरिने उनले बताए । 

    ज्ञान महायज्ञको प्रमुख वाचकमा भागवत प्रखर युवा पण्डित आचार्य शिवदक्त रेग्मी र बिशिष्ट वाचकको रुपमा युवा डाक्टर धु्रव सापकोटा रहने रहेका छन् ।  महायज्ञमा पाँच सय भन्दा माथि सहयोग गर्ने सहयोगदाता अर्थात दानविरलाई रकम अनुसारको सम्मानपत्र प्रदान गरिने प्रत्येक दिन बाजागाजा सहित सम्मान गरिने कार्यक्रम समेत रहेको छ । महायज्ञ मंसिर १४ गतेसम्म चल्नेछ । यो महायज्ञ अहिलेसम्मकै उच्च स्थानमा सुरु भएको जैमिनी नगर उपप्रमुख हरिहर शर्माले बताए । 

     

     

  • सम्बन्धित विषय:

  • # गाजा दह
  • # धार्मिक महायज्ञ

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार