कर्मशील युवाकाे कर्म

बागलुङकाे बिहुँका सुरेशकाे पशुपालन कर्म : दुध बेचेर कमाउँछन् वार्षिक २० लाख

बागलुङकाे बिहुँका सुरेशकाे पशुपालन कर्म : दुध बेचेर कमाउँछन् वार्षिक २० लाख

  • मंसिर २१, २०८१ शुक्रवार
  • ०८:२६:३६ बजे
  • 1.8K
    SHARES
  • बागलुङकाे बिहुँका सुरेशकाे पशुपालन कर्म : दुध बेचेर कमाउँछन् वार्षिक २० लाख

    ढोरपाटन (बागलुङ) : बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुगे । रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लण्डन पुग्नुभएका कँडेल पाँच वर्षपछि स्वदेश फर्किए । विदेशको दुःख देखेपछि स्वदेश फर्किनुभएका उनले काठमाडौँमा पाँच वर्ष होटल व्यवसाय गरे। होटल व्यवसाय राम्रो भए पनि उनलाई गाउँघरको यादले सताइ रह्यो ।

    आधा दशक होटल व्यवसाय गरेका सुरेश अन्तत विसं २०७७ मा गाउँ फर्किए । उनी गाउँ फर्कने समयमा देशभर कोरोना सङ्क्रमणको फैलिँदो थियो । कोरोना सङ्क्रमणका कारण गाउँमा पनि अन्य काम गर्ने वातावरण थिएन । कँडेलका घरमा बाबाआमाले पहिलेदेखि नै सामान्य रुपमा दूध बिक्री गर्दै आएका थिए। गाउँपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई भैँसी अनुदान दियो ।

    अनुदानमा पाएको भैँसीले सुरेशलाई दूध उत्पादनमा लाग्ने हौसला दियो । उनले थप दुई वटा भैँसी लिएर व्यावसायिक रुपमै दूध उत्पादन गर्ने निधो गरे । अहिले उनी जिल्लामै दुग्ध उत्पादन गर्ने अब्बल किसानका रुपमा परिचित छन् । सुरेशको भैँसीपालन व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रो हुँदै गएको छ ।

    अहिले उनलाई लन्डनमा नमिलेको खुसी भैँसी पालेर मिलेको छ । उनले भैँसी पाल्न थालेपछि वरपरका अन्य किसानले पनि व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छन् । कँडेललाई अहिले घरपरिवारको पनि दरिदो साथ छ । चार वर्ष अगाडि फार्म दर्ता गर्नुभएका कँडेलले वार्षिक १५ हजार लिटर दूध बिक्री गर्दै आउनु भएको छ । रु दुई लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म रु २५ लाख बढी लगानी उहाँले गरिसक्नुभएको छ ।

    उहाँको फार्ममा हाल सात उन्नत जातका भैँसी छन् । बागलुङ बजार नजिक रहेको हुँदा दूध खपत राम्रो छ । कँडेलले वार्षिक रु २० लाखको दूध बिक्री गर्दै आएका छन् । विदेशमा दुःख गर्नुभन्दा परिवारसँगै घरगोठ र बारीमा काम गरे पनि राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

    लन्डन पुगेका बेला स्पेन, पोर्चुगल, फ्रान्ससमेत घुमेको अनुभव सुनाउँदै त्यो ठाउँमा बस्न मन नलागेपछि स्वदेश फर्किएको कँडेलले बताए । विदेशको ठूलो सपना देखे पनि त्यहाँको जति दुःख आफ्नै खेतबारीमा गरे मनलाई सन्तुष्टि मिल्ने र आम्दानी पनि गर्न सकिने उनको भनाइ छ ।

    “विदेशमा गएपछि सजिलै कमाइ हुन्छ भन्ने सोचेको थिएँ, त्यहाँ गएपछि दुःख त्यहाँको कामलाई हेरेर म आफ्नै ठाउँमा फर्किन्छु भनेर फर्किएँ, केही वर्ष होटल व्यवसाय गरे, त्यहाँ राम्रै भएको थियो, मलाई सहर बजारभन्दा गाउँनै ठिक लाग्यो र यहाँ आएँ”, कँडेलले भने, “अहिले मलाई गाउँ फर्किएकोमा कुनै पश्चाताप छैन, मैले जे गरे ठिक गरेँ जस्तो लाग्छ, मैले दुई वटा भैँसीबाट परीक्षणका लागि दूध उत्पादनमा लागेको थिएँ, अहिले मलाई लन्डनभन्दा भैँसीगोठमा सन्तुष्टि मिलेको छ ।”

    कँडेलले गाउँमा सहर बजारभन्दा केही दुःख भए पनि सम्भावना धेरै रहेको बताए । पछिल्लो समय धेरै युवाको रोजाइ विदेश रहेको सुनाउँदै त्यहाँ (विदेश) गर्ने दुःख आफ्नै पाखा पखेरामा गरे राम्रो आम्दानी गर्न सकिने र आनन्दको जीवनयापन हुने उनको भनाइ छ । भैँसी पालेर दूध बिक्रीबाट आफ्नो परिवार राम्रोसँग चलेको कँडेल बताउँछन् ।रासस

  • सम्बन्धित विषय:

  • # पशुपालन कर्म

  • राष्ट्रिय समाचार समिति (रासस)

    राष्ट्रिय समाचार समिति (रासस) नेपालको सरकारी समाचार संस्था हो ।

    सम्बन्धित समाचार