बागलुङ : पर्वतको जलजला गाउँपालिका—१ बाँसखर्क सुन्तला उत्पादनका लागि प्रख्यात छ । विक्रम संवत १९९७—९८ सालतिर फाट्टफुट्ट सुरु भएको सुन्तला खेती अहिले यहाँको एक हजार पाँच सय हेक्टर भन्दा बढि क्षेत्रफलमा फैलिएको छ । यहाँबाट वर्षेनी १८ करोड ४४ लाख भन्दा बढिको सुन्तला बाहिरी जिल्लामा निर्यात हुन्छ । यति हुँदा हुँदै पनि यहाँका सुन्तला उत्पादक किसानहरुको अनगिन्ती समस्या छन् । लाख देखि लाखौंको सुन्तला बेच्ने किसानलाई सडकले ठूलो समस्या पारेको स्थानीय किसान चन्द्रबहादुर गर्बुजाको भनाई छ ।
‘यहाँबाट सामान्य सुन्तला बेच्नेहरुले पनि ६÷७ लाख रुपैयाँको सुन्तला बेच्नछन्, धेरै बेच्नेहरुले ४० देखि ५० लाख रुपैयाँको सुन्तला एउटै किसानले विक्री गर्छन,’उनले भने,‘हामीलाई यहाँको सबैभन्दा ठूलो समस्या बाटोको छ । सुन्तला टिपेर बेनी पु¥याउँदा सुन्तला फुटेर विक्री नहुने अवस्थामा पुग्छ ।’ सडक सञ्जाल र सिंचाईको समस्याले किसानले चाहे जति सुन्तला उत्पादन गर्न नसकिरहेको उनको भनाई छ । यही किसानको समस्या प्रदेश सरकारलाई सुनाउन जलजला गाउँपालिका र वडा नम्बर १ बासखर्क वडा कार्यालयले एक दिने सुन्तला महोत्सव गरेको छ ।
सिंगो प्रदेश सरकारलाई बासखर्कमा ल्याएर यहाँको समस्या अवगत गराउन सुन्तला महोत्सव गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । ‘हामीले यहाँको नागरिकको समस्या संघ सरकार प्रदेश सरकारलाई पटक पटक सुनाएका छौं,’उनी भन्छन्,‘सरकारलाई प्रत्यक्ष देखाएर समस्या अवगत गराउँदा समस्याको छिटो सम्बोधन होला भनेर यहाँ सुन्तला महोत्सवको आयोजना गरेका हौं । यहाँको सडक, खानेपानी, सिंचाई तथा पहिरो नियन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रीज्यूहरुलाई भनेका छौं । कोल्डस्टोर बनेर सञ्चालनमा आउन सकेको छैन । त्यसको सञ्चालनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौं ।’
गाउँमा किसानलाई अझै पनि हेयको दृष्टिले हेर्ने गरिएका कारण महोत्सवमा सुन्तला उत्पादक किसानलाई सम्मान समेत गरिएको उनले बताए । ‘हामील गाउँपालिकाको तर्फबाट सक्दो काम गरेका छौं, तर हाम्रो प्रयासले मात्रै यहाँको समस्या सम्भव हुने देखिएन, कृषिसंग जोडिएका पूर्वाधार निर्माणको पहलसंगै किसानलाई हेर्ने दृष्टिकोण बदल्नका लागि महोत्सवमा सम्मान गरेका छौं,’उनले भने । बाँसखर्कका दुई सय ३९ किसानले ५१ हजार एक सय ५१ विरुवा सुन्तला लगाएका छन् । तीमध्ये अहिले २४ हजार ४ सय ४५ बोटबाट मात्रै किसानले उत्पादन लिने गरेका छन् । बाँकी बोटबाट पनि सुन्तला उत्पादन हुने अवस्थामा आम्दानी दोब्बर हुनेछ ।
बाँसर्कमा उत्पादित सुन्तला काठमाडौं विरगञ्ज लगायत देशका विभिन्न ठाउँमा पुग्ने गरेको छ । अहिले बाँसखर्कको सुन्तालको मूल्इ बोटबाटै एक सय २०÷३० रुपैयाँसम्म पुगेको सुन्तला व्यापारी सोनु गुप्ताको भनाई छ । ‘हामी काठमाडौंदेखि आएको हो, अहिले बोटबाटै ६० रुपैयाँदेखि एक सय २० देखि एक सय ३० रुपैयाँ प्रतिकिलो यहाँको सुन्तला बोटबाटै खरिद गर्ने गरेका छौं,’उनले भने,‘सुन्तलाको गुणस्तर हेरेर देशको विभिन्न भागमा पठाउँछौं ।’ सुन्तला महोत्सवबाट यहाँको किसानको समस्याको ध्यानाकर्षणसंगै सुन्तलाको प्रवद्र्धन गरेको जलजला—१ बाँसखर्कका वडाध्यक्ष जकबहादुर रोकाले बताए ।
महोत्सवको अवसरमा अगुवा कृषक जगतबहादुर खत्री, शान्तबहादुर छिन्तेल र हेमकुमार अर्मजा, तेजबहादुर खत्री र नरबहादुर पाइजालाई नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । सुन्तला महोत्सवमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, राष्ट्रियसभा सदस्य मनरुपा शर्मा, प्रदेश सांसद भक्त कुँवर, रेखा गुरुङ, गण्डकी प्रदेशका प्रमुख सचिव राघुराम बिष्ट र कृषि सचिव बासुदेव रेग्मीसँग सडक, सिचाई, खानेपानी र पहिरोको विषयमा कृषक तथा जनप्रतिनिधीहरुले ध्यानाकर्षण गराएका थिए ।
बेनी देखि बाँसखर्क जोड्ने छोटो दुरिको बगरफाँट–बाँसखर्क सडक योजनाको ठेक्का लागेपनि आठ वर्षसम्म काम नभएको र योजनानै हराएको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण स्थानीयले गराएका थिए । मल्लाज सिचाई आयोजनामा नियमित पानी चलाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग समन्वय गर्नुपर्ने र बाँसखर्कको सुन्तला बगैचामा सिचाई गर्न पाइपलाईनको ब्यवस्था मिलाउन आग्रह गरे । जलजलाका पुर्व अध्यक्ष यामबहादुर मल्लले बाँसखर्कमा सहज सडक यातायातको ब्यवस्था मिलाउन सकेमा सुन्तला खेतीबाट रोजगारी सिर्जना र बसाईसराई नयुनीकरण गर्न सकिने बताए ।
मुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदहरुले बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाई सुविधा, सुन्तला खेती विस्तार र बजारीकरणमा सघाउने प्रतिवद्धता जनाए । कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताउदै मुख्यमन्त्री पाण्डेले बसाईसराई रोकिने, कृषि उपज उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरि सडक, सिचाई र खानेपानीका पूर्वाधारका योजना सञ्चालन गरेको उल्लेख गरे । कृषिमन्त्री श्रेष्ठले सुन्तला खेती विस्तार र बजार प्रर्वद्धनका लागि बाँसखर्क लगायत जलजला गाउँपालिकामा पहाडी काष्ठफल विकास परियोजना (नाफा) लागू भएको र सो मार्फत कृषकहरुलाई विभिन्न शिर्षकमा अनुदान दिइने बताईन् ।